अष्ट्रेलियामा हुने कान्छीको कमाई नेपालको शिक्षा क्षेत्रमा

अष्ट्रेलियामा हुने कान्छीको कमाई नेपालको शिक्षा क्षेत्रमा


राजन घिमिरे, सिड्नी

प्रवासमा यतिबेला नेपाली सिनेमाको बजार बढ्दो छ । त्यसमाथि पनि अष्ट्रेलियामा त नेपाली सिनेमाले आफ्नो बजारलाई विशेष रुपले नै बिस्तार गरेको पाइन्छ । यहाँ विभिन्न सामाजिक सेवाका उद्देश्यले पनि चलचित्रहरू ल्याइन्छ र प्रदर्शन गरिन्छ । विशेष गरेर ब्यवसायिक उद्देश्य बोकेर चलचित्रहरूको प्रदर्शन भैरहेको अहिलेको समयमा सिड्नीमा रहेको फोर नेशनस् इन्टरनेशनलले भने नेपाली चलचित्रको प्रदर्शन विशुद्द रूपमा सामाजिक उद्देश्यले गरेको छ । फोर नेशनस् इन्टरनेशनलले हालै मात्र दुई नयाँ नेपाली चलचित्र अष्ट्रेलिया भित्र्याएर सामाजिक क्षेत्रमा अगाडि बढ्ने सोचलाई कार्यान्वयनमा उतारोको छ ।

यस संस्थाले दुर्इवटा चलचित्र कान्छी र शत्रु गतेको अष्ट्रेलिया-अधिकार किनेको हो । ‘हामी यि दुई चलचित्रको प्रदर्शनबाट उठेको सबै नाफाको रकम सामाजिक क्षेत्रमा लगाउँछौँ’, मन केसीले भने । केसीले आफूहरूले नाफा गर्न वा कमाउन चलचित्र नल्याएर अष्ट्रेलियावासी नेपालीहरूलाई राम्रो चलचित्र पनि देखाउनी र सामाजिक क्षेत्रमा उहाँहरूको साथ र सहयोग पनि मिलोस् भन्ने उद्देश्य रहेको बताए ।

भोली शनिवार र पर्सी आइतबार कान्छी चलचित्रको सिड्नीमा विशेष प्रदर्शन हुँदै छ भने त्यसपछि अर्को चलचित्र शत्रु गते प्रदर्शनमा आउने छ । यी दुबै चलचित्र प्रदर्शनबाट आएको रकम मध्य खर्च कटाएर आएको सबै नाफा नेपालको दुर्गम क्षेत्रमा शिक्षाको लागि ख़र्च गरिने भएको बताइएको छ ।