कल्पना र भोगाइको सुन्दर संयोजन : अर्जुनदृष्टि -दीपकमणी ‘दाजुभाइ’

कल्पना र भोगाइको सुन्दर संयोजन : अर्जुनदृष्टि -दीपकमणी ‘दाजुभाइ’


ऊ पेसाले चिकित्सक हो । मानिसको स्वास्थ्यको ख्याल गरेर नै उसका अक्सर समयहरू बित्छन् । मानिसलाई स्वस्थ बनाउन ऊ हरदम क्रियाशील रहन्छ । उसलाई मानिस स्वस्थ भएर मात्र हुन्छ जस्तो लाग्दैन, मानिस असल पनि हुनुपर्छ भन्ने उसको सोच छ । यही भएर ऊ साहित्यमा पनि छ । साहित्यमा उसको क्रियाशीलता असल मानिस निर्माणको प्रयास पनि हो । साहित्यमा उसले लघुकथा लेखिरहेको छ । छोटा-मसिना कथाहरूमा ऊ असल मानिसको कल्पना गर्छ । उसले आफ्ना कल्पनाहरूलाई अझ प्रभावकारी बनाउन लघुकथामा झट्का दिने खालले प्रस्तुत गर्ने गरेको छ ।
पेसाले चिकित्सक र लघुकथाको क्षेत्रमा स्थापित नाथ डा. रविन्द्र समीर आजको हाम्रो चर्चाको विषय हो । उसको पछिल्लो लघुकथासङ्ग्रह अर्जुनदृष्टि भर्खरै बजारमा आएको छ । छोटा एक सय आठ लघुकथा समेटिएको यस कृतिमा मानिसलाई असल र इमान्दार बनाउने प्रयास गरिएको छ । मानवतावादी अधिकांश लघुकथाले समयको तस्बिरलाई उतारेका छन् । अझ कति कथाहरूमा सामाजिक विचलन र विसङ्गतिलाई प्रहार गरिएको छ ।
डा. समीर चिकित्सकको क्षेत्रमा जति व्यस्त छन् त्यति नै रूपमा लघुकथामा पनि क्रियाशील स्रष्टा हो । उसले छोटो समयमै चारवटा लघुकथाका कृति प्रकाशित गरिसकेको छ भने अन्य विधाको त कुरै बेग्लै । नियात्रामा उसको जोडदार कृति यसअघि नै बजारमा आएको हो । तर, आजको सर्न्दर्भ लघुकथाको हो । रवीन्द्र समीरको लेखन र उसका विशेषतामा आज हामी केन्द्रित छौँ ।
अर्जुनदृष्टिभित्र रहेका सम्पूर्ण लघुकथाहरू स्तरीय र लेखकीय कौशलले विशिष्ट छन् । कथाको विषयवस्तु चयनमा रवीन्द्र चनाखो छ । उसले कथालाई चुस्तदुरुस्त बनाउन दुरुह शब्दहरू राखेको छैन । सहज र सरल शब्दहरूमा उसले वर्तमान सामाजिक विसङ्गतिप्रति तीव्र प्रहार गरेको छ । ऊ आममानिसको पक्षमा छ र आममानिसको खुसीका खातिर कथाहरू लेखिरहेको छ ।
रवीन्द्रको अर्को रमाइलो पक्ष हो- विषयवस्तुलाई उसले हेर्ने दृष्टिकोण अरूभन्दा भिन्न छ । ऊ विषयवस्तुलाई एकतर्फाट मात्र हेर्दैन, फरक-फरक कोणबाट कसरी बुझ्न सकिन्छ भन्ने ऊ हरदम सचेत छ । कथाको विषयवस्तुलाई पगार्ने उसको खुवीकै कारण ऊ लघुकथामा बिर्सनै नहुने नाम बनेको पनि हो ।
विभिन्न समयमा फरक-फरक कृतिमार्फ पाठकसमक्ष पुग्ने गरेका रवीन्द्र छापाहरूमा पनि त्यत्तिकै छाएको लेखक हो । लामा कथाको सट्टा लघुकथामा क्रियाशील रवीन्द्रले लघुकथामा आफ्नो भिन्न परिचय पनि बनाएको छ । उसका कथामा मानिससँग जोडिएका यावत् सर्न्दर्भहरू छन् । जस्तो सामाजिक, राजनीतिक, वैयक्तिक प्रसङ्गहरूमा उसले पटक-पटक लघुकथाहरू लेखेको छ । त्यति मात्र कहाँ हो र उसले विकृतिहरूमाथि, भ्रष्टाचार, चाकडीचाप्लुसीको बढ्दो प्रवित्तिमाथि, देशलाई भड्खालोतिर लग्ने नेता र दलहरूप्रति ऊ कडा रूपमा प्रस्तुत भएको छ । असल समाज बनाउन असल मानिस तयार पार्नुपर्छ भन्ने मान्यताबाट ऊ प्रभावित छ । त्यही भएर पनि रवीन्द्र आफ्नो लेखनमा असल मानिसको कल्पना गर्छ चुक्दैन । उसले गरेको कल्पना र उसले भोगेको यथार्थको सुन्दर संयोजन हो- अर्जुनदृष्टि ।
अर्जुनदृष्टिमा केही भुल्ने नसकिने लघुकथाहरू छन् । सहिदकी आमाले पछिल्लो समय भएको राजनीतिक परिवर्तन र त्यसपछि बढेको दण्डहीनताको स्थिति, सोझा निमुखाले भोग्न बाध्य अपमानजडित पीडा, परिवर्तनका लागि क्रियाशील र जीवनको आहुती दिनेहरूका परिवार र तिनले भोग्नुपरेको ज्यादतीलाई सहिदकी आमामा प्रस्तुत गरिएको छ । मान्छेको बलिदानको खुल्लमखुला उपेक्षा गर्ने नेता र तिनका दलहरूको बदमासीलाई लघुकथाकार रवीन्द्रले पटक-पटक विभिन्न लघुकथाहरूमा प्रस्तुत गरेको छ । त्यसो त बाजा, अर्जुनदृष्टि, नेताजीको उपचार, सङ्घीयता, आराम, चिडियाखाना, बुबा र बुबाहरू, रहस्य, चासो कम रोचक छैनन् । बाजा लघुकथामा त साहिँलो दमाईलाई एउटा मिथको रूपमा लेखकले ल्याएको छ । त्यसपछि थपिने परिवर्तन र परिवर्तनले ल्याउने तामझामका बीच साहिँलो दमाई अबिर दल्ने हैसियतसम्म पुग्छ र ठ्याक्कै फेरिन्छ स्थिति । यो लघुकथामा बाजालाई पनि बहुत सुन्दर तरिकाले प्रस्तुत गरिदिएको छ । बाजा कसको बजाउने या आफैं बाजाजस्तो बज्ने- यो चमत्कारिक रूपमा देखाइएको छ ।
लघुकथाको धर्म र यसको मान्यतामा सबै कथाहरू ठडिएका छन् । सबै कथाले साङ्केतिक र प्रतिकात्मकताको अन्तरसंरचनालाई पछ्याएका छन् । अझ रवीन्द्रको लेखन कौशलले कथालाई आकर्षक बनाएको छ । हो रवीन्द्रका लघुकथाका पनि केही सीमाहरू छन् । केही कमजोरीहरू नभएका होइनन् । तर, लेखन कौशलमा रहेको चमत्कारिकताले ती सीमा र कमजोरी छोपिएका छन् । हामीलाई लाग्छ, रवीन्द्रको सफलता पनि यही हो ।
उसले आफ्ना कमजोरीहरूलाई लेखन कौशलको सुन्दर लेपले छोपेको छ । ऊ मानिसलाई पटक-पटक दु:ख दिइरहने राजनीतिक भ्रष्टता र सत्ताको दुरुपयोग गर्ने नेताहरूप्रति अक्सर खनिएको छ । सामाजिक विषमता, आर्थिक दूरावस्था, आफ्नैबाट मिल्ने घात र अविश्वासले कथामा प्रधानता पाएका छन् ।
कम शब्दको प्रयोग र सानो संरचनामा शक्तिशाली कथा लेख्न सक्नु रवीन्द्रको विशेषता नै हो । ऊ आफ्नो व्यावसायिक व्यस्तताका बाबजुद पनि कथाहरू लेखिरहेको छ । छोटा र साङ्केतिक लघुकथाहरूले मानिसमा झट्का दिन सक्ने कुरालाई नकार्न पनि सकिँदैन । उसका अधिकांश कथाले पाठकको मथिङ्गललाई खलबल्याइदिन्छ । पाठकमाथिको यही खलबली नै रवीन्द्रका लघुकथाका सक्षमताको प्रमाण पनि हो ।
यी सब भएर पनि रवीन्द्रका इमान्दार र शुभचिन्तक पाठकले अर्जुनदृष्टिमा केही खल्लोपन महसुस गर्नेछन् । त्यसको मुख्य कारण हो, अर्जुनदृष्टिभित्र अधिकांश लघुकथाहरू पहिल्यै अन्य सङ्ग्रहमा आइसकेका लघुकथाहरू नै छन् । यस सङ्ग्रहमा मुस्किलले दुई दर्जन लघुकथा नयाँ होलान् । अन्य सबै लघुकथा यसअघिका उसकै पहिलेका सङ्ग्रहहरूमा आइसकेका छन् ।
त्यसो त रवीन्द्रले आफ्नो पछिल्लो कृतिलाई आफ्ना प्रतिनिधि लघुकथाहरूको सङ्ग्रह मानेको छ । त्यस अर्थमा नयाँ पुराना लघुकथाहरू एकसाथ हुनुलाई स्वाभाविक मान्न पनि सकिन्छ ।
रवीन्द्रले लघुकथालाई नीतिकथा र चुट्किला हुनबाट जोगाएको छ । लघुकथालाई लघुकथाकै स्तरमा जोगाउनु पनि चानचुने कुरा होइन । लघुकथाको स्तरमा लेखिएका यी सबै कथाहरूले रवीन्द्रलाई थप सक्षम बनाएको छ ।
नोपाली लघुकथाको क्षेत्रमा रवीन्द्र बिर्सन नसकिने स्रष्टाका रूपमा दर्ज भएको छ । यो कृति त्यही कुराको थप प्रमाण हो । अर्जुनदृष्टिले नेपाली लघुकथाको क्षेत्रमा आफ्नो गहकिलो उपस्थितिलाई थप प्रस्ट पारेको छ ।