सांगीतिक प्रस्तुतिका लागि सिड्नी आइपुगे राजेश

सांगीतिक प्रस्तुतिका लागि सिड्नी आइपुगे राजेश


– राजन घिमिरे, अष्ट्रेलिया सिड्नी

नेपाली संगीत क्षेत्रका एक हस्ती चर्चित गायक राजेश पायल राई विहिबार बिहान अष्ट्रेलिया आइपुगेका छन् । आगामी शनिबार सिड्नीमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन राई सिड्नी आएका हुन् ।

राजवंशी समाज अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा लोकप्रिय गायक राजेश पायलले आफ्ना हिट नम्बरहरू पस्कने भएका छन् । कार्यक्रममा अष्ट्रेलियामा रहेका चर्चित आवाजहरू वादल प्रसाई, राज. के गोस्वामी र दिल तामाङका प्रस्तुतिहरू पनि समेटिने छन् । ‘सिड्नीमा रहनुभएका नेपाली दाजुभाइ दिदीवहिनीहरुलाई फेरि एकपटक नचाउने र झुमाउने अवसर पाएको छु । निकै खुशी लागेको छ’, राईले बताए । उनले एअरपोर्टमै भने- ‘शनिबार हुने कार्यक्रममा मलाई साथ दिन उहाँहरू आउनुहुने छ ।’

एन्जल होम लोन्सको टाइटल स्पन्सर रहेको यो कार्यक्रम मार्च १७ तारेखका दिन हर्सभिलको अडिटोरियम हलमा हुने छ । ‘सबै बर्ग र उमेरका फ्यानहरूलाई आकर्षित गर्न सक्ने प्रिय कलाकारको कार्यक्रममा सहभागिता जनाउन पाउनु हाम्रो लागि पनि राम्रै कुरा हो’, एन्जल होम लोन्सका सन्चालक दिनेश पोखरेलको भनाई थियो। पोखरेल लगायत आयोजकहरू राजेशलाई स्वागत गर्न सिड्नी एअरपोर्ट पुगेका थिए।

चलचित्र हुन् या आधुनिक, गायनमा पोख्त राजेश यतिबेलाका सबैभन्दा बढी मनपराइएका गायक हुन् ।