सामाजिक सञ्जालमा छचल्कियो मारिनको सौन्दर्य

सामाजिक सञ्जालमा छचल्कियो मारिनको सौन्दर्य


स्पेनकी ब्याडमिन्टन सुन्दरी केरोलिना मारिनको खेलजीवन जति साधा छ व्यक्तिगत जीवन त्यति नै रङ्गीन छ । ब्याडमिन्टन कोर्टमा मारिन निकै सीधासाधा देखिन्छिन्, तर उनको व्यक्तिगत जीवन कति ग्ल्यामर छ सायद पत्याउन गाह्रो पर्छ । कोर्टमा भन्दा निकै फरक देखिने मारिनको खुलापन यतिबेला चर्चाको विषय बनेको छ । उक्त खुलापनमा मारिनको सौन्दर्य छचल्किएको छ । जसमा मारिन एक विश्वचर्चित खेलाडी नभई सुपर मोडल र कुनै फिल्मको हिरोइनभन्दा कम देखिएकी छैनन् । हालै उनले एउटा समुद्रको किनारामा खिचाएका तस्बिरहरू भाइरल बनेका छन् ।

ब्याडमिन्टनमा एसियाली मुलुकको वर्चश्व तोड्दै मारिन पहिलोपटक विश्व नम्बर एक महिला खेलाडी बनेकी थिइन् । मारिनले नम्बर एक खेलाडी बन्दा चीन, जापान, कोरिया र इन्डोनेसियाका चर्चित खेलाडीलार्ई पछि पारेकी थिइन् । ब्याडमिन्टनको विश्व नम्बर एक खेलाडी बनेपछि सन् २०१६ मा ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा मारिनले स्वर्ण पदक जितेर आफू विश्वको नम्बर एक खेलाडी भएको प्रमाणित गरेकी थिइन् । निकै सनसनी र प्रतिस्पर्धात्मक खेलमा मारिनले भारतकी पीबी सिन्धुलार्ई पराजित गरेर ओलम्पिक च्याम्पियन बनेकी थिइन् । यो विजयसँगै ओलम्पिकमा स्वर्ण पदक जित्ने मारिन पहिलो गैरएसियाली खेलाडी बनेकी थिइन् ।

स्पेनमा फुटबल र लनटेनिस जति लोकप्रिय छ, ब्याडमिन्टन ती खेलको तुलनामा निकै पछाडि छ । यस्तो अवस्थामा पनि मारिनले स्पेनलार्ई ओलम्पिकमा ब्याडमिन्टनतर्फ स्वर्ण पदक दिलाएकी थिइन् । जुन स्पेनका लागि अकल्पनीय र अविश्वसनीय थियो । मारिनले ब्याडमिन्टनमा ओलम्पिकमा स्वर्ण पदक जितेपछि अहिले ब्याडमिन्टन स्पेनमा पनि लोकप्रिय बनेको छ । स्पेनलार्ई ओलम्पिकमा स्वर्ण पदक दिलाएपछि उनलार्ई स्पेनको ‘नाडल गर्ल’को संज्ञा दिइएको छ । नाडल स्पेनका टेनिसका सर्वाधिक सफल चर्चित खेलाडी हुन् ।

मारिनको जन्म १५ जुन १९९३ मा स्पेनको ह्वेल्वामा भएको थियो । उनले आईईएस ला अर्डर ब्याडमिन्टन क्लबबाट पहिलोपटक ब्याडमिन्टन खेल्न शुरु गरेकी थिइन् । मारिन २००९ युरोपियन जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा रजत पदक जित्ने पहिलो खेलाडी हुन् । सोही वर्ष मारिनले युरोपियन अन्डर–१७ मा ब्याडमिन्टन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर सनसनी फैलाएकी थिइन् । त्यसपछि मारिनले तीनपटक युरोपियन ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेर आफूलार्ई विश्वस्तरीय खेलाडी भएको प्रमाणित गरेकी थिइन् ।

विश्व ब्याडमिन्टन महासङ्घको वरीयताक्रमका शीर्ष १० जना महिला खेलाडीमा मारिनले मात्र युरोपियन खेलाडीको प्रतिनिधित्व गरेकी छिन् । पूर्व नम्बर एक मारिन अहिले विश्व वरीयताक्रममा चौथो नम्बरमा रहेकी छिन् । त्यस्तै, बायाँहाते महिला खेलाडीमा मारिन एक नम्बरमा परेकी छिन् । मारिनले आफ्नो ब्याडमिन्टन खेलजीवनमा अहिलेसम्म ३ सय ८५ खेलमा प्रतिस्पर्धा गरेकी छिन् । जसमा उनले २ सय ९२ खेलमा जित हासिल गरेकी छिन् भने ९३ खेलमा पराजित भएकी भएकी छिन् । टेनिसका चर्चित हस्ती राफेल नाडाललार्ई आफ्नो आदर्श मान्ने मारिनले दुईपटक विश्व ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेकी छिन् । मारिनले सन् २०१४ र २०१५ मा यो उपलब्धि हासिल गरेकी थिइन् ।

आफ्नो प्रेम–सम्बन्धलार्ई कहिल्यै नलुकाउने २४ वर्षीया मारिनले हालै आफ्नो ब्वाइफ्रेन्ड अलेन्जोन्डो कार्सास्कोसँग रमाइलो र चुम्बन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेकी थिइन् । जुन तस्बिर अहिले पनि निकै भाइरल बनेको छ । त्यहाँ उनले समुद्रको किनारामा आफ्ना साथीसँग रमाइलो गर्दै गरेका तस्बिर राखेकी छिन् जुन निकै सुन्दर र लोभलाग्दा छन् ।