गाँजाखेतीको प्रतिबन्ध कस्ने कि पर्यटक बढाई समृद्धिमा बस्ने ?

गाँजाखेतीको प्रतिबन्ध कस्ने कि पर्यटक बढाई समृद्धिमा बस्ने ?


– अरुणकुमार ज्ञवाली

संसारमा उत्कृष्ट अफिमको उत्पादन क्षेत्र अफगानिस्तान भएझैँ गाँजा–चरेसको उत्कृट उत्पादन क्षेत्र नेपाललाई मान्ने गरिन्छ । नेपालमा उत्पादित गाँजा, चरेसको महात्म्य परापूर्वकालदेखि रहे पनि सन् १९७० को दशकमा चलेको हिप्पी संस्कृतिअन्तर्गत चरम प्रचारप्रसार भएको थियो । भारतीय अभिनेता देव आनन्दले नेपालको परिवेशमा सन् १९७१ मा बनाएको चलचित्र हरे राम हरे कृष्णमा प्रयोग गरिएको गाना ‘दम मारो दम’ले पनि नेपाली गाँजा–चरेसको उत्कृष्टताको पुष्टि गर्दछ ।

पङ्क्तिकारलाई सम्झना छ– तराईमा लाइसेन्स लिएर गाँजा उत्पादन गरिन्थ्यो । उत्पादित गाँजा विभिन्न व्यापारीलाई कृषकहरूले बिक्री गरी गाँजाको बिउबाट खाने तेल उत्पादन गरी सरकारलाई राजस्वसमेत तिर्ने गरेका थिए । नेपाल सरकारले ०३३ साल असोज १० गते लागूऔषध नियन्त्रण ऐन, लागू गरी गाँजा उत्पादनलाई दण्डनीय अपराध घोषित ग¥यो ।

गाँजामाथि प्रतिबन्ध लगाउनुको चुरो कारण :

अशान्त मानिस आफूलाई भुलाउन विभिन्न वैकल्पिक स्रोतको खोजीमा लाग्छन् । ती साधनमा मदिराजन्य पदार्थ, अफिमजन्य पदार्थ, गाँजाजन्य पदार्थ र मनोद्वीप लवणका सम्मिश्रणबाट बनेका पदार्थ पर्छन् । मदिराजन्य पदार्थमा रक्सी, बियर र वाइन पर्छन् । स्कच रक्सी, फेन्च/स्पेनिस वाइन र डेनिस बियरले नेपालको मदिरा बजार ढाकेका कारण अर्बाैँ रुपैयाँ वार्षिक रूपमा युरोप पुग्छ । अर्थात् मदिराजन्य पदार्थमा युरोपीय दबदबा रहेको छ । अफिमको प्रमुख उत्पादक एवम् निर्यातक अफगानिस्तानबाट विभिन्न हेरोइन, ब्राउनसुगर नेपाल भित्रिएको तथ्य कसैसँग लुकेको छैन । अर्थात् अफिमजन्य पदार्थमा अफगानिस्तानको दबदबा रहेको छ । मनोद्वीप लवणको प्रमुख उत्पादक युरोपेली मुलुक रहेका छन् ।

विगत दुई वर्षभित्रमा औषधि उत्पादकले युरोपबाट आयात गरेको स्युप्रोडिनको औषधि नबनाई अवैध उपयोग गरेको कारण मुद्दा चलेको तथ्यबारे हामी जानकार नै छौँ । अर्थात् यस क्षेत्रमा पनि युरोपेली देशको दबदबा रहेको छ । प्रश्न गाँजा–चरसको हो, यो धुम्रपान शीर्षकअन्तर्गत पर्दछ । एक खिल्ली चुरोटमा २०० भन्दा बढी किसिमका केमिकल मिसाइएका हुन्छन् । जसका कारण क्यान्सर हुने तथ्य चुरोटको डब्बामा अङ्कित चेतावनीमूलक सन्देशले पुष्टि गर्दछ । गाँजामा केमिकलको प्रयोग हुँदैन । यो नितान्त औषधिजन्य वस्तु भएको, तर औषधिको अधिक सेवन हानिकारक भएको हुँदा गाँजाको अधिक सेवनले पनि हानि गर्दछ ।

नेपालमा यी चार विकल्प मदिरा, अफिम, गाँजा र मनोद्वीपमध्ये सबैभन्दा बढी मदिरा र चुरोटका अम्मली छन् । त्यसैकारण यो देशको राजस्वको ठूलो स्रोत नै मदिरा र चुरोट भएको छ । हरेक वर्ष यो शीर्षकमा कर बढाइन्छ, तर उपभोग घट्नुको सट्टा बढ्छ । यसको प्रमुख लाभ युरोपेली मुलुकलाई भएको छ । नेपालको राष्ट्रिय उत्पादन गाँजालाई दण्डनीय बनाइएको हुँदा विभिन्न बहानामा नेपाली मुद्रा बिदेसिएको छ । गाँजाको सेवनलाई दण्डनीय नबनाइने हो भने रक्सी र चुरोटको उपभोग घट्ने युरोपेली पर्यटक नेपालमा आई खर्च गर्ने, नेपाली मुद्रा बलियो हुने डरले धनी मुलुकद्वारा प्रतिबन्ध थोपरियो ।

नेपालको जलवायु पहाडदेखि तराईसम्म गोडिरहनु नपर्ने, स्याहार्नु नपर्ने खालि जग्गामा साउनेझरीसँगै स्वस्फुर्त रूपमा हुर्कने राष्ट्रिय उत्पादनको रूपमा गाँजा रहेको छ । सन् १९७० को दशकमा नेपाल गाँजा, चरसको प्रसिद्धि युरोपसम्म पुगेको कारण चरस खाने र घुम्ने बाहनामा युरोपेली हिप्पीहरू नेपालमा आउने र नेपालबाट चरस लाने कार्यले युरोपेली मुलुक आतङ्कित भए । नेपाल स्कच रक्सी पैठारी गर्नुको सट्टा नेपालबाट चरेसको निकासी बाक्लिनु, चरेस सेवनमा सहजताको कारण नेपालमा हिप्पी पर्यटक बढ्नुको कारण नेपालको पर्यटनसमेत फस्टाउन गएको कारण तत्कालीन समयमा नेपाली मुद्रा बलियो भई एक डलरबराबर १६ रुपैयाँ नेपाली मात्र थियो । आज एक डलरबराबर १०२.७६ पैसा छ ।

गाँजाको झार उमारिरहनुपर्दैन, साउने झरीसँगै डाँडाकाँडा, खोला किनार, अरू बाली उम्रिन नचाहने ठाउँमा आफैँ उम्रेको हुन्छ । गाँजा औषधि हो, यो तथ्य आयुर्वेदले भने पनि हामीले माने पनि नेपाली कानुनले मानेको छैन । गाँजाको सेवनले हाम्रो समाजमा असर हुने भए हाम्रा पूर्वज सबै गँजेडी नै हुने थिए होला, तर त्यसो हुन सकेन ।

नेपालको आर्थिक प्रगतिबाट आतङ्कित अमेरिकी एवम् युरोपेली मुलुकले नेपालको राष्ट्रिय उत्पादन गाँजालाई प्रतिबन्ध गराउन अमेरिकी कूटनीतिक विशेष जोडीलाई खटाए । श्रीमती क्यारोल लेसी नेपालका लागि अमेरिकी राजदूत थिइन् भने श्रीमान् इल्सवथ वकर भियतनामका लागि अमेरिकी राजदूत थिए । यो जोडीलाई आफ्नो मिसन पूरा गर्न श्रीमान्–श्रीमती भेट्नसमेत सहजता होस् भनी अमेरिकी सरकारले विशेष विमान उपलब्ध गराएको थियो । क्यारोल लेसीले राजपरिवारको शक्तिशाली सदस्यलाई प्रभावित गरी लागूऔषध नियन्त्रण ऐन गर्ने प्रक्रिया अगाडि बढाइन् ।

पछि मारक्वेटा मारटाङको समयमा २०३३ साल असोज १० गते गाँजा प्रतिबन्धित गर्ने कानुन लागू भएपछि तराईका राष्ट्रिय पञ्चायत सदस्य (सांसद)हरू राजा वीरेन्द्रसमक्ष यो कानुन राष्ट्रविरोधी भएकोले फिर्ता लिन बिन्ती गर्न आए । राजा वीरेन्द्रले यो कानुन पारिवारिक दबाब थेग्न नसकेर आएको हो, यसलाई कागजी रूपमा मात्र राख्ने, तर गाँजाखेतीलाई प्रभावित गर्ने गरी कुनै काम नगर्ने भनी आश्वस्त गराएको तथ्य तत्कालीन राजप्रासाद सेवामा कार्यरत विशिष्ट श्रेणीका कर्मचारीबाट यो पङ्क्तिकारले सुनेको हो । कुरा स्वाभाविक पनि लाग्दछ, किनभने पञ्चायतकालीन कानुनमा सामान्य सजाय जरिवानाको प्रावधान रहेको थियो एवम् गाँजाखेतीमा कडाइ गरिएको थिएन ।

पञ्चायत गयो, शेरबहादुर देउवा गृहमन्त्री भए । अमेरिकी राजदूत जुलिया चाङ ब्लकको विशेष आग्रहमा उनको सुखद कार्यकाल सकिएको उपहारस्वरूप ०५० जेठ ३२ गते गाँजालाई कठोर दण्डनीय अपराध घोषित गरियो । लागूऔषध नियन्त्रणका नाममा नयाँ निकाय खडा भयो । धेरै हाकिमसाब तालिम गर्न, सेमिनारको नाममा घुम्नलाई विदेश जान भ्याइनभ्याई छ । परिणामस्वरूप हरेक वर्ष भदौ–असोजतिर समाचार आउँछ, ‘फलानो प्रहरी कार्यालयले फलानो क्षेत्रको गाँजा फँडानी ग¥यो ।’ समाचार फोटोसहित विदेश पुग्छ, राष्ट्रिय सम्पत्ति नास गरेर हाकिमसाहहरू पुनः सेमिनारमा बिदेसिन्छन् ।

रक्सी र गाँजाको बीचको फरक :

रक्सी खाएका मानिस आवेगमा आई झैझगडा गर्नु, अरूको दैलोमा लात्ती हान्न गएको घटना गाउँ–शहरमा पाइन्छ भने गाँजा, चरेस सेवनकर्ता आफँैमा मग्न भई बादलमा पाइला चालेसरी हिँड्ने गरेको पाइन्छ । तराईमा हरेक गाउँमा गाँजा खाने समूह हुन्थे, जसलाई प्रेमी भन्ने गरिन्थ्यो । एक गाउँको गजेडी अर्को गाउँमा जाँदा प्रेमीसरह सम्मान गरिन्थ्यो । गँजेडीहरूले कसैलाई कुनै हानि नपुऱ्याएको कारण नै तिनका प्रेमी मान्यता कायम रहेको थियो ।

खुला बहस गरौँ र पुनर्विचार गरौँ :

गाँजा औषधि हो, यो तथ्य आयुर्वेदले भने पनि हामीले माने पनि नेपाली कानुनले मानेको छैन । गाँजाको सेवनले हाम्रो समाजमा असर हुने भए हाम्रा पूर्वज सबै गँजेडी नै हुने थिए होला, तर त्यसो हुन सकेन । गाँजाको झार उमारिरहनुपर्दैन, साउने झरीसँगै डाँडाकाँडा, खोला किनार, अरू बाली उम्रिन नचाहने ठाउँमा आफैँ उम्रेको हुन्छ । गाँजा प्रतिबन्ध लाउने अमेरिकाले गाँजा खेती गर्न लाइसेन्स दिएको नयाँ तथ्य कसैसँग लुकेको छैन ।

केही युरोपेली मुलुकले कर तिरी गाँजा खाने पब सञ्चालन गर्न दिएको तथ्य हामीबीच कायम नै छ । हाम्रो देशले ०३३ सालसम्म लाइसेन्स दिएकै थियो । गाँजाको बिउबाट तेल र डाढबाट भाङ्ग्रा नामको लुगा हाम्रो गाउँघरमा उत्पादन गर्ने गरेका थिए । तर, प्रतिबन्धले यी कार्यले कुनै प्रगति लिन सकेन । हाल गाँजाको रेसाबाट बनेको कपडालाई हेम्प नामकरण गरी भारत एवम् चीनले अन्तर्राष्ट्रिय बजार ओगटेका छन् । हामी अझ पनि भाङ्ग्रे भई बसेका छौँ । पञ्चायतकालीन राजपरिवारले विदेशी प्रभावमा लागू गरेको प्रतिबन्धलाई निरन्तरता दिने वा प्रतिबन्ध फुकुवा गरी गाँजाखेती व्यवस्थित गर्ने सन्दर्भमा अहिलेको झोले पर्यटन विस्तार गर्ने वा ७० दशकको आकर्षक पर्यटन वातावरण बनाउने खुला छलफल गर्ने बेला आएको छ ।