मुख्य सचेतकमा खाणको मनोनयन

मुख्य सचेतकमा खाणको मनोनयन


नेपाली कांग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गरेका कांग्रेस संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।

विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाएका थिए । विसं २०५६ देखि पार्टीको केन्द्रीय सदस्य रहेका खाणसँग तीन पटक विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ ।

संघीय संसदमा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सरकारसँग सहकार्य गरेर दलको भूमिकालाई सशक्त तुल्याउनु पर्ने कार्य उनका लागि निकै चुनौती र अवसरका रुपमा रहेको छ ।

मुख्य सचेतकमा मनोनयन भएपछि उनले कांग्रेसले संघीय संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए । बहुलवादमा आधारित शासन व्यवस्थाको रक्षार्थ कांग्रेस सशक्त पहरेदारको भूमिकामा रही सरकारको राम्रो कामको समर्थन गर्ने तर राष्ट्रहित र जनताका अधिकार कुण्ठित गर्ने प्रयास भएमा प्रखर रुपमा उत्रने उनले बताए ।