‘लण्डनमा पहिलो कविता कन्सर्ट’ भव्य रुपमा सम्पन्न

‘लण्डनमा पहिलो कविता कन्सर्ट’ भव्य रुपमा सम्पन्न


लण्डन । एनबीसी यूकेले आयोजना गरेको कविता वाचनलार्इ कन्सर्टको रुपमा पहिलोपटक लण्डनमा भव्यताको साथ सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको नेपाली कविता तथा साहित्य विधाका विषयमा दिइएको मन्तव्यपछि कविताका वाचन मात्र गरेर पनि पहिलोपटक बेलायतको नेपाली समाजमा आसनग्रहण तथा विभिन्न वक्ताहरुका मन्तव्यहरुबाट आम दर्शकलार्इ पर्न जाने तिक्तताको खारेजी पनि गरिएको थियो ।

नेपालमा निक्कै छोटो समयमा आफ्ना शाव्दिक तथा मार्मिक आम भावका नेपाली कविता रचना गरी अत्यन्तै भावुक रुपमा वाचन गरेर प्रसिद्धि कमाएका कवि नवराज पराजुलीलार्इ यस कन्सर्टकै लागि प्रमुख रुपमा निमन्त्रित गरिएको थियो । कार्यक्रमको दौरानमा उनले लगातार लगभग दुर्इ घण्टा आफ्ना विभिन्न लोकप्रिय तथा वजनदार कविताहरुको मार्मिक तथा प्रभावपूर्ण किसिमले प्रस्तुत गरेका थिए ।

उनले आफ्ना चर्चित कविताहरु सगरमाथाको गहिराइ रुख, च्याउ, खोया, बुद्धको टाउकाको मोल ,ह्याप्पी वर्थ डे आदि कविताहरु सुनाएका थिए ।

एनबीसी यूकेले आयोजना गरेको यस महत्वपूर्ण कार्यक्रमको सहआयोजना गैरआवासीय नेपाली संघ यूकेको भाषा तथा साहित्य विभागले गरेको थियो भने कार्यक्रमको सञ्चालन कन्सर्टका संयोजक रामशरण सिम्खडा र आयोजक समितिका सदस्य समीरनाथ प्याकुरेलले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रम एक च्यारिटिको लागि गरिएकोले पनि कवि पराजुली ज्यादा उत्साहित भएको कविले शुरुमा बताएका थिए । सर्लाहीमा एनबीसी यूकेले सञ्चालन गरेको चेतना सन्देश बालगृहलार्इ कार्यक्रममा भएको खर्च कटाएर दिने भएको छ जसको मोटामोटी १६ लाख नेपाली रुपैंया उठेको बताइएको छ । एनबीसी यूकेले उक्त बालगृहमा तीसौं अनाथ बालबालिकाहरुलार्इ शिक्षादीक्षासहित हुर्काइंदै आएको छ जससम्वन्धी लगभग ९ मिनेटको भीडीयो देखाइएको थियो ।

कविता कन्सर्टमा बेलायतको नेपाली समाजमा कविता वाचन गरेर जनमानसमा जानिएका नृपेश उप्रेती, मन्जु खरेल, फणिन्द्र भट्टरार्इ, जगत नवोदित, नारायण गाउँले र रमेश कायस्थले पनि आआफ्ना कविता सुनाएर कवि पराजुलीलार्इ साथ दिएका थिए ।

अत्यन्तै शान्त अनि सौम्य वातावरणमा चुस्त तथा छरितो किसिमले आयोजित सो कार्यतक्रमलार्इ चार दर्जन जति दाताहरुले आर्थिक सहयोग गरेका थिए जसमा सयौं दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमलार्इ आयोजक संस्थाका अध्यक्ष मिलन घिमिरेले धन्यवाद व्यक्त गरेका थिए ।

– प्रकाश के.सी. लण्डनबाट