नेपालमा लगानी गर्न बेलायतसँग आग्रह

नेपालमा लगानी गर्न बेलायतसँग आग्रह


बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकाष्टरलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनको महत्वपूर्ण कडी तीन वटै तहको निर्वाचन सम्पन्न भई मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका बेलायती राज्यमन्त्री ल्यानकाष्टरसँग उहाँकै निवास खुमलटारमा भएको भेटमा अध्यक्ष दाहालले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा (एमाले)सँगको एकताको प्रक्रिया अघि बढाइएको बताउनुभएको उहाँको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले नेपालको संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको समेत बताउनुभयो ।
अध्यक्ष दाहालले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा नेपाललाई पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाई समेत धन्यवाद व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा अध्यक्ष दाहालसँग रक्षा राज्यमन्त्री ल्याङकाष्टरले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायत विषयमा जिज्ञासा राख्नुभएको थियो । उहाँले नेपालको संविधानले राज्य संयन्त्रमा महिलाको प्रतिनिधित्वको व्यवस्था गरेकाले त्यसको कार्यान्वयनका पक्षका बारेमा समेत अध्यक्ष दाहालसँग छलफल गर्नुभएको थियो ।