एमाले सांसदले दिए राजीनामा

एमाले सांसदले दिए राजीनामा


मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै शाहीले राजिनामा दिएको बुझिएको छ ।

राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं झरेका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका छन् । त्यस्तै पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउन लागेको शाहीले बताए ।

एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी परेनन् । त्यसपछि उनले अपमानित महशुस गर्दै राजीनामा दिएको बताए ।