सहकारीलाई उत्पादनसँग जोड्न नेपालको आग्रह

सहकारीलाई उत्पादनसँग जोड्न नेपालको आग्रह


पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौं स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता कृष्णमान गुरुङलाई ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान–२०७५’ बाट सम्मानित गरेको छ । बखान सहकारी संस्थाका संस्थापक सञ्चालक गुरुङलाई मुलुककै पहिलो सहकारी संस्थामा सञ्चालक रहेर हालसम्म अभियानमा क्रियाशील रहेको भन्दै सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा सांसद माधवकुमार नेपालले नगद १० हजार एकसय एकाउन्न र ताम्रपत्रले गुरुङलाई सम्मानित गरेका थिए । प्रमुख अतिथि नेपालले मुलुकको समृद्धिका लागि सहकारी अपरिहार्य भएको र सहकारीलाई उत्पादनसँग जोड्न सके मुलुकले छिट्टै आर्थिक फड्को मार्नसक्ने बताए ।

सहकारी विभागका पूर्वरजिष्ट्रार सुदर्शनप्रसाद ढकाल, नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेत, सहकारी विकास बोर्डका पूर्वसह–अध्यक्ष सरोजकुमार शर्मा, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, बचत संघ काठमाडौंका अध्यक्ष केशव दंगाल, बिन्धवासिनी साकोसका पूर्वअध्यक्ष भरत शर्मा, नेफ्स्कुनकी महासचिव पम्फा राई र पूर्वराज्यमन्त्री सूर्यमान दोङ लगायतले कार्यक्रमबीच शुभकामना मन्तव्य राखेका थिए भने संस्थाले सोही अवसरमा ज्येष्ठनागरिकलाई सम्मान समेत गरेको थियो ।

संस्थाका प्रथम उपाध्यक्ष किरण श्रेष्ठले स्वागत मन्तव्य दिएको उक्त अवसरमा संस्थाका अध्यक्ष भोलानाथ पाठकले सहकारी अभियानमा नयाँ आयाम थप्दै समुदाय र सदस्यलाई केन्द्रविन्दुमा राखेर संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका थिए ।