नेपालका सुदीपले अङ्ग्रेजीमै हँसाए न्युयोर्कका अङ्ग्रेजीभाषीलाई

नेपालका सुदीपले अङ्ग्रेजीमै हँसाए न्युयोर्कका अङ्ग्रेजीभाषीलाई


– मनोज रिजाल, न्युयोर्क

मार्च दोस्रो हप्ताको एक पट्यारलाग्दो आइतबार । उसै त न्युयोर्क शहरको मुख्य बजार क्षेत्र ‘म्यानहाटन’का बासिन्दा सप्ताहान्तमा कोही पनि घर बस्न चाहँदैनन् । कोही रेस्टुरेन्टमा लन्च र डिनर गर्न जान्छन् । कोही बारमा समय बिताउँछन् । अलि तन्नेरीहरू डान्स क्लबमा गएर कम्मर मर्काउँछन् । ‘फेरी’ भनिने सानो पानीजहाज चढेर पुगिने विश्वप्रसिद्ध स्वतन्त्रताकी देवीको मूर्ति अर्थात् स्टाचु अफ लिबर्टी हेर्न भने न्युयोर्कवासी कमै जान्छन् । उनीहरू बजारकै मुटुमा रहेको अर्को प्रख्यात गन्तव्य टाइम्स स्क्वायरमा पनि काम प¥यो भने मात्रै झुल्किन्छन् ।

जब कि अन्य राज्य र देशहरूबाट न्युयोर्क शहर घुम्न आएकाहरूका लागि स्वतन्त्रताकी देवीको मूर्ति रहेको लिबर्टी आइलेन्ड र टाइम्स स्क्वायर छुटाउनै नहुने गन्तव्य स्थलमा पर्छन् । सप्ताहान्तमा न्युयोर्कवासीको मुख्य सौख भने न्युयोर्ककै मौलिक संस्कृति झल्काउने ब्रडवे शो, अफ–ब्रडवे शो र कमेडी शोेहरूमा हुन्छ । यी शोेहरूले बाहिरबाट घुम्न आएकाहरूलाई त आकर्षित गर्छन् नै, न्युयार्ककै स्थानीयलाई समेत यी शोेहरूले हरहमेशा रोमाञ्चित गराइराखेका हुन्छन् ।

यस्तै, एक कमेडी शोेमा आफ्नो कला देखाउने मौका पाए नेपालका सुदीप उलकले । काठमाडौंका सुदीप न्युयोर्ककै एक विश्वविद्यालयमा सूचना र प्रविधि विषयमा स्नातकोत्तर गरिराखेका छन् । उनलाई मञ्चमा उक्लिएर आफ्नो कला देखाउने सौख नेपाल हुँदादेखि नै थियो, यद्यपि न्युयोर्क शहरमै आफ्नो प्रतिभा देखाउन पाउँदा भने उनी कम्ती दङ्ग छैनन् ।

गोथाम कमेडी क्लबले आयोजना गरेको उक्त शोको सजावट कुनै एक भव्य र अति व्यवस्थित रेस्टुरेन्टको जस्तो लाग्थ्यो । लाम्चो आकारको हल, हलको बीचमा मञ्च, हलभरि चिटिक्क मिलाइएका साना–साना कुर्सी र डाइनिङ टेबलहरू, ती टेबलहरूमा बसेका (टिकट काटेर वा बुक गरेर अनि लाइनबाट भित्र छिरेका) सयौँ अतिथि दर्शक अनि अतिथिको खानपान र ड्रिंक्सको अर्डर लिँदै गरेका कर्मचारीहरू । जब कमेडी शोे शुरु भएको जनाउ उद्घोषकले हास्यव्यङ्ग्यात्मक पारामा गरे, त्यसपछि पालैपालो मञ्चमा चढेका मनोज गजुरेलका अमेरिकी अवतारहरूले दर्शकहरूलाई पेट मिचिमिची हँसाइरहे, हँसाइ नै रहे । अनि पालो आयो नेपालका सुदीप उलकको ।

‘मलाई सानैदेखि अमेरिकामा पढ्ने रहर थियो र म पुगो मिसिसिपी !’ आफ्नो स्ट्यान्ड–अप कमेडीको शुरुवात गर्दै ठट्यौली पारामा उनले आफू मिसिसिपी राज्यको ग्रामीण परिवेशमा बस्नुपरेको कुरा उठाए ।

‘अहिले म न्युयोर्कमा छु र मलाई यो शहरको हरेक कुरा मन पर्छ । यहाँको सब–वे र यहाँसम्म कि मलाई न्युयोर्कको मुसासमेत मन पर्छ !’ हलमा अट्टहास छायो ।

आफूूलाई न्युयोर्कको मुसासमेत मन पर्नुपर्ने कारण पनि सुदीपले ठट्यौली पारामा खोले । ‘म एउटा स्टोरमा काम गर्थो । मेरो साहुले मलाई एक दिन खाना खान रेस्टुरेन्टमा लिएर गयो । त्यसबेला उसले मलाई भन्यो, ‘आप्रवासीहरू भनेका मुसाहरूजस्तै हुन् ।’ मैले प्रतिवाद गरो, ‘तपाईंको मतलब के हो, म पनि त आप्रवासी नै त हुँ नि !’ उसले फेरि भन्यो, ‘तिमी त फरक छौ नि त, तर म यस्तो मान्छेहरूलाई चिन्दछु जो वास्तव मै मुसाहरूजस्ता छन् जो वास्तवमा मेरा भूतपूर्व पे्रमी वा प्रेमिकाहरू हुन् !’

विवाहको सम्बन्धमा मागीविवाह र प्रेमविवाहमध्ये आफूलाई प्रेमविवाह नै मनपर्ने, तर आफ्नो प्रेमिकाको कारण अब मागीविवाह पनि नराम्रो हुँदैन भन्ने लाग्न थालेको कुरालाई सुदीपले रोचक पारामा प्रस्तुत गर्दै भने, ‘मैले र मेरी प्रेमिकाले हाम्रो सम्बन्ध दुनियाँलाई देखाउन फेसबुकलगायत सामाजिक सञ्जालहरूमा हामी सँगै भएका फोटाहरू राख्यौँ, एक–अर्कालाई ट्याग ग¥यौँ । तर, उनको जन्मदिनको दिन हाम्रो बे्रकअप भयो । कारण उनको विचारमा म फोटोमा मात्रै राम्रो देखिन्छु रे, वास्तविक जीवनमा चाहिँ म राम्रो देखिन्न रे ! अनि यस्तो बे्रकअप त मेरो र उनको बीचमा कतिचोटि भयो भयो !’

फेरि हलमा तालीको गड्गडाहट र अट्टहास !

सुदीपको प्रस्तुतिलाई दर्शकहरूले असाध्यै मन पराएको पाइयो । ‘सुदीपको स्टयान्ड–अप कमेडी शोे मलाई एकदमै मनप¥यो,’ शो हेर्न आइपुगेका एक नेपाली दर्शक जयेन्द्र चिलवालले भने । ‘उनले अङ्ग्रेजी भाषा मात्रै बोल्ने र बुझ्ने दर्शकहरूलाई अङ्ग्रजी भाषामै हँसाए । उनको आत्मविश्वास गजबको थियो ।’

शो पछि प्रसन्न मुद्रामा भेटिएका सुदीपले यस पङ्क्तिकारलाई भने, ‘मलाई न्युयोर्कजस्तो शहरमा आफ्नो प्रतिभाको प्रदर्शनी गर्नु थियो । मैले अवसर पाएँ र देखाएँ । म असाध्यै खुसी छु । यस्तै प्रदर्शनी आउँदा दिनहरूमा पनि गर्दै जानेछु ।’

अमेरिका आई आफ्नो प्रतिभा देखाउने नेपालका सुदीप उलकलाई बधाई अनि शुभकामना !

[email protected]