यिनलाई जथाभावी गर्न कसले दियो छुट ?

यिनलाई जथाभावी गर्न कसले दियो छुट ?


राजनीति बिग्रिएपछि अन्य क्षेत्रको थितिबिति पनि बिग्रँदो रहेछ भन्ने उदाहरण हाम्रो नेपालमा यतिबेला यत्रतत्र भेटिन्छन् । अपराध, अपहरण, भ्रष्टाचार, घुसखोरी, तस्करी, ठगी, कालोबजारीजस्ता यावत् विकृति मुलुकमा बनमाराझैँ मौलाएको छ । एक–दुई व्यक्ति या एक–दुईवटा निकायको मात्र नाम लिएर पुग्दैन यत्रतत्र सर्वत्र नै विसङ्गति फैलिएको छ । तर, मुलुकको अन्योल र अराजकताको गलत लाभ उठाएर नाजायज फाइदा लिन उद्यत् रहेको एउटा व्यापारिक फर्मको नाम उजागर गर्नु आमउपभोक्तको हितमै हुने देखिन्छ ।
काठमाडौंको नयाँ बानेश्वर–१० मा रहेको ‘तेज फुड सप्लायर्स’ले अनधिकृत रूपमा ग्यासको कारोबार गर्दै आएको छ । उसलाई यस ठगी धन्दामा राजनीतिक र प्रशासनिक संरक्षण नै रहेको प्रमाण स्थानीय उपभोक्ताले फेला पारिसकेका छन् । आफू बस्दै आएको घरधनीलाई भाडा नबुझाएर उल्टै गुण्डा लगाई धम्क्याउने उक्त फर्मका कोइराला थरका व्यापारीले आचार्य थरका सहयोगीमार्फत रात्नराज्य स्कुलको भुइँ तलामा समेत खाद्यान्न पसल राखेका छन् । राजनीतिक र प्रशासनको भरमा अन्य वरपरका व्यावसायीलाई परास्त गर्न सके आफ्नो एकलौटी व्यवसाय फस्टाउने योजनाका साथ उनी अर्कालाई दु!ख दिने कार्यमा नाङ्गो रूपमा उत्रिएका छन् । उनीहरूले दिएको प्रताडनाबाट दिक्क भएर घरभेटी थापाले गणेशमानपुत्र तथा काङ्ग्रेसका नेता प्रकाशमान सिंहलाई समेत गुहारे, ‘हेल्लो सरकार’मार्फत प्रधानमन्त्री डा.बाबुराम भट्टराईसमक्ष समेत आफ्नो समस्या राखे, तर त्यत्रो ठूलाठूला निकायले समेत राहत प्रदान गर्न सकेनन् । निज कोइरालाले ‘तेज फुड सप्लायर्स’को नामबाट ग्यासको अवैध बिक्री–वितरण मात्र नगरी रत्नराज्य स्कुलको भुइँ तलामा रहेको खाद्यान्न पसलमा कुहिएका, म्याद गुज्रिएका र स्थानीय प्रशासनले तोकेको बिक्री–वितरण गरिने सामानको कुनै पनि मूल्य नतोकिएका सामानसमेत बिक्री–वितरण हुँदै आएको छ । निजले आमउपभोक्तालाई सताउन धन्दा सुरु गरेका हुन् कि सेवा प्रदान गरेर उचित मुनाफा कमाउनका लागि हो ? यसको जवाफ अब सम्बन्धित सरकारी निकायले नै उपलब्ध गराओस् भन्ने स्थानीय उपभोक्ताको माग छ ।
– जनक कोइराला, माधव थापा एवम् स्थानीयवासी, मध्यबानेश्वर, काठमाडौं

मूर्धन्य व्यक्तित्वप्रति आक्षेप किन ?
मिति०६९/८/६/४ मा प्रकाशित घटना र विचार साप्ताहिकको पृष्ठ ६ मा ‘पञ्चाङ्गमा किन सुधार भएन ?’ शीर्षकअन्तर्गत प्रकाशित ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्यको लेख सामग्रीको अन्तिम अनुच्छेदको हरफ ९ मा ‘मंगलराज जोशीले पनि भूगोलमा पीएचडी गरेका हुन्, यी सबै तथ्य थाहा हुँदाहुँदै पनि चाकडीका आधारमा उहाँहरू त्यो पदमा आसीन भइरहेको देखिन्छ’ भन्ने उल्लेख गरी नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष तथा मुलुकका एक मूर्धन्य व्यक्तित्व ज्योतिर्विद् स्व. प्रा.डा. मंगलराज जोशीप्रति अनावश्यक रूपले व्यक्तिगत लाञ्छना लगाइएको आपत्तिजनक छ ।
अत! ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्यद्वारा प्रस्तुत एवम् घटना र विचार साप्ताहिकद्वारा प्रकाशित उक्त लेख सामग्रीमा उल्लिखित स्व. मंगलराज जोशीबारेको भनाइ दूराग्रह, कपोलकल्पित एवम् व्यक्तिगत चरित्र हत्या गर्ने आक्षेपयुक्त तथा इष्र्यामा निहित झुटो व्यहोराको सो भनाइले हाम्रा जोशी परिवार तथा जोशी कुल एवम् समाजमा समेत गम्भीर आघात पुर्‍याइएबाट मर्का परेको हुँदा तपाईंहरू दुवै पक्षबाट क्षमायाचनासहित यथाशीघ्र सोको खण्डन प्रकाशन गरिदिनु आग्रह गर्दछु ।
– दैवज्ञ कीर्तिमदन जोशी, लपुउमनपा वडा नं १, कोपुण्डोल, ललितपुर
(मुलुककै एक मूर्धन्य व्यक्तित्व एवम् विख्यात ज्योतिर्विद् स्व. प्रा.डा. मंगलराज जोशीप्रति घटना र विचार साप्ताहिक सदा आदरभाव राख्छ । उहाँले मुलुकको शिक्षालगायतका क्षेत्रमा पुर्‍याउनुभएको योगदान अमूल्य छ । स्वर्गीय जोशीको व्यक्तित्व र कृतित्व कसैले घटाउन या मेटाउन चाहेर घट्न–मेटिन सक्दैन भन्नेमा हामी विश्वस्त छौँ । उहाँसँग कुनै आग्रह–दूराग्रह भावले कुनै समाचार या लेख–रचना प्रकाशित गर्ने घटना र विचारको मनसाय न थियो न भविष्यमै रहनेछ । कुनै लेखकविशेषको निजी विचार ‘घटना र विचार’मार्फत असावधानीवश सम्प्रेषण भएको र त्यसबाट जोशी परिवारमा पर्न गएको पीडाप्रति हामी खेद प्रकट गर्दछौँ । – सं.)