प्रवासमा यसकारण दुख्यो यी हिरोको मन

प्रवासमा यसकारण दुख्यो यी हिरोको मन


कुरा एक दशकअघिको हो । त्यतिबेला नेपाली सिनेमा क्षेत्रमा चकलेटी हिरोहरूको बोलवाला थियो । हेर्दा चट्ट मिलेको शरिर अनि हँसिलो अनुहारको बजार चलिरहेको समयमा एक नयाँ नायकको प्रवेश भयो नेपाली सिने क्षेत्रमा, ती थिए अमृतजंग बस्नेत ।

त्यतिबेला ठूलो पर्दाको चलचित्रमा प्रवेश पाउनु चानचुने कुरा मानिदैनथ्यो। अहिले जस्तो लगानी गरेर हिरो बन्ने सरूवा रोगले पनि नेपाली सिनेमालाई च्यापेको थिएन । हिरो बनेर पर्दामा जो जति उदाए अनि जतिले बिगबिगी मच्चाए, ती सबैमा तिनका आफ्नै क्षमता वा बलवुताको भूमिका रहन्थ्यो । फिल्म खेलेबापत उनीहरूले जति रकम पाउँथे त्यसैमा नै गर्व गर्थे, अहिले जस्तो १५-२० लाखको गफ हुँदैनथ्यो । तर आज काम भन्दा कुरा र गफ अनि हल्लाको खेती बढी हुन थालेको छ ।

यसक्रममा त्यतिबेलाका रियल हिरो जसले नेपाली सिनेमालाई बोकेर यहाँसम्म ल्याइपुर्याएका छन्, उनीहरूको अवमूल्यन मात्र नभई उनिहरूप्रतिको चासोमा पनि कमी आउन थालेको अनुभूति गरिन्छ । आफ्नो बैंश चलचित्र कर्ममै बिताएका र दर्शकहरूबाट स्याबासी पाउँदापाउँदै पनि यो क्षेत्रबाट टाढीन बाध्य कलाकारहरू यतिबेला गुमनामप्रायः छन् । उनिहरू कहाँ के गर्दैछन् ? कस्तो छ उनिहरूको अवस्था वा उनीहरु किन यो क्षेत्रबाट टाढिए ? यस्तै कौतुहल उब्जिरहेको बेलामा अष्ट्रेलियाको सिड्नीमा आफ्नै संसारमा रमाइरहेका गुमनाम नेपाली सिनेमाका हिरो अमृतजंग बस्नेत भेटिए ।

करिव ८ वटा चलचित्रका नायक हुन् अमृतजंग । आजजस्तो दुर्इवटा चलचित्रमा काम गर्नासाथ आफूलाई स्टार ठान्नेहरूको भिडमा निकै सरल र शालिन ब्यक्तित्व पनि हुन् उनी । अमृत सिड्नीको ग्ल्याण्ड फिल्डमा बस्छन् भन्ने बारेमा धेरैलाई थाहा पनि रहेनछ र उनले पनि आफ्नो बारेमा बखान गर्न चाहेनन् ।

विगत १० वर्षदेखि सिड्नी बस्दै आएका उनी यता पनि आफ्नै शैलीमा अगाडि बढिरहेका रहेछन् । अमृतजंगसँगको पंक्तिकारको चिनजानी पनि १० वर्ष भन्दा अगाडिदेखिकै हो । यसपटक उनसँगको भेटले धेरै तरंग पनि पैदा गरायो ।

करिव ५ घन्टा अमृतसँग बस्दा तितामिठा धेरै कुरा भए । सिड्नीमा नेपाली चलचित्रको धेरै कार्यक्रम हुन्छ, तर अमृत सहभागी भएका भेटिन्नन् ? प्रश्न खस्न नपाउँदै उनले जवाफ दिए- ‘जान मन लाग्छ तर रेस्पोन्सको डर लाग्छ । नचिने जस्तो गर्लान् कि भन्ने डर लाग्छ, मन नै मान्दैन ।’ उनले मन अमिलो बनाए ।

त्यसो त एउटा घटनाले उनको मन आजसम्म पनि दुखेको रहेछ । नेपाली सिनेमाका एक नायक सिड्नी आउँदा अमृत निकै खुशी भए । सँगै तीनवटा फिल्म खेलेको दाजुसमानका हिरोलाई प्रवासमा भेट्न पाइने भो भनेर मनभरी खुशी बोकेर फोन पनि गरे उनले, तर ती मैहुँ भन्ने हिरो ‘भाइ अहिले म बिजी छु, पछि कुरा गरौँला’ भनेर पन्छिएपछि अमृतलाई साह्रै चित्त दुखेछ । यसपछि उनले सिड्नीमा अरू कोही कलाकार आएको थाहा पाए पनि आफू यहाँ छु भनेर भन्नै छाडेछन् । सँगै एउटै चलचित्रमा काम गरेको कलाकारबाट त यस्तो ब्यबहार भयो भने अहिलेका नयाँहरुबाट झन् असजिलो ब्यबहार हुने हो कि या उनिहरूले नचिन्ने हुन् कि भन्ने कुरा मनमा राखी राखी कार्यक्रमतिर जान त्यति खुलेका छैनन् उनी ।

युद्ध, संजिवनी, चक्रव्यूह, लड़ाइँ, मन मेरो मान्दैन, फेरि तिम्रो याद आयो , ठूले, भाग्यविधाता जस्ता सिनेमामा शिव श्रेष्ठ, निखिल उप्रेती, सुशील क्षेत्री, राजेश हमाल जस्ता नायकसँग झरना ब्रजाचार्य, सन्चिता लुईटेल, विपना थापा लगायतका नायिकाहरूसँग काम गरेका अमृतले यातना, जिन्दगी, अचानक, ख़ुशी पलभरको लगायत टेलिचलचित्रहरूमा पनि बेजोड काम गरेर लाखौ दर्शक कमाएका थिए ।

एक समयका यस्ता होनहार र चल्तीका हिरो प्रवासमा गुमनाम भएको पाउँदा मन भारी भएर त आयो । तर, पाँच घण्टाको बसाई र कुराकानीपछि चाहिँ उनी अलिक सहज देखिए । केही समयपछि सिनेमा क्षेत्रमा केही गर्ने अभिव्यक्ति उनले दिए । अमृतको नयाँ सोच, योजना, उर्जा र जाँगर हेर्दा दश वर्षअगाडिका अमृत पुनः पुरानै जोशका साथ मैदानमा उत्रिनेछन् भन्ने आशा जाग्न पुगेको छ ।

– राजन घिमिरे