चैते दशैँ बाग्लुङै हरर, भेटौँ साथी लुभेन सहर…

चैते दशैँ बाग्लुङै हरर, भेटौँ साथी लुभेन सहर…



– डिल्लीराम अम्माई

बाग्लुङ समाज बेल्जियमले चैते दशैँ धुमधामसँग मनाउने भएको छ। बेल्जियमको लुभेनस्थित ओन्ज हाउसमा २६ मार्चका दिन नयाँ वर्ष २०७५ लाई समेत स्वागत गर्दै चैते दशैँ मनाउन लागिएको समाजले एक सुचनामार्फत प्रष्ट्याएको हो । समाजले उक्त सांस्कृतिक कार्यक्रमसहित हुने शुभकामना आदानप्रदान कार्यक्रममा सबै नेपालीलाई सहभागी हुन आग्रह समेत गरेको छ्र ।

बाग्लुङ समाजको अहिले अन्तर्राष्ट्रिय सञ्जाल ब्यापक बन्दै गैरहेको छ। जापान, युएइ, हङकङ, ग्रेटब्रिटेन, क्यानडा लगायत धेरै देशहरुबाट बाग्लुङ समाजले थुप्रै परोपकारी अभियान सञ्चालन गर्दै आइरहेको छ। त्यस्तै, बेल्जियमको बाग्लुङ समाजले पनि यी र यस्तै परोपकारी अभियानहरुमा साथ दिँदै आएको छ।

परोपकारी अभियानलाई मध्यनजर गर्दै बाग्लुङमा परम्परादेखि मनाइँदै आएको चैते दशैँलाई हरेक वर्ष बेल्जियममा पनि मनाइँदै आएको छ। बाग्लुङमा लाग्ने चैते दशैंको झल्को मेटाउन यसपटक प्रख्यात लोक कलाकार सकुन्तला थापा, बालाराम पुनको उपस्थितिमा कार्यक्रम हुने समाजका महासचिव परमानन्द सापकोटाले बताए ।

चैते दशैमा बाग्लुङ कालिका भगवती मन्दिरमा ठुलो मेला लाग्नुको साथै उक्त अवसरमा लोक संस्कृतिसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने परम्परा रहेकोले यसैको सम्झनामा बेल्जियममा रहेका बाग्लुङवासी नेपालीहरुले पनि समाजको स्थापनादेखि नै चैते दशैँ पर्व मनाउन शुरु गरेका हुन् ।

लगभग दुई सय चौवालिसको संख्यामा बाग्लुङवासी बेल्जियममा रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ । बाग्लुङ जिल्लामा विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्ने सोचका साथ मनाइन लागेको यो उत्सवको अर्को उद्धेश्य बेल्जियम बसाइको क्रममा रहेका बाग्लुङेहरु बीच एकआपसमा चिनजानी, सहयोग आदानप्रदान तथा भातृत्वको भावनाको विकास गर्नु पनि रहेको बुझिएको छ। एकै भौगिलिक जिल्लाका वासिन्दाहरुको बीच यस्ता कार्यक्रमहरुले जिल्लावासीको एकतालाई मजबुत बनाउदै लाने आयोजकहरुको मत रहेको देखिन्छ।

आयोजकले १५ युरो टिकट दर कायम गरेका छन् भने त्यो टिकटले खानपिनको साथै सांस्कृतिक कार्यक्रमको भरपुर आनन्द उठाउन पाउने छन्। बचेको पैसा बाग्लुङका स्वास्थ्य र शिक्षामा आर्थिक पहुँच नहुनेहरुलाई सहयोग प्रदान गर्न लागिएको ५० लाखको अक्षयकोषमा राखिने बताइएको छ। त्यो कोषको समेत छिट्टै घोषणा गरिने जानकारी समाजका अध्यक्ष गङ्गा शर्मा आचार्यबाट थाहा हुन आएको छ।

२६ मार्च दिनको २ बजेबाट शुरु हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन बेनेलक्सका नेपाली राजदुत लोकबहादुर थापा समेतको उपस्थितिले च्यारिटी कार्यक्रमको गरिमा अझै बढ्ने आशा अध्यक्ष शर्माले ब्याक्त गरे। बेल्जियमको शैक्षिक केन्द्र लुभेनको क्केसोलो हलमा हुने चैते दशैँ परोपकारी कार्यक्रमलाई सबैको लागि खुल्ला गरिएको भन्दै समयमै उपस्थित भएर सांस्कृतिक कार्यक्रमको आनन्द उठाउन समाजले सबै नेपाली र शुभचिन्तकहरुलाई आह्वान गरेको छ।