अष्ट्रेलियामा प्रदर्शन हुँदै स्वेताकी कान्छी

अष्ट्रेलियामा प्रदर्शन हुँदै स्वेताकी कान्छी


-राजन घिमिरे/सिड्नी

नेपाली सिनेप्रेमी दर्शकहरूबाट वाहवाही र प्रशंसा कमाएको चलचित्र कान्छी अब अष्ट्रेलियामा रहेका नेपालीमाझ प्रदर्शन हुने भएको छ । कान्छी चलचित्रको अष्ट्रेलिया अधिकार किनेको फोर नेशन इन्टरनेशनलका प्रमुख मन केसीले अष्ट्रेलियावासी नेपालीहरूको चाहनालाई ध्यानमा राखेर कान्छीलाई अष्ट्रोलिया ल्याएको जानकारी दिए ।

यहाँको नेपाली समाजमाझ मन केसी पहिलोपटक नेपाली चलचित्र अष्ट्रेलिया भित्र्याउने नेपालीक रूपमा पनि चिनिन्छन् । उनले २० वर्षअगाडि पहिलोपटक चलचित्र बलिदान अष्ट्रेलिया ल्याएका थिए । ‘चलचित्र कान्छी २४ फ्रेबुअरीमा सिड्नीको हर्सभिलको इभेन्ट सिनेमा र २५ फ्रेबुअरीमा बरूणको इभेन्ट सिनेमामा प्रदर्शन हुने छ’, फोर नेशनका बजार ब्यबस्थापक कोमल पाठकले जानकारी दिए ।

नेपालमा सोचेभन्दा राम्रो सफलता हात पारेपछि निकै हौसिएकी निर्मात्री एवम् नायिका श्वेता खड्काले नेपालबाटै भनिन्- ‘देश तथा बिदेशमा रहनुभएका नेपालीहरूका लागि चलचित्र कान्छी बनाएकी हुँ । तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, सबैतिरबाट साथ र माया पाउने विश्वासमा छु ।’

श्वेता खड्काको साथमा दयाहाङ राईको प्रमुख भूमिका रहेको यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रलाई राजनराज शिवाकोटीको गीत संगीतले थप चर्चामा ल्याएको छ ।

साउदन एकेडेमीको प्रस्तुतिमा अष्ट्रेलिया आउन लागेको कान्छीले नेपालमा सफलताको स्वाद चाखिसकेको छ । नेपालको चर्चा सेलाउन नपाउँदै तात्तातैअष्ट्रेलियामा यो चलचित्र हेर्न पाइने भएबाट अष्ट्रेलियावासी नेपालीहरूको मन पनि फुरूङ्ग भएको छ- ‘फ़्रेश चलचित्र हेर्न पाउँदाको मज्जा नै बेग्लै’ दर्शकहरूको भनाई छ । ‘राम्रो र स्तरिय चलचित्रलाई अष्ट्रेलिया ल्याउने हाम्रो उद्देश्यमा हामी सफल भएका छौँ। चलचित्र हेरेर हाम्रो उद्देश्यमा साथ दिनुहुन सबैलाई आग्रह गर्दछु’, मन केसी ले भने । सिड्नीको चलचित्र प्रदर्शनको ब्यवस्थापन भने सायन इन्टरटेनमेन्टले गरेको छ ।