खेलकुदको विकास अब ‘स्थिर सरकार’को काँधमा

खेलकुदको विकास अब ‘स्थिर सरकार’को काँधमा


खेलकुदलाई विखण्डन गर्ने शक्तिलाई परास्त गर्दै खेलकुदको विकास गर्नुपर्ने सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन् । नेपाल खेलकुद महासंघले आयोजना गरेको वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना बारे छलफल तथा शुभकामना कार्यक्रममा श्रेष्ठले उक्त भनाई राखेका हुन् ।

श्रेष्ठले खेलकुदको विकासमा आउने बाधा अड्चन हटाई विश्वब्यापी खेलकुदको मान्यताका आधारमा ऐन नीति नियमको निर्माण गर्नु पर्ने बताए । साथै उनले अहिले त्यो जिम्मेवारी स्थिर सरकारको काँधमा आएको प्रस्ट पारेका छन् ।

खेलकुदको माध्यमबाटै राष्ट्र निर्माण गर्ने तर्फ अग्रसर हुनु पर्ने भन्दै अव त्यो कार्य पुरा हुने समय आएको श्रेष्ठले बताए । राष्ट्रको गौरवको बिषय बनेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजना निर्धारित समयमा गर्न भौतिक पूर्वाद्धारको निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने कुरमा जोड दिएका थिए ।

दक्षिण एशियाली काउन्सिलको हेडक्वाटर काठमाण्डौमा निर्माण गर्न पहल गर्ने भन्दै यसको माध्ययमले नेपाली खेलकुदको विकासमा नयाँ आयाम थपिने श्रेष्ठको दावी थियो ।

कार्यक्रमका अधिकांश बक्ताहरुले राज्य संचालनमा आएका नेतृत्वले खेलकुदलाई बुझ्नु पर्ने, खेलकुद विकासका लागि ऐन, नीति नियममा परिमार्जन गर्दै खेलकुदको विकासमा अग्रसर हुनु पर्ने, विश्वमा परिचित गराउने खेलबाट विभिन्न क्षेत्रको विकासमा प्रर्याप्त सम्भावना रहेकोले सरकारी दृष्टिकोणमा परिवर्तनल्याई बजेटको बृद्धि गर्नु पर्ने र त्यसका सहि सदुपयोग गर्नु पर्ने, खेलाडी प्रशिक्षकलाई सुविधा प्रधान गर्दै पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र खेलकुदको माध्ययमले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला, नेपाल खेलकुद महासंघका महासचिव एवं राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, राखेपका सदस्यसचिव केशव कुमार बिष्ट, एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगायतले आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा नव निर्वाचित सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठलाई सम्मान गरिएको थियो । मन्त्रिद्वय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टलाई पनि सम्मान गर्ने कार्यक्रम रहेकोमा क्याविनेट बैठकका कारण दुवै मन्त्रीहरुको उपस्थिति कारण असम्भव भएको थियो ।