‘मुलुक निर्माण दशक’ घोषणा गर्न आग्रह

‘मुलुक निर्माण दशक’ घोषणा गर्न आग्रह


‘मुलुक निर्माण दशक’ घोषणा गर्न केपी ओली नेतृत्वको सरकारलाई निजी क्षेत्रले सुझाव दिएको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले ०७५ देखि २०८५ लाई ‘मुलुक निर्माण दशक’ घोषणा गरेर आर्थिक गतिविधि संचालन गर्न सरकारलाई सुझाव दिएको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघले कमजोर अर्थतन्त्रलाई माथि उठाउन आर्थिक गतिविधिलाई सशक्त रुपमा बढाउन ‘मुलुक निर्माण दशक’ घोषणा गर्न नयाँ सरकारलाई सुझाव दिएको छ ।

हालको अर्थतन्त्र सन्तोषजनक नरहेको मुलुकको चालु खाता र शोधनान्तर अवस्था ऋणात्मक रहेको अवस्थामा सरकारले भने जस्तो समृद्धि नेपाल बन्न नसक्ने भन्दै महासंघले १० वर्षसम्म आर्थिक गतिबिधि पूर्वाधार विकास, पर्यटन, उर्जाको विकासमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ ।

महासंघले प्रादेशिक तथा संघीय सरकारहरुले औद्योगिकरणको विकास र विस्तारलाई केन्द्रित गर्दै स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न नीतिगत सुनिश्चितता र लगानी सुरक्षा हुने कार्यक्रम तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले लगानी मैत्री वातावरण निर्माण र उद्योगको क्षमता वृद्धि गर्न प्रोत्साहन र सुबिधाको कार्यक्रम घोषणा गर्नु पर्ने माग पनि गरेकी थिइन् ।
महासंघले आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्रयाउन पनि सरकारलाई सुझाव दिएको छ ।