यसरी सिर्जना गरौँ स्वदेशमै रोजगारी

यसरी सिर्जना गरौँ स्वदेशमै रोजगारी


१) सबै सेना–प्रहरीलाई नेपालमै उत्पादन गरिएको कपडाको बर्दी प्रयोग गर्न दिऊँ ।

२) बाँसबारी छाला उद्योगलाई थप व्यवस्थित र शाखा विस्तार गर्दै सम्पूर्ण सेना, प्रहरी राजनीतिज्ञ, निजामती कर्मचारीलगायत विद्यार्थीलाई अनिवार्य तवरले उक्त उत्पादनको जुत्ता लगाउनैपर्ने बाध्यकारी नियम बनाऔँ । तब लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ ।

३) विदेशी ब्रान्डका स्पोर्टस् जुत्ताहरूको साटो केही परिमार्जन गर्दै बालाजुबाट उत्पादित ‘गोल्डस्टार’ जुत्तालाई अनिवार्य विद्यालय, सेना प्रहरी, निजामती कर्मचारीलगायत आमजनसमुदायमा सर्वसुलभ रूपमा प्रयोग गर्न लगाऊँ ।

४) जापानिज, जर्मनी, कोरियन र भारतीय गाडी आयातमा रोक लगाऊँ, स्वदेशी उत्पादनको मुस्ताङ गाडीका विभिन्न मोडलको उत्पादनलाई प्रोत्साहित गरौँ । मुस्ताङ गाडीको सम्पूर्ण पार्टपुर्जाहरू सर्वसुलभ ढङ्गमा प्रत्येक प्रदेशको स्थानीय तहहरूमा सजिलैसँग पाइने व्यवस्था गराऊँ । यी उत्पादनलाई सबै मन्त्रालय, सेना, प्रहरीलगायत समस्त सरकारी निकायमा बिस्तारै तर अनिवार्य रूपमा लागू गरौँ । लाखौँ सङ्ख्यामा रोजगारी सिर्जना हुनेछ ।

५) भारतबाट केही सिकौँ । जस्तै, भारतको सम्पूर्ण ट्याक्सी, मन्त्रीहरूले चढ्ने गाडी स्वदेशमै उत्पादित होऊन् । सम्पूर्ण कपडाहरू त्यहीँ उत्पादित हुने परिवेश निर्माण गरियोस् ।

६) सिमेन्ट, फलाम, खाद्यलगायत स्वदेशमै उत्पादन भएकोलाई बढीभन्दा बढी प्राथमिकता दिऊँ ।

७) प्रत्येक प्रदेश र स्थानीय तहहरूमा अनिवार्य गार्मेन्ट उद्योग स्थापना गराऊँ ।

८) श्रमको कदर गराऊँ । श्रामिकहरूलाई भेदभाव नगरी बिमालगायत सञ्चयकोषको व्यवस्था गर्दै नेपाली युवालाई विदेश पलायन हुनबाट रोकौँ ।

९) हिमाली क्षेत्रमा पाइने हजारौँ प्रकारका महत्वपूर्ण जडीबुटीलाई व्यवस्थित गर्दै बृहत् उत्पादन र प्रशोधनको व्यवस्था गरौँ, जहाँ लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ ।

१०) जलविद्युत्लाई प्रचुर मात्रामा विकास गरी यातायात ऊर्जा, किचनको ऊर्जालगायत अन्य दैनिक र व्यावहारिक ऊर्जाहरूमा प्रचुर मात्रामा प्रयोग गरौँ, जसले गर्दा विदेशबाट आयातीत इन्धनलाई न्यूनीकरण गर्न सकियोस् ।

११) प्रत्येक गाउँ–टोलहरूमा सार्वजनिक स्नानको व्यवस्था गराऊँ । हिउँद वा अन्य समयमा समेत युरोपबाट शुरु भएको ‘साउना बाथ’ सिस्टमको व्यवस्था गराऊँ बिजुलीको प्रयोग गर्दै । यसको प्रयोगले दिनभर कामले थकित भएकाहरूको थकान मेटिनेछ भने जनता तन्दुरुस्त र फुर्तिलो हुन पुग्नेछन् ।

१२) प्रत्येक गाउँ तथा टोल–टोलमा बालउद्यान पार्क र सार्वजनिक शौचालयको व्यवस्था गरी सरसफाइ र रेखदेखका लागि पनि गाह्रो काम गर्न नसक्ने व्यक्तिहरूलाई सेवा–सुविधा दिएर रोजगारी दिन सकिन्छ ।

१३) सरकारी र निजी भवन अनि फर्निचरहरूको एक निश्चित नाप–नक्सामा एकरूपता ल्याउन एक निश्चित मापदण्ड र अवधारणा तय गराऊँ, जसले गर्दा नेपालको जहाँ उत्पादन भएको होस् वा जहाँको लागि आवश्यक परे पनि सुलभ रूपमा प्रयोग होस् वा एकरूपता देखियोस् । जापानमा यो नियम १८० वर्ष अघिदेखि नै रहेको बुझिएको छ ।

१४) तरकारी, दूध, फलफूलमा आत्मनिर्भर बनाऊँ । ‘एक घर एक ग्रिन हाउस’को व्यवस्था गरिनुपर्छ । प्रत्येक वडामा तरकारीका बिउ–विजनहरू मौसमअनुसार सुलभ रूपमा पाइयोस् ।

१५) सामुदायिक वनबाट उत्पादन हुने हाँगा, डाला, पातपतिङ्गरलाई उचित व्यवस्थापन गर्दै कागज र कार्टुन उत्पादन गर्ने कार्यलाई प्रोत्साहन दिऊँ ।

१६) एक वडा एक विभिन्न जातको बोटबिरुवाको नर्सरी अनिवार्य रूपमा व्यवस्था गराऊँ ।

१७) विद्यालयमा कार्यरत वृद्ध शिक्षकलाई तत्काल सुविधा दिएर अवकाश दिई प्राविधिक ज्ञान भएको अङ्ग्रेजी माध्यमबाट पढाउन सक्ने बोर्डिङ पढेका युवा शिक्षकलाई तत्काल नियुक्ति गरेमा लाखौँ पढेलेखेका युवालाई रोजगारीको अवसर प्रदान गर्न सकिन्छ ।

१८)
पर्वतारोहणको क्रममा आवश्यक पर्ने सामग्री स्वदेशमै उत्पादन गरौँ ।

१९) विदेशी लगानीलाई बढीभन्दा बढी भित्र्याऔँ ।

२०) नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै चाहिने आवश्यक पूर्वाधार र सुविधाहरूलाई व्यवस्थित गरी रोजगारी सिर्जना गरौँ ।

२१) स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै होमस्टे सञ्चालनको अवधारणालाई व्यवस्थित र अनिवार्र्य लागू गरौँ जसले हजारौँ रोजगारी सिर्जना गर्न सकिन्छ ।

२२) हालैको राज्यव्यवस्थाअनुुसारका प्रत्येक केन्द्रहरूमा सबै वडावासी, गाउँवासीलगायत जिल्लावासीहरूले समेत समानुपातिक रूपमा केन्द्रहरूमा व्यापार–व्यवसाय गर्ने व्यवस्था मिलाऊँ । एक केन्द्रजस्तै बसस्टप जिरो पोइन्ट र अन्य व्यापारिक केन्द्रहरूमा एकजना व्यक्तिले गर्ने व्यवसाय अर्को व्यक्तिले नगरोस् । जस्तै चिया–कफी बेच्नेले फलफूल बेच्न नपाओस् । खाद्यान्न व्यापारीले लिक्योर बेच्न नपाओस्, जसले गर्दा सबैलाई समान रूपमा व्यापार गर्ने मौका होस् । जो हाल भारतको विभिन्न राज्यमा विद्यमान छ ।

२३) चिया–कफीलाई आत्मनिर्भर बनाऊँ । मादक पदार्थ उत्पादनलाई कडाइका साथ प्रतिबन्ध गराऊँ ।

अन्तमा, यस्ता अन्य धेरै सुझाव हुन सक्छन्, एक–अर्कामा आदान–प्रदान गरी देशलाई सबै मिलेर माथि उठाऊँ । समृद्ध, आत्मनिर्भर र स्वावलम्बी देश नेपाल हेर्ने नै हो भने यसमा नचुकौँ ।

– शेर्पाजी, काठमाडौं