यसरी संकटमा पर्दैछ विश्वकै गहिरो गल्छी

यसरी संकटमा पर्दैछ विश्वकै गहिरो गल्छी


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ । लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ ।

संसारकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा भाग पुरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा प्रदेश नं ४कै मुख्य मार्ग मानिएको सडकखण्डमा काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदूरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छीको अस्तित्व संकटमा परेको हो ।

‘गल्छी हेर्न गएका पर्यटक निराश भएर फर्कछन् । सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन’, अन्नपूर्ण–३ का वडासदस्य हस्तबहादुर पुन बताउँछन् ।

साँघुरो गल्छी भएकाले खसालिएका ठूला ढुंगा बर्खाको समयमा समेत बगाउन मुस्किल हुने भएकाले समयमै संरक्षणका लागि पहल आवश्यक रहेको उनको तर्क छ । स्थानीयवासीले सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतीक्षालय, पदमार्ग बनाइए पनि बजेट अभावमा यसको मर्मत हुन सकेको छैन ।

विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । छिमेकी देश चीनको तिब्बतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालीगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ ।

– ध्रुवसागर शर्मा