उपाधिका लागि एपिएफ र पाँचपोखरी थाङपाल भिड्ने

उपाधिका लागि एपिएफ र पाँचपोखरी थाङपाल भिड्ने


सिन्धुपाल्चोकको चौतारास्थित टुँडिखेलमा जारी प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोेगिताको उपाधिका लागि एपिएफ र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ । एपिएफले जिल्ला फुटवल संघ काभ्रे र पाँचपोखरी थाङपालले चौतारा स्पोर्टिङ क्लबलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाँचपोखरी थाङपालले चौतारा स्पोर्टिङ क्लबलाई १–० ले पराजित ग¥यो । निर्धारित समय सकिनु ५ मिनेटअघि डिबक्सभित्र चौताराका खेलाडीको ‘ह्याण्ड’ भएपछि पाएको पेनाल्टीलाई पाँचपोखरीका खेलाडीले गोलमा परिणत गरेका थिए ।

दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयमा काभ्रे र एपिएफको बराबरी गोल भएपछि नतिजाका लागि ट्राइबेकरसम्म पुग्नुपर्यो निर्धारित समयमा २–२ गोलको बराबरीपछि थपिएको समयमा कुनै पनि गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा एपिएफ विजयी बन्यो ।

२० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । यो प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशी छ । प्रतियोगिताको विजेतालाई रु दुई लाख र उपविजेता टिमलाई रु एक लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ४२ इन्च एलइडी टेलिभिजन प्रदान गरिने आयोजक तोप एक्काइसका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।