आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राख्न सरकारलाई परिसंघको आग्रह

आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राख्न सरकारलाई परिसंघको आग्रह


आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राख्न नव गठित सरकारलाई नेपाल उद्योग परिसंघले आग्रह गरेको छ ।

परिसंघले नयाँ सरकार गठन हुनु सकारात्मक भन्दै देशले सम्पूर्ण राजनीतिक परिवर्तन पुरा गरेको अवस्थामा अब आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्न नयाँ सरकारलाई परिसंघले आग्रह गरेको हो ।

एक विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले अबको मूल बाटो आर्थिक रुपान्तरणको समात्ने पनि परिसंघले अपेक्षा गरेको छ । सबै प्रदेशमा प्रदेश सरकार गठन हुनु पनि सकारात्मक भएको परिसंघले जनाएको छ।

नेपालले २०१३ सालदेखि योजनाबद्ध आर्थिक विकासको थालनी गरेपनि मुलुक अझै अतिकम् विकसित राष्ट्रहरुकै समूहमा रहेको भन्दै परिसंघले गरिवी, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर, उच्च मुद्रास्फीति, कहालिलाग्दो व्यापार घाटा, पूर्वाधारको कमजोर अवस्था र पूँजीगत खर्चको घट्दो क्रमले अर्थव्यवस्थामा संरचनात्मक समस्या देखा पर्दै गरेका पनि उल्लेख गरेको छ ।

‘यी यावत समस्यालाई सम्बोधन गर्दै यो सरकारले औद्योगिक लगानी प्रवद्र्धनको साथै रोजगारी सिर्जनामा सुनिश्चित वातावरण कायम गरी मुलुकमा औद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूती दिने विश्वास परिसंघको छ,’ परिसंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

यस्तै परिसंघले विकासको बाटोमा मुलुकलाई लैजाको लागि विकासको मार्गचित्र कोर्न सरकारसँग निजी क्षेत्र सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।

अर्थतन्त्रलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिँदै निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक पुनः निर्माणको महाअभियान संचालन गर्ने कार्यमा नवगठित सरकार केन्द्रित हुने परिसंघको अपेक्षा छ ।