नृत्यमा अब्बल सोनुलाई चाँदीको क्राउन

नृत्यमा अब्बल सोनुलाई चाँदीको क्राउन


– मनिता चाम्लिङ

धरानमा भएको जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय सांस्कृतिक एकल नृत्य प्रतियोगिता सिजन–३ को उपाधि लिवर्टी बोर्डिङका सोनु तामाङले जितेकी छिन् । धरान–८ स्थित सभागृहमा आयोजित प्रतियोगिताको फाइनलमा १९ प्रतिस्पर्धीहरुलाई पछि पार्दै तामाङले उक्त उपाधि जितेकी हुन् । जितसँंगै तामाङले नगद ५० हजार, नटराज ट्रफिसहित ९ तोला चाँदीको क्राउन समेत प्राप्त गरिन् ।

यसैगरी बेबीलोन बोर्डिङ स्कुल इटहरीका ज्योति खड्का दोश्रो भइन् । उनले पनि नगद २५ हजारका साथमा ट्रफि पाइन् । यसैगरी प्रतियोगितामा शिक्षा सन्देश बोर्डिङ स्कुल धरान पानवारीकी स्वेता मगर तेश्रो, कार्मेल हाईकुल धरानका करिष्ता राई चौथो र डिपोट बोर्डिङ स्कुलका सञ्जल राई पाँचौ बनिन् । बिजेताहरुलाई जनही क्रमशः १२ हजार, ५ हजार र ३ हजारसहित ट्रफि प्रदान गरिएको थियो ।

कार्यक्रममा फाइनल प्रतियोगिताअघि पहिलोचरणअन्तर्गत फिल्मी राउण्डमा वेष्टडान्सर घोषित करिष्ता राई र दोश्रो चरणअन्तर्गत मोर्डन राउण्डमा वेष्टडान्सर घोषित निहारिका लिम्बुलाई पुस्कार प्रदान गरिएको थियो । साथै प्रतियोगीहरु माझ भएको क्विज कन्टेस्टका बिजेता खुशी राई, यासिका तामाङ, सरस्वती कार्की, प्रमिला गुरुङ, चित्रकला प्रतियोगिताका बिजेता ओसिम राई, नेपाली हेण्ड राईटिङका बिजेता यासिका तामाङ र निबन्ध लेखन प्रतियोगिताका विजेता समस्कृति ढुङ्गानालाई समेत पुरस्कृत गरिएको थियो ।

युनाईटेड डान्स एकेडेमीको आयोजनामा गत ज्येष्ठबाट शुरु भएको प्रतियोगिताको फिनालेमा सुनसरीका १४ विद्यालयको सहभागिता रहेको थियो, जसमा २० प्रतिस्पर्धी फाइनलसम्म पुग्न सफल भएका थिए । प्रतियोगिताको मुख्य निर्णायकहरुमा वरिष्ठ नृत्य निर्देशक नगेन्द्र राई, मणिकुमार राई र नन्दा राई रहेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु उमा चाम्लिङ राई, विएन राई, थेसिहाङमा राई, सरिता राई लगायतले गीतहरु पस्केका थिए भने आयोजक संस्था युनाईटेड डान्स एकेडेमीको समेत नृत्य प्रस्तुति रहेको थियो ।