कहिले आउने डा’साब ?

कहिले आउने डा’साब ?


– बबिता बस्नेत

‘बबिताजी, मथुरा कुँवरको बारेमा म संवेदनशील भएँ, रेखा थापाप्रतिको मेरो धारणा नै बदलियो, आज तपार्इंहरूको कार्यक्रम धेरै राम्रो लाग्यो । ‘म बोल्छु’ मलाई त कार्यक्रमको शीर्षक नै गज्जब लाग्यो । यसलाई कसरी हुन्छ निरन्तरता दिनुपर्छ है, मसँग केही आइडिया छ, भेटेरै कुरा गरौँला ।’

गत बुधबार साढे तीन बजे डा. बालकृष्ण थापाले फोनमा यसो भन्दै गर्दा म सडकमा गाडी चलाउँदै जनता टेलिभिजन रहेको भवनको लोकेसन खोजिरहेकी थिएँ । टेलिभिजनले महिला दिवस विशेष कार्यक्रममा केही कुरा राखिदिनका लागि बोलाएको थियो । माननीय पुष्पा भुसाल आइसक्नुभयो, माननीय डा. बिन्दा पाण्डे र मलाई पर्खिरहेको भनेर सञ्चारकर्मी कृति भट्टराईले भनेकी थिइन् । बानेश्वरको व्यस्त जाममा म अलि हतारमा थिएँ । ‘म रेखालाई सुनाइदिन्छु, हुन्छ डा. साब अर्को हप्ता भेटेर कुरा गरौँला’ भनेँ ।

तर, नायिका रेखालाई उहाँको कुरा सुनाउनै नपाई एकैपल्ट प्लेन क्र्यासमा उहाँको निधन भएको खबर सुन्नुपऱ्यो । फागुन २३ गते उहाँले मिडिया एड्भोकेसी ग्रुप र सम्झौता नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आफ्नो भनाइसमेत राख्नुभएको थियो । कार्यक्रमपछि टेलिभिजन पत्रकार अस्मिता रिजाल बैनीले डा. बालकृष्ण थापाको भनाइ लिनुपऱ्यो भनेपछि उहाँले टेलिभिजनका लागि थप बोल्नुभएको थियो । के बोल्नुभएको थियो त्यो हेर्न भने पाइनँ । तर, उहाँका तिनै शब्दहरू सार्वजनिक रूपमा बोलेर रेकर्ड भएका अन्तिम भनाइ हुन पुगे ।

डा. बीके थापाका रूपमा परिचित बालकृष्ण डा. साबजति सरल मेडिकल डाक्टर मैले आजसम्म देखेको छैन । उहाँको विद्वता, ज्ञान, अनुभव र नम्रता हेर्दा फलेको हाँगो भनेकोचाहिँ यस्तै हो जस्तो लाग्थ्यो । उहाँ सर्वसाधारण र विशिष्ट मानिएका सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो । चितवनबाट काठमाडांै आउँदा उहाँ प्रायः घटना र विचारको कार्यालयमा आउनुहुन्थ्यो । खासमा देवप्रकाश त्रिपाठीजीसँग उहाँको पुरानो मित्रता हो । तर, आउने–जाने क्रममा हाम्रो पूरै टिमसँग उहाँ परिवारको सदस्यझैँ हुनुभएको थियो । स–साना कुरामा पनि हामी डा. साब मलाई यस्तो भयो, उस्तो भन्थ्यौँ । उहाँ अलिकति पनि झर्को नमानीकन घरेलु र परम्परागत औषधिहरूका लागि प्रेरित गर्नुहुन्थ्यो ।

उहाँ नशाको विशेषज्ञ भनेर जान्दाजान्दै एकपटक मैले डा. साब मलाई लंग्स (फोक्सो) मा समस्या भइरा’छ, के गर्ने होला भनेँ । उहाँले मेरो बुबाले चिप्लेकिरा खानुहुन्थ्यो, तपाईं पनि खानुस् न भन्नुभयो । शुरुमा त चिप्लेकिरा खान विशेषज्ञको सल्लाह के चाहिन्थ्यो जस्तो लाग्यो, तर पछि जब सम्बन्धित भनिएका एक डाक्टरले लेखिदिएको औषधि खाँदा उठ्नै नसकिने अवस्थाको सिर्जना भयो अनि डा. थापा कति सही रहेछन् जस्तो लाग्यो । एक दिन टाउकामा अप्ठ्यारो भएपछि डा. साब मलाई त नशाको समस्या भयो भनेर फोन गरेँ । के भयो ? भनेर सोध्नुभयो । समस्याको वर्णन गरेपछि उहाँले तपाईं ध्यान गर्ने मान्छेलाई त्यस्तो नहुनुपर्ने हो, बिहान–बेलुका पानीको बाफ लिनुस् त अनि म काठमाडौं आएपछि हेरौँला भन्नुभयो । उहाँले भनेजस्तो गरेपछि समस्या समाधान भयो । पिनासका कारण त्यस्तो भएको रहेछ ।

त्यस दिन उहाँले कार्यालयको सोफामा बसेर कम्प्युटर खोल्दै गर्दा कसैले फोन गऱ्यो । जवाफमा ‘छोडिदिनुस्, तिनलाई पैसाबाहेक अरूको मतलब छैन । उनीहरूले वास्ता नगरेर केही हुँदैन, आफू सही हुनुपर्छ, तिनीहरूलाई म मर्ने दिन पनि आउँछ भन्ने नै छैन’ भन्नुभयो । उहाँ कोसँग कुरा गरिरहनुभएको थियो थाहा भएन । फोन राखेपछि सहभागी हुनै नपर्ने संवादमा मैले फ्याट्ट भनिदिएँ, हो भन्या डा. साब मान्छेलाई भोलि मर्छु भन्ने नै छैन ।

डाक्टरी परामर्श गर्नुपर्दा डाक्टरजस्तो लागे पनि उहाँसँग कुरा गर्दा हामीले मेडिकल डाक्टरजस्तो महसुस कहिल्यै गरेनौँ । उहाँसँग साहित्य, लेखन, ध्यान र समसामयिक विषयमा कुराकानी हुन्थे । ध्यानका अभ्यासकर्ता उहाँ ध्यान र सोच प्रक्रियाका बारेमा कुरा गर्न रुचाउनुहुन्थ्यो । माघ महिनाको एक दिन अखबारको कार्यालयमा आउनुहुँदा उहाँसँग लामै कुरा गर्ने मौका मिल्यो । अखबारको कार्यालयमा प्रायः गफ दिने र सुन्ने मानिसको खाँचो हुँदैन । त्यस दिन खै को–को कहाँ गएर हो उहाँ आउँदा मानिसहरूको भिडभाड थिएन । मेडिटेसनसँग सम्बन्धित शून्यदेखि शून्यसम्म शीर्षकको मेरो लेख भर्खरै प्रकाशित भएको थियो । जसमा उहाँले ‘ध्यानको वैज्ञानिक कारण पनि छ । हामी प्रत्येक मिनेट २५ देखि ३० सोच निकाल्छौँ । धेरैजसो काम नलाग्ने र नेगेटिभ हुन्छन् । ध्यानले यो सङ्ख्या घटाउँछ, खासगरी नेगेटिभ सोचहरू’ भनेर कमेन्ट गर्नुभएको थियो ।

त्यस दिन उहाँले कार्यालयको सोफामा बसेर कम्प्युटर खोल्दै गर्दा कसैले फोन गऱ्यो । जवाफमा ‘छोडिदिनुस्, तिनलाई पैसाबाहेक अरूको मतलब छैन । उनीहरूले वास्ता नगरेर केही हुँदैन, आफू सही हुनुपर्छ, तिनीहरूलाई म मर्ने दिन पनि आउँछ भन्ने नै छैन’ भन्नुभयो । उहाँ कोसँग कुरा गरिरहनुभएको थियो थाहा भएन । फोन राखेपछि सहभागी हुनै नपर्ने संवादमा मैले फ्याट्ट भनिदिएँ, हो भन्या डा. साब मान्छेलाई भोलि मर्छु भन्ने नै छैन । मैले कुनै पनि बेला यो संसार छोडर जानुपर्छ भन्ने कुरा माइन्डमा राख्ने हो भने मानिसलाई जिन्दगी बाँच्न धेरै सहज हुने थियो । कुरा गर्दै जाँदा यस्तो प्वाइन्टमा पुगियो, मैले भनेँ– डा’साब यहाँ कसैले कसैलाई वास्ता नगरे पनि या ठूलो–सानो यस्तो–उस्तो भनेर छुट्याए पनि आर्यघाटले सबैलाई समान रूपमा वेलकम गर्नेछ । को ठूलो, को सानो, को धनी, को गरिब, के जात, के समुदाय पूरै समावेशी तरिकाले । समावेशी केही छ भने त्यो प्रकृति र त्यसका नियमहरू छन् भनेपछि उहाँले बबिताजी तपार्इं धेरै आध्यात्मिक हुन थाल्नुभो भन्नुभो । मैले हाँस्दै डा’साब म त पूरै इन्लान्टमेन्टको प्रोसेसमा भनेँ । जुन कुरा साथीहरूसँग जिस्किँदा म भन्ने गर्थेँ/गर्छु ।

हुन पनि प्रकृतिजस्तो समावेशी मलाई केही लाग्दैन । घाम लाग्दा सबैमा पुग्ने गरी लाग्छ, बादल र पानी पर्दा कसैलाई छुट्याउदैन । हावा दिने कुरामा भेदभाव हुँदो हो त अहिले प्राणी जगत्को हालत के हुन्थ्यो होला । मृत्युमा पनि यही समावेशिता लागू हुन्छ । उच्च धनाढ्यदेखि एक छाक खान–लाउन कठिन अवस्था भोगेका हुँदै उच्च जात भनिनेदेखि जिन्दगीभर अपहेलना खपेकाहरूसमेतलाई एउटै चितास्थानले न्यानो स्वागत गर्छ । जसले जे अर्थ लाए पनि जिन्दगीको अन्तिम वास्तविकता यही नै हो ।

डा. बालकृष्ण थापासँग यस्ता कुरा गर्न रमाइलो लाग्थ्यो । जुन कुरामा धेरैजसो मानिसहरूको रुचि हुँदैन । उहाँ न्युरो सर्जन र विशेषज्ञ भएकाले ‘थट प्रोसेस’का बारेमा वैज्ञानिक र आध्यात्मिक दुवै कोणबाट कुरा गर्न सकिन्थ्यो । वर्षौंदेखिको सङ्गतका कारण अनुभवहरू धेरै छन् । फोनमा कुरा हुँदा प्रायः हामी सोध्ने गथ्र्यौँ, कहिले आउने डा.साब ? उहाँलाई गरिने स्थायी प्रश्न थियो यो । अहिले मनले भनिरहेको छ, धेरै चाँडो भयो डा’साब ।