सिड्नी पुगेका कांग्रेस नेता प्रदीपपले भने- ‘प्रवासमा पनि फुट्ने ? जुट्नु पऱ्यो !’

सिड्नी पुगेका कांग्रेस नेता प्रदीपपले भने- ‘प्रवासमा पनि फुट्ने ? जुट्नु पऱ्यो !’


-राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वसभापति प्रदीप पौडेलले विदेशमा सिकेको सिप र ज्ञानलाई आफ्नो देशमा लगेर कार्यान्वयन गर्न प्रवासी नेपालीसमक्ष आग्रह गरेका छन् । नेपाली यूुवाहरूको बल र बुद्धि सबै प्रवासिन थालेकोमा चिन्ता प्रकट गर्दै उनले आफ्नो देशमा केही भएन भन्दै अन्धाधुन्ध विदेश पलायन हुनु उचित नभएको जिकीर गरे । सबैले यस्तै भन्दै जाने हो भने देशमा कसले काम गर्ने भन्ने प्रश्न उठाउँदै उनले जो जहाँ भएपनि सकारात्मक सोचले अगाडि बढ्न आग्रह गरे ।

एसियन प्यासिफिक क्याम्पेन फोरम अष्ट्रेलियन लेबर इन्टरनेशनलले सिड्नीमा आयोजना गरेको दुईदिने कार्यक्रममा सहभागी हुन सिड्नी आइपुगेका पौडेलले जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्तव्य दिँदै भने- ‘प्रबासमा रहनुभएका तपाईंहरू फुट्ने होइन जुट्नुपर्छ । हामी संगठन बलियो बनाउनतिर लागौँ गुट बनाउनतिर होइन ।’

अष्ट्रेलियामा जनसम्पर्क समिति विवादमा रहेको कुरातर्फ इंगित गर्दै उनले अगाडि भने- ‘हामी किन विवादित भैरहेका छौँ । जो सक्रिय छ त्यो नै अगाडि बढ्छ । म विश्वास दिलाउँछु कि यो समस्या चाँडै अन्त्य गर्नेछु ।’

कार्यक्रममा जनसम्पर्क समितीसँग आवद्ध पदाधिकारीहरूको प्रश्नको जवाफ दिँदै नेता पौडेलले नेपाली कांग्रेस सधै आफ्नो सिद्धान्त र विवेकलाई बोकेर मूलुकको लागि हिंड्ने पार्टी भएको दाबी गरे र यसपटकको चुनावमा पछाडि परेको होइन देशले जितेको तर्क गरे ।

‘पार्टी हाऱ्यो । देश भन्दा पार्टी ठूलो होइन । हाम्रो पार्टी हार्छ भन्ने थाहा हुँदाहुँदै पनि हामीले चुनाव गरेर मूलुकलाई निकास दियौँ यो नै हाम्रो सफलता हो,’ उनले भने ।

जनसम्पर्क समितीका कोषाध्यक्ष रामजी बस्नेतको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले आफूहरूले नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई प्रबासी नेपालीहरू माझ पुऱ्याइरहेको जानकारी दिएका थिए ।

उनले पद ठूलो कुरा होइन, आस्था र पार्टीप्रति बफादार र इमान्दारीता हुनु पऱ्यो, प्रबासमा रहनुभएका प्रजातन्त्रवादीहरूलाई एक बनाउने कि कोठामा बसेर गुट बनाउने ? उनको प्रश्न थियो । ‘आउनुस सबै मिलेर खुला बहस गरौ र एक ढीक्का भएर अगाडि बढौँ,’ गिरीले आह्वान गरे ।’