बेलायतमा ‘उल्झन’को रेड कार्पेट प्रिमियर हुँदै

बेलायतमा ‘उल्झन’को रेड कार्पेट प्रिमियर हुँदै


सपनाहरू बोकेर बिदेसिएको एउटा युवाको भोगाई र उक्त युवकको सो कदमले उसको परिवार र समाजलाई पारेको उल्झनलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमियर आगामी मार्च १८ को साँझ बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ । त्यसलगत्तै त्यस्तै लण्डनको ह्यारो फुटबल क्लब साउथ ह्यरोमा पनि मार्च २५ का दिन र साथै रेडिङ, स्विडन, बेजिङस्टोक, ननिनटङ, बर्मिङघम, योर्क तथा स्कटलैंड लगायतका स्थानमा चलचित्रको प्रदर्शन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् ।

चलचित्रमा बेलायतवासी नायक ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायतका कलाकरहरूका अभिनय रहेको छ । आशुतोष फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्र उल्झनमा राजु अधिकारीको निर्देशन रहेको छ भने चलचित्रको प्रस्तुतकर्तामा तेजेन्द्र कँडेल, कार्यकारी निर्मातामा नारायण ढुङ्गाना र निर्माताहरूमा हरिकृष्ण कार्की र नवीन अधिकारी रहेका छन् । आयोजकका अनुसार बेलायतको अलावा यूरोपका विभिन्न देशमा उल्झन प्रदर्शन गरिने छ । नेपालको प्रदर्शन मिति छिट्टै तय गरिने बताइएको छ ।

ध्रुव दत्त हङकङ हुँदै बेलायत आएका युवा हुन् । हङकङमा नै निर्माण गरिएका नेपाली चलचित्रमा मुख्य भूमिकामा अभिनय गरिसकेका दत्तले बेलायतमा अझ ज्यादा सक्रियताका साथ विभिन्न नेपाली चलचित्रका साथै नाटक अनि गीतहरूमा अभिनय गरिसकेका छन् । ध्रुवद्वारा अभिनित चलचित्रहरूमा द प्लान, विष, वीरताको चिनो, मृगतृष्णा, नाइन ओ क्लक, निर्दाेष, आवेग, तीन घुम्ती, उल्झन आदि रहेका छन् ।

– प्रकाश केसी (लण्डन)