प्रचण्डले किन दिए यस्तो गम्भीर अभिव्यक्ति ?

प्रचण्डले किन दिए यस्तो गम्भीर अभिव्यक्ति ?


बेलाबेलामा अमूर्त तथा काल्पनिक अभिव्यक्ति दिएर आमनागरिक एवम् देशदुनियाँलाई नै भ्रमित पार्न सफल रहँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः त्यस्तै एक अभिव्यक्तिको पासो थापेका छन् । आफ्नो कमजोरी ढाकछोप गर्नुपर्दा प्रायः अनौठा र अविश्वसनीय अभिव्यक्ति दिएर सबैको ध्यान मोड्न खोज्ने ‘प्रचण्ड-सूत्र’ अब एउटा प्रवृत्ति नै बनिसकेको छ । यसैको पछिल्लो उदाहरण आज राजधानीमा आयोजित एक कार्यक्रममा देखियो ।

आज राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा महत्वपूर्ण अतिथिका रुपमा निम्त्याइएका प्रचण्डले नेपालमा फेरि रक्तपात गराउने कोशिश भइरहेको भन्ने अमूर्त अभिव्यक्ति दिएर माहोल तरंगित तुल्याउन खोजे । रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास : एक मार्क्सवादी दुष्टिकोण’ नामको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनी पुस्तकले समेटेका विषयवस्तुमा केन्द्रित हुनुको साटो राजनीतिक विषयमै बहकिए । उनले दाबी गरे, ‘नेपालमा वाम गठबन्धनले बहुमत ल्याएसँगै ठुला हत्याकाण्डको षड्यन्त्र भइरहेको छ । जनताको तागतले पराजित भए पनि देशका प्रतिक्रियावादीहरुले अन्तिम लडाइँ लड्न कोशिश गरिरहेका छन् ।’

प्रचण्डको हाइटका नेताबाट यस्तो अभिव्यक्ति आएपछि सुन्नेहरुले नपत्याउने कुरा भएन, तर यस्तो गम्भीर दाबीलाई पुष्टि गर्ने आधारचाहिँ के त ? यसको जवाफ भने वक्ता प्रचण्डसँग छैन । उनले राणाकालको उदय या राजनीतिक परिवर्तनका क्रममा यस्ता घटना भएका उल्लेख गर्दै ‘वाम गठबन्धनले नेपालमा ६० प्रतिशत भन्दा धेरै मत ल्याएपछि प्रतिक्रियावादीबाट अन्तिम लडाइँका लागि दरबार हत्याकाण्ड र मदन भण्डारीको हत्या जस्तै हत्यासम्म हुन सक्छन्’ भन्ने अनुमानित कुरालाई साँच्चैजस्तो गरी प्रस्तुत गरिदिए ।

एमालेसँग पार्टीगत एकताको उत्कर्षतिर पुगिसकेका प्रचण्ड यतिबेला आफ्नै पार्टीभित्रबाट अप्ठ्यारोमा परेका छन् । आफूलाई सही माओवादी या सच्चा कम्युनिष्ट दाबी गर्नेहरुको कित्ताबाट प्रचण्डको कठोर आलोचना भएको छ । संसदवादी दलमा रुमान्ततरण भइसकेको एमालेजस्तो पार्टीमा माओवादी केन्द्रलाई विलय गराएर प्रचण्डले आफूलाई पूर्ण रुपले स्खलित तुल्याएको सो कित्ताको आरोप छ ।

यसरी आफ्नैहरुबाट आफ्नो विरोध चर्किन थालेपछि रन्थनिएका प्रचण्ड विरोधि पक्षको ध्यान मोड्न अनेक प्रयत्न गरिरहेका छन् । ठूला हत्याकाण्ड रचिन लागेको जस्ता अभिव्यक्ति दिएर उनी आफ्नो विपक्षमा निर्माण भइरहेको माहोल धमिल्याउन चाहन्छन् भन्ने स्पष्टै छ । आश्चर्यको विषयचाहिँ के छ भने प्रचण्डका जस्तोसुकै या जुनसुकै स्तरका अभिव्यक्ति पनि आमतप्कामा राम्रैसँग बिक्दै आएका छन् । यसैले प्रचण्डको कुटिल राजनीतिलाई टिकाइरहेको पनि छ ।