आधारभूत अभिनय कोर्स गरी भारतबाट फर्के कलाकार

आधारभूत अभिनय कोर्स गरी भारतबाट फर्के कलाकार


नेपाली कलाकारहरूले पहिलोपटक भारतको पूणेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा आधारभूत अभिनय सिक्ने अवसर पाएका छन् । भारतीय दूतावासको सहयोगमा बीस नेपाली युवा कलाकार बीस दिनको आधारभूत अभिनय कोर्स पूरा गरेर गत आइतबार स्वदेश फर्केका छन् । तालिम लिएर फर्केका कलाकारलाई भारतीय दूतावासले सोमबार बिहान विशेष स्वागत गरेको थियो । भारत सरकारले पहिलोपटक यस्तो कार्यक्रम गरेको भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले सो अवसरमा बताए । तालिमका क्रममा सहभागीले रासा थ्यौरी, सेन्स मेमोरी, इम्प्रोभाइजेसन, सिन वर्क र लिपसिंक प्लेब्याक सिकेको बताइएको छ । तालिमअन्तर्गत कन्टेम्पोररी डान्स वर्कसप, योग क्लासका साथै मुम्बईमा भइरहेको फिल्म सुटिङमा स्थलगत भ्रमण पनि गराइएको थियो ।

पूणेको फिल्म इन्स्टिच्युट निकै प्रतिष्ठित मानिन्छ । यो इन्स्टिच्युटले पहिलोपटक विदेशी सहभागीलाई यस्तो तालिम दिएको दूतावासले जनाएको छ । तालिम लिनेहरूमा मलिना जोशी, आश्मा दाहाल, संयम पुरी, मोहम्मद वासी, गीता ढकाल, सुशील उप्रेती, सरिता शाह, सविना गोपाली, परीक्षितविक्रम राणा, गोपाल ढकाल, ज्योत्स्ना योगी, शारदा अधिकारी, सुरज गराच, प्रतीक दुलाल, रोहित तामाङ, कमलराज भट्ट, डोली सरकार, सुलक्षण भारतीलगायत छन् । सो तालिम सकेपछि मनीषा कोइरालालाई बलिउडमा चिनाउने चर्चित भारतीय फिल्ममेकर सुभास घईले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

यसैबीच नेपाली चलचित्र उद्योगका हस्ती निर्माता तथा अभिनेता नीर शाहले नेपाललाई भारतीय चलचित्रको छायाङ्कनस्थल बनाउन नेपाल सरकारले प्रशासनिक झमेला घटाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । नयाँदिल्लीमा अन्तर्राष्ट्रय बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा शाहले भारतीय निर्माताले चलचित्र छायाङ्कनका लागि नेपाल जाँदा प्रशासनिक कठिनाइ भोग्नुपरेको गुनासो गरेको बताए । नेपाली दूतावासको सहयोगमा आयोजित कार्यक्रममा भारतीय चलचित्र निर्माता तथा केन्द्रीय फिल्म प्रमाण बोर्डका पूर्वअध्यक्ष पहलाज निहलानीले दिएको सुझाव उद्धृत गर्दै शाहले उक्त धारणा सार्वजनिक गरेका हुन् ।