गेष्टहाउसमा मदिरा पिलाएर शर्माले किन गरे महिलाको हत्या ?

गेष्टहाउसमा मदिरा पिलाएर शर्माले किन गरे महिलाको हत्या ?


टोखा (काठमाडौं)को एक गेष्टहाउसमा महिलाको हत्या गरेको अभियोग लागेका गोपाल शर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंले कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । अदालतबाट सात दिन म्याद थप गरेर निजमाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टोखा नगरपालिका–९ मिलनटोलको न्यू भूमेश्वरी एण्ड अर्जुन पाहुना घरको पहिलो तलामा शर्माले ती महिलाको हत्या गरेको अभियोग छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले सो अभियोग लागेका शर्माले घाँटी थिची हत्या गरेर घाँटीमा खैरो रङको ट्राउजरले बेरी घुँडाभन्दा तल खैरो रङको रुमालले दुवै खुट्टा बाँधेको अनुसन्धानमा खुल्न आएको दाबी गरेको छ ।

अनुसन्धानका क्रममा अभियुक्त शर्माले उक्त होटलमा बसेर महिलाले रक्सी मगाएको र रक्सी खाएपछि विभिन्न किसिमको गालीगलोज र ज्यान मार्ने धम्की दिएपछि आफूले घाँटी थिचेर हत्या गरेको शर्माले प्रहरीसमक्ष बयान दिएका छन् । मृतकका बारेमा हालसम्म केही नखुलेको र अनुसन्धान जारी रहेको परिसरले जनाएको छ । महिलाको परिचय नखुल्नु या शर्माबाट पनि नखुलाईनु रहश्यपूर्ण छ ।

सांकेतिक तस्बिर गुगल