जीवन मरणको दोसाधमा गोरखकाली टायर उद्योग

जीवन मरणको दोसाधमा गोरखकाली टायर उद्योग


गोरखास्थित गोरखकाली रबर उद्योग जीवन मरणको दोसाधमा पुगेको छ । उद्योगको लागत खर्च र पुँजीको अभाबमा उद्योग यो स्थितीमा आइपुगेको हो ।

नेपालकै एक मात्र रबर उद्योगको रुपमा विख्यात गोरखकाली रबर उद्योग अहिले पुर्ण रुपमा बन्द छ । उद्योग बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा ६ सय रोपनीमा फैलिएको यो उद्योग विगत ३ वर्षदेखि बन्द अवस्थामा छ । उद्योगको लागत खर्च बढेसँगै पुँजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो ।

यता, उद्योग बन्द अवस्थामा पुगेपछि संचालक समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले उद्योग मन्त्रालयका सहसचिव ऋषिराज कोइरालको संयोजकत्वमा एक समिति गठन गरी उद्योगको अवस्थाबारे अध्ययन गर्न ४५ दिनको समयसीमा समेत दिएको छ । ‘समितिले काम शुरु गरेको एक हप्ता भयो ।’ संयोजक कोइरालाले भने, ‘समितिले स्थलगत अध्ययन गरी संचालन गर्न सकिने नसकिने अवस्थाबारे अध्ययन गर्नेछौं ।’

२०४१ सालमा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड नाघेको उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तोला बताए । ‘उद्योग चलाउनको लागि चालु पुँजीको अभाब छ ।’ उनले भने, ‘एकसातालाई पुग्ने कच्चा पदार्थ त छ, तर उद्योग संचालन हुने वातावरण नै छैन ।’

स्थापनाकालमा करिब ३० करोड रुपैयाँ लगानी रहेको उद्योगले कर्मचारीलाई नियमित तलब खुवाउन मात्रै वार्षिक १२ करोड खर्च लाग्ने उनले बताए । महाप्रबन्धक बर्तोलाका अनुसार चालु पुँजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता र चर्को ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको हो ।

बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको महाप्रबन्धक बर्तोलाको भनाई छ ।