प्रदेश नं ५ को सभामुखकालागि मनोनयन दर्ता

प्रदेश नं ५ को सभामुखकालागि मनोनयन दर्ता


माओवादी केन्द्रका नेता पुर्णबहादुर घर्तीले प्रदेश नं ५ को सभामुखकालागि मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा घर्तीले उम्मेदारी दर्ता गराएका हुन् ।

माओवादी केन्द्र प्रदेश नम्बर ५ प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपाने प्रस्तावक र नेकापा एमाले प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालको समर्थनमा घर्तीले मंगलवार सभामुखमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

घर्तीले मंगलवार बिहान १०.३० बजे प्रदेशसभा सचिवालयमा सभामुख पदकालागि मनोनयन दर्ता गराएका हुन् । उम्मेद्वारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै घर्तीले प्रदेश संसदले मलाई निर्वाचित गरे प्रचलित नियम र कानूनको अधिनमा रहेर ५ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन लागि पर्ने बताए ।

यस अघि माओवादी केन्द्रको नेताको रुपमा आफ्नो परिचय बनाउनु भएका तपाईले अब कसरी सभामुखको भुमिका निभाउनुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले सभामुखमा निर्वाचित भएमा सभामुखको हैसियतमा रहेर सबै राजनीतिक दलहरुसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिक्रिया दिए ।

सो अवसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सो पार्टीका प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपाने र नेकपा एमाले प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले फागुन ३ गते प्रदेश प्रमुखको सपथग्रहणसँगै तिन सदस्सीय मन्त्री मण्डल गठन गर्ने तयारी भएको जानकारी दिए ।

नेकपा एमाले र माओवादी केन्द्रबाट को को मन्त्री बन्ने टुंगो नलागे पनि प्रदेश प्रमुखको सपथग्रहण अगावै मन्त्रीहरुको टुंगो लाग्ने बिश्वास व्यक्त गरे । प्रदेशसभा सचिवालयले फागुन १ गते बिहान १० बजेदेखी अपरान्ह ५ बजे सम्म सभामुख पदकालागि मनोनयन दर्ता गर्ने र फागुन २ गते बुधवार बस्ने प्रदेशसभाको बैठकले सभामुखको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

फागुन २ गते सभामुख चुनियपछि सोही दिन अपरान्ह ५ बजे प्रदेश प्रमुखको सचिवालयमा सभामुखको सपथग्रहण हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।