एनआरएनए लग्जेम्बर्ग सम्मेलनको तयारी

एनआरएनए लग्जेम्बर्ग सम्मेलनको तयारी


– डिल्लीराम अम्माई/बेल्जियम

यही २४ मार्च शनिबारका दिन गैरआवासीय नेपाली संघ (लग्जेम्बर्ग)ले लग्जेम्बर्गमै हुन गैरहेको युरोपियन सम्मेलनबारे महत्वपुर्ण निर्णयहरु गर्दै एक एतिहासिक बैठक सम्पन्न गरेको छ। संघका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले लक्जम्बर्गमा आगामी जुलाई २९ र ३० मा हुने एघारौं एनआरएनए युरोप सम्मेलनको तयारीक लागि उपसमितिहरु र त्यसका संयोजकहरु तोक्ने कामसहित सभाको तयारीको लागि महत्वपुर्ण निर्णयहरु गरेको हो ।

गैरआवासीय नेपाली संघ युरोपका संयोजक शिवकुमार बरुवालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा संघका वरिष्ठ उपाध्यक्ष बालकृष्ण सापकोटाले सम्मेलनको आन्तरिक तयारी, कार्यविभाजनमा मनोनयन र अतिथि सत्कारबारे आफ्नो धारणा राखेका थिए। त्यस्तै, उपाध्यक्ष रामकान्त शर्माले नेपालबाट बोलाइने अतिथि विवादरहित र पारदर्शी हुनुपर्ने, उनीहरुको विवरण र संख्या जर्मन दुतावासमा बोधार्थ पठाइनुपर्ने, र अतिथि सत्कार ब्यवस्थापन चुस्त बनाइनुपर्ने धारणा राख्दै खानपिनको ब्यवस्थापनबारे आफ्नो धारणा राखेका थिए।

बैठकमा विशेष अतिथि महिला संयोजक रजनी प्रधानले लग्जेम्बर्गका नेपालीहरुको एनआरएन र नेपालप्रतिको समर्पणको मुक्तकण्ठले प्रशंसा गर्दै युरोप क्षेत्रीय भेला सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी लग्जेम्बर्गले पाउनु भनेको यहाँका नेपालीहरुको सम्मान तथा उच्च मुल्यांकन भएको बताइन् ।

सोहि अवसरमा आइसीसी हरिबहादुर खत्रीको प्रस्तावमा उपसमितिको निर्माणबारे महासचिव बिमल बाबु उपाध्यायले रुलिङ गरेका थिए। उनले आफ्ना रायसहित क्षेत्रीय भेलाको प्राविधिक, आर्थिक र भौतिक पूर्वाधारबारे गम्भीर बहसको नेतृत्व गरे। बहसले भाबी भेलाबारे महत्वपुर्ण ठोस प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्न सहमति जुटाएको थियो।

दुई दिनसम्म चल्ने भेलाको लागी सभाहल लग्जेम्बर्ग हाइटमा रहेको हिलटन होटलको अन्तर परिधि कक्ष तय गरियो र त्यसको लागि अवलोकन, प्रस्तावित कक्षबारे बहस र सामुहिक सहमतिसहित निर्णय गरियो।

अभियन्ता, अतिथि वा आगन्तुक बस्नको लागि सोहि होटलको आवश्यक कोठा बुकिङ गर्ने सामुहिक सहमति गैरआवासीय नेपाली संघ लग्जेम्बर्गको समितिलाई निर्णयार्थ दिने कार्य समेत टुंगियो।

एनआरएनए लग्जेम्बर्गले उपस्थित बेल्जियम एनआरएनएका संस्थापक रविन्द्रमान श्रेष्ठ, क्षेत्रीय संयोजक शिव बरुवाल, ग्लोबल महिला संयोजक रजनी प्रधानलगायत लग्जेम्बर्गका सम्पूर्ण नेपालीहरुलाई बैठकमा निर्देशनात्मक उपस्थितिको लागि बधाई दिँदै लग्जेम्बर्गमा हुन गैरहेको एनआरएनए एघारौँ सम्मेलन तथा नवौँ क्षेत्रीय महिला भेलालाई हरतरहले सफल पार्न अपिल समेत गरेको छ।

त्यस्तै अर्को जानकारीअनुशार आउँदो १४ अप्रिल २०१८ का दिन नेपाली नयाँ वर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियममा सम्पन्न हुन गैरहेको छ। नेपाली कला सांस्कृतिक र प्रयटन प्रबर्धनको लागि हुन गैरहेको सो कार्यक्रम नेपाली राजदुतावास र एनआरएनए बेल्जियमको संयुक्त आयोजनामा हुने बताइएको छ। सो कार्यक्रम बेल्जियमको शेक्षिक नगरी ल्युभेनमा हुने जानकारी प्राप्त भएको छ।