ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव लगिँदै

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव लगिँदै


एकता प्रक्रिया खाकालाई निष्कर्षमा पुऱ्याउन हिजो साँझ बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरे अनुसार आज विहान दश बजेभित्रै वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओलीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष हिजै बुझाइसकेको छ ।

तत्काल सरकार बनाएर बहुदलीय प्रतिस्पर्धाका आधारमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका काममा मुलुकलाई अघि बढाउन ढिला भइसकेकाले नयाँ सरकार चाँडै बन्ने धारणा वाम गठबन्धनका नेताहरुले प्रकट गर्दै आएका छन् ।

यसैगरी, एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ । कार्यदलका सदस्यहरुका नाम आज तय गरिने बताइएको छ ।

यता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले विहान ९ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । हिजो साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि आजका लागि सारिएको थियो । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।