एमाले कम्युनिष्ट हो कि प्रजातान्त्रिक हो ?

एमाले कम्युनिष्ट हो कि प्रजातान्त्रिक हो ?


दीपेन्द्रसिंह थापा

नेपाली राजनीतिमा अशोभनीय प्रयास भनौँ या राजनीतिको माध्यमबाट दलीय वा व्यक्तिगत स्वार्थपूर्ति गर्नेजस्ता घृणित एवम् निन्दनीय अभ्यासहरू हुन थालेका छन् । कुरा एउटा काम अर्को, यस ढङ्गबाट स्वार्थपूर्तितिर तम्सेका अवसरवादी खलनायकहरू खोज्न टाढा जानुपर्दैन, छ्यास–छ्यास्ती पाइन्छ । के राजनीति भनेको दलीय वा व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम मात्र हो ? कुरो सोचनीय छ । राजनीतिको जे–जस्ता सङ्कुचित अर्थ लगाए तापनि सरल र सङ्क्षिप्त रूपमा भन्नुपर्दा कुनै लक्ष्य वा उद्देश्य प्राप्तिका लागि गरिने माध्यम हो राजनीति । यसमा दलीय र व्यक्तिगत स्वार्थबाट अलग रही राष्ट्रिय हितको पक्षमा काम गर्नुपर्छ । राजनीति अर्थोपार्जनको भावना लिएर गरिनुहुँदैन । यस क्षेत्रको आफ्नै पवित्रता छ र यसलाई कुनै रक्सीभट्टीजस्तो सम्झनु पनि हुँदैन । जनसेवाको र राष्ट्रसेवाको पवित्र भावनाले अभिप्रेरित भएर मात्र यस क्षेत्रमा प्रवेश गर्नुपर्दछ ।

प्रजातान्त्रिक पद्धति र कम्युनिष्ट पद्धतिबीच आकाश–पातालको भिन्नता भएको कुरा उल्लेख गरिरहनुपर्दैन, सबैको सामु छर्लङ्ग छ । नेपाली कम्युनिष्टहरूको अगुवाइ गर्ने एमाले भने गैरकम्युनिष्ट भएको कुरा मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादले पुष्टि गर्दछ । यसले विश्व कम्युनिष्ट आन्दोलनमै भाङ्ग्राको टोपी लगाइदिएझैँ आभास हुन्छ । हिम्मतहारा प्रवृत्ति देखाइसकेको छ । कागजी रूपमा, वैधानिक रूपमा यसो हुँदाहुँदै पनि एमालेका नेताहरू अर्थात् मार्क्स र लेनिनका नेपाली चेलाहरू गरिब र निमुखा जनतासामु आफूलाई कम्युनिष्ट साबित गरेर भोट माग्नाले के देखाउँछ भने एमालेले राजनीतिलाई स्वार्थपूर्ति गर्ने माध्यमको रूपमा लिएको छ ।

यसरी गरिब निमुखा जनतालाई, आफूहरूलाई जिताएमा देशमा कम्युनिष्ट प्रणाली स्थापित गरेर सबैलाई सुन, चाँदी, बिघौँबिघा खेत, दूध खाने लैनो भैंसी, हलगोरु जोडिदिनेजस्ता सस्ता–सस्ता आश्वासन दिएर जनभ्रमको खेती गरी चुनाव जित्ने र हत्त न पत्त राजधानीमा घरघडेरीहरू जोड्ने, चिप्ला कार किन्ने गरेको कटु यथार्थता छिप्न सकिरहेको छैन । मार्क्स र लेनिनका नेपाली चेला भनाँैदाहरूले उत्तर दिनुप¥यो, यही नै कम्युनिष्टले दिने राहत हो ? किन एमालेले सोझासाझा जनतालाई आधारहीन तथ्यहरू देखाउँछ ? जनतालाई कति दिन झुक्याइराख्न सकिन्छ कुन्नि, त्यो त एमालेका नेतृत्वपङ्क्तिलाई नै थाहा होला । अर्कोतर्फ प्रजातान्त्रिक मान्ने हो भने पनि कसरी मान्नु मार्क्स र लेनिनवादी भन्नेहरूलाई ?

पहिलो कुरो त नामैले पनि दिँदैन, कामले नदिए पनि । माक्र्स र लेनिनको कस्तो प्रजातन्त्र हो ? दर्जनौँ कम्युनिष्ट दर्शनहरू पढ्दा पनि बुझ्न सकिँदैन । दोस्रो कुरा यसको व्यवहारले पनि प्रजातान्त्रिक नभएको उदाहरण दिइराखेको छ । हुन त हामीले यसको अल्पमतको सरकारको कार्यकाल पनि हे¥यौँ । त्यस समयावधिमा शिक्षा क्षेत्रजस्तो पवित्र क्षेत्रमा भएको पहिलो हमलाबाट यस्तै राजनीतिक, प्रशासनिक, सञ्चार आदि महत्वपूर्ण क्षेत्रमा गरेको दुस्प्रयासले पनि एमाले गैरप्रजातान्त्रिक भएको स्पष्टता दिन्छ । सर्वोच्च अदालतको ऐतिहासिक फैसलापश्चात् मच्चाएको उत्पातजस्ता थुप्रै–थुप्रै उदाहरण छन् ।

यथार्थमा के भन्न सकिन्छ भने एमाले गैरप्रजातान्त्रिक मात्र नभएर गैरकम्युनिष्ट पनि हो । यो कम्युनिष्ट र प्रजातान्त्रिकभन्दा पनि भिन्न पञ्चायती प्रकृतिको अवसरवादमा विश्वास राख्ने पार्टी हो । प्रजातन्त्रको यसले सदा कुभलो चिताइराखेको छ भन्ने कुरा यसको व्यवहारले स्पष्ट पार्दछ । नेपाली जनताले यसमाथि विश्वास राख्ने कुनै आधार नै भेट्टाइन्न । यसको औचित्य भनेको राजनीतिलाई सङ्कुचितताको दायराभित्र राखेर जनभ्रमको खेती गरेर अन्योल र अस्थिरतालाई निम्त्याउने, जसरी हुन्छ कुर्सी र पदलाई सर्वोपरी ठानेर त्यसैअनुरूप चल्नु हो । जुन कुरा विगतका दिनहरूले स्मरण गराउँछ । यो पनि निक्र्योल गर्ने ठाउँ छ कि एमाले कुनै दिन जनसामु नाङ्गिनेछ ।

यस अर्थमा एमालेका नेतृत्वपङ्क्तिका व्यक्तिहरूले आफ्ना कार्यकर्ता र जनसामु नक्कली रूपहरू मात्र प्रदर्शन गरिरहेको छ । एक दिन साधारण जनता र आफ्ना कार्यकर्तासमेतले यसको बनावटी र भ्रमको पर्दालाई च्यातेर वास्तविकता हेर्न पुग्नेछन्, त्यतिबेला एमाले राष्ट्रिय राजनीतिबाट पतन हुने कुरामा द्विविधा छैन । वास्तवमा लक्ष्यविहीन, आधारहीन राजनीतिक पार्टी प्रजातन्त्रका यमराज साबित हुने भएकोले यस्ता अवसरवादी पार्टीको पतन गराउनुमा नै राम्रो हुने कुरा एक दिन सबैले बुझ्नेछन् । अनि मात्र राष्ट्रिय राजनीतिको रंगमञ्चमा एमालेको सक्कली रूप प्रदर्शित हुनेछ । त्यतिबेला मात्र एमालेलाई प्रस्ट चिनिन्छ, एमाले प्रजातान्त्रिक हो कि कम्युनिष्ट हो ।

अलिकति दूरदर्शिता अपनाउन सक्ने अर्थात् विवेकशील व्यक्तिहरूले त मार्क्स र लेनिनको नेपाली चेलाहरूको द्विविधाग्रसित मानसिकताको भविष्य देखिसकेका छन् । नेपाली वामपन्थीहरूको अगुवाइ गर्ने एमाले पतनोन्मुख दिशातिर लागेको कुरा बोध भइसकेको छ । गैरकम्युनिष्ट र गैरप्रजातान्त्रिक शक्तिको संगम एमालेको सक्कली प्रजातन्त्र र मानवाधिकारको लालीपाउडर लगाउँदाको अनुहार एकपटक सबैले नियाल्नुपर्ने भएको छ । साम्यवादका कुत्सित नाराहरू बोकेर सडकमा कुर्लिन छोड्न नचाहने एमाले गरिब र निमुखा जनतालाई नौरङ्गी सपना बाँड्न र सस्ता–सस्ता आश्वासनका पोकाहरू फिँजाउन, अझैँ छाडेको छैन भने शोषक र सामन्ती भनौँदाहरूसँग त्यस्तै किसिमले आश्वासित गरेर भोट लिन खप्पीस छ ।

भोट लिनु र चुनाव जित्नुलाई मात्र सर्वोपरी ठान्ने एमाले नेताहरूको मनस्थिति बनेको छ । रगतको मूल्य तिरेर ल्याएको प्रजातन्त्रको संरक्षण र संवद्र्धन गर्नतिर अलिकति पनि चिन्तित देखिँदैन र छैन पनि । यसको राजनीति भनेको चुनाव जित्ने, कुर्सीवाला बन्ने र भत्ता हसुर्नेमा मात्र सीमित छ । अतएव एमाले नेपाली राजनीतिमा खहरे खोलाको गडगडाहट साबित भइसकेको छ । न त यो प्रजातन्त्रप्रति आबद्ध छ न कम्युनिष्टप्रति नै ।

(घटना र विचार साप्ताहिक, २०५३ वैशाख २६ गते)