सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान

सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान


अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् ।

ललितपुरमा आवास नहुँदा उनीहरुलाई एक-दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ बताउँछिन् ।

स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे लिन गाह्रो मान्ने गरेको जानकारी दिंदै उनि भन्छिन्, ‘गैरसरकारी संस्थाको प्रहरीसँग राम्रो सम्बन्ध हुँदा लिन मान्ने र नहुँदा गाह्रो हुन्छ ।’

जिल्लामा सरकारद्वारा सञ्चालित आवास गृह नहुँदा प्रहरीलाई अलपत्रमा परेका महिला तथा बालबालिकाको व्यवस्थापन कठिन भएको हो । मानसिक अस्पताल लगनखेलमा भएकाले पनि लगनखेल–जावलाखेल सडकखण्डमा मानसिक रोगी महिनामा तीन चारजनासम्म भेटिन्छन् । प्रमुख प्रहरी निरीक्षक श्रेष्ठ भन्छिन्, ‘स्थानीयवासीले प्रहरीलाई बुझाउँछन् तर हामीले कता पठाउने भन्ने समस्या छ ।’ राससका अनुसार ब्यारेकमा राखौँ भनेपनि दिनभर काम गरेर फर्किएका महिला प्रहरीले राम्रोसँग आराम गर्न पाउँदैनन् ।

आवास गृह नहुँदा हिंसाबाट पीडित अरु महिलालाई समेत समस्या भएको प्रहरीले बताउँदै आएको छ ।