टेस्ट क्रिकेट खेल्ने राष्ट्रसँग नेपालले ‘वान डे’ खेल्न पाउँदैन

टेस्ट क्रिकेट खेल्ने राष्ट्रसँग नेपालले ‘वान डे’ खेल्न पाउँदैन


आईसीसी डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेर डिभिजन वानमा उक्लिएको नेपाली क्रिकेट टोलीले विश्वकप छनोट चरणमा अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन । विश्वकप छनोट चरणका तीनवटा खेलमा लगातार पराजित भएको नेपालले आफ्नो अन्तिम खेलमा हङकङलाई पराजित गरेर आफ्नो साख बचाएको थियो । हङकङलाई पराजित गरेकै कारण एकदिवसीय मान्यताका लागि नेपालले पपुवा न्युगिनीसँग खेल्ने अवसर पाएको थियो । पपुवा न्युगिनीलाई नेपालले पराजित गरे पनि नेपाललाई एकदिवसीय मान्यता प्राप्त गर्न नेदरल्यान्डले हङकङलाई पराजित गर्नुपर्ने बाध्यता थियो । भाग्यमानी नेपाल, नेपालले जस्तो सोचेको थियो त्यस्तै परिणाम आयो । नेदरल्यान्डले हङकङलाई पराजित गर्दै नेपाललाई एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रको सूचीमा पारिदियो । यदि उक्त खेलमा हङकङ विजयी भएको भए नेपालले यो ऐतिहासिक उपलब्धिको अनुभूति गर्न पाउने थिएन । साँचो रूपमा भन्नुपर्दा नेदरल्यान्ड धन्यवादको पात्र हो । यसर्थमा कि नेपालले यो भ्रमणमा दुई खेलमा जित र चार खेलमा पराजय भोगेको छ ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले यो ऐतिहासिक उपलब्धि २२ वर्षपछि हासिल गरेको हो । डिभिजन–५ बाट अन्तर्राष्ट्रिय यात्रा थालेको नेपाल डिभिजन–१ सम्म पुग्न सफल भएको थियो । यही प्रदर्शनका आधारमा नेपालले सन् २०१४ मा आयोजित ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउने अवसर पाएको थियो । पहिलो विश्व अनुभवमा नेपालले कुनै खेलमा जित हासिल गर्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेर क्रिकेट फ्यानहरूको मन जित्न सफल भएको थियो । यतिबेला दश राष्ट्र सम्मिलित प्रतियोगितामा आठौँ स्थान हासिल गरेर नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको हो । नेपालले एकदिवसीयमा मान्यता प्राप्त गरेसँगै पुछारका दुई राष्ट्र पपुवा न्युगिनी र हङकङ घटुवा भएर डिभिजन–२ मा झरेका छन् । नेपाल अब आईसीसीद्वारा मान्यता प्राप्त १६ राष्ट्रको सूचीमा यो उपलब्धि हासिल गर्ने कान्छो राष्ट्र बनेको छ । अब नेपाललाई चार वर्षसम्म अर्थात् २०२२ सम्म यो मान्यता प्राप्त हुनेछ ।

नेपालले एकदिवसीय मान्यता प्राप्त गरेसँगै अहिले चौतर्फी नेपाली क्रिकेटको चर्चा चलिरहेको छ । क्रिकेटप्रेमीको मनमस्तिष्कमा एकदिवसीयको भूत सवार भएको छ । नेपालले पनि अब टेस्ट मान्यता प्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, जिम्बावे, अफगानिस्तान र आयरल्यान्डसँग एकदिवसीय शृङ्खला खेल्न पाउने भ्रम पैदा भएको छ । साँचो रूपमा भन्नुपर्दा नेपालले यी टेस्ट खेल्ने राष्ट्रबाहेक अन्य राष्ट्रहरूसँग मात्र एकदिवसीय क्रिकेट खेल्ने हो । त्यसमा डिभिजन–१ मा रहेका र एकदिवसीय मान्यता प्राप्त गरेका नेपालजस्तै अन्य मुलुकका टिमसंग नेपालले प्रतिस्पर्धा गर्ने हो । यसबाहेक नेपालले एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउँछ । जहाँ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको सहभागिता रहन्छ । नेपालले एकदिवसीय मान्यताप्राप्त गरेपछि अब आईसीसीले चार वर्षको जस्तो क्यालेन्डर बनाउँछ सोहीअनुरूप नेपालले खेल्ने हो ।
यतिबेला नेपाल क्रिकेट सङ्घ (क्यान)लाई आईसीसीले निलम्बन गरेको अवस्था छ । निलम्बन फुकुवा गर्ने प्रयास जारी रहे पनि अहिलेसम्म त्यसमा सफलता प्राप्त भएको छैन । आईसीसीको तालिकाअनुसार विधान संशोधन भए आगामी जुनमा हुने साधारणसभाले नेपालमाथि लागेको प्रतिबन्ध हटाउन सक्छ ।