मुल्ला नसरुद्दीन शैलीको वाम-एकता !

292 Shares

– दीपेन्द्र पाण्डे

गत असोज १७ पछि नेपालमा कम्युनिष्ट नामका नाङ्ले–पसल घट्दैछन् भन्ने हल्ला जोडतोडसँग चलाइयो । नेताले कान्छी भित्र्याएको निहुँमा समेत पार्टी फुट्ने कम्युनिष्ट चरित्रलाई झुटो सावित गर्दै निर्माण गरिएको वाम गठबन्धन पार्टी एकतामा टुङ्गिने घोषणाले आम जनमानस र वामपन्थी कार्यकर्तामा नयाँ उर्जा थपिदियो । पद र कुर्सीबिना बाँच्न नसक्ने वामनेताका गुण वा चरित्रलाई राम्रोसँग नबुझेको नेपाली समाजले वर्तमानमा लम्बिदै गरेको वाम एकताको रहश्य बुझ्न मुल्ला नसरुद्दीनको नीति कथा पढ्नैपर्ने बाध्यता आइलागेको छ । आफ्नो सामानप्रति अत्यन्त लोभी मुल्ला नसरुद्दीन अचानक कम्युनिष्ट भएको हल्ला सुन्नासाथ बाल्यकालदेखिको एक मित्र मुल्लालाई भेट्न घरै पुग्यो ।

मित्र – मुल्ला, के तिमीलाई थाहा छ कम्युनिष्टको मतलब के हो ?
मुल्ला – अँ, मलाई थाहा छ ।
मित्र – तिमीलाई थाहा छ, तिमीसँग दुईवटा कार भए एउटा अरुलाई दिनुपर्छ ।
मुल्ला – थाहा छ । म खुशीसाथ एउटा कार दिन तयार छु ।
मित्र – तिमीलाई थाहा छ । तिमीसँग दुईवटा घर भए एउटा अरुलाई दिनुपर्छ ।
मुल्ला – थाहा छ । म खुशीसाथ दिन तयार छु ।
मित्र – यदि तिमीसँग दुईवटा गधा भए एउटा अरुलाई दिन तयार छौ ?
मुल्ला – कदापी सक्दिनँ । म यो कुरासँग मतलब राख्दिनँ । म बिल्कुल एउटा गधा दिन सक्दिनँ ।
मित्र – किन ? यहाँ पनि त्यही नियम लागु हुनुपर्छ नि ।
मुल्ला – किनकि मसँग दुईवटा कार र घर छैन, तर दुईवटा गधा त छ ।

माथिको कथामा जस्तै नाम मात्रका कम्युनिष्ट मुल्लाहरूले देखाएको पार्टी एकताको सपना पदीय स्वार्थमा जोडिएको भनिरहनु परेन । मुल्लाको दौड मस्जिदसम्म भनेजस्तो जसरी पनि पद प्राप्ति गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने नसरुद्दीनहरूको कम्युनिष्ट बन्ने होडबाजी त्यही मुल्लाको किस्सासँग ठ्याक्कै मेल खान्छ । हजारौँ शहीदको खेती गर्दै, लाखौँलाई घरबारविहीन बनाउँदै कम्युनिष्टको नाममा देशलाई खोक्रो बनाउने माओवादी मुल्ला प्रचण्ड र एमाले मुल्ला ओलीको पदीय व्यवस्थापन वामएकताको बाधक बनेको देखिँदैछ । एमालेभित्र हुर्कंदै गरेको मुल्ला संस्कृति र माओवादी केन्द्रको मुल्ला नीतिको कारण सयौँ मुसा खाएर बिरालो धर्म गर्न हिँड्यो भन्नेसँग नेपालको वामपन्थी आन्दोलन गुज्रँदै गरेको जनताले थाहा नपाएको कुरो पार्टी एकताको प्रसववेदनासँगै सतहमा आएको रमिता बडो रोचक लाग्दैछ ।

सिद्धान्त, कार्यक्रम, नीति, उद्देश्य, लक्ष्य समाप्त गर्दै केवल कुर्सीप्राप्तिको निम्तिे नेपाल भित्र्याइएको मुल्ला प्रवृत्ति पछिल्लो समय वाम कब्जामा पुगेको मानिदैछ । शान्ति, स्थिरता र समृद्ध नेपालको सपना केवल कुर्सीप्राप्तिको साधन बनाउँदै गरिएको कमरेड ओली र प्रचण्ड प्रेमको मुल सिद्धान्त सिंहदरबारको कुर्सी र पार्टी अध्यक्ष साटासाट गर्नेसँग जोडिएको थियो भनिरहनु पर्दैन । घिउ बेचुवा र तरबार बेचुवाको कथालाई मुल्ला नसरुद्दीन नीतिसँग फ्युजन गर्दै जन्म लिएको साठी–चालिसको समिकरणलाई सत्तरी–तीसमा बदल्ने जनताको अभिमतले कमरेड प्रचण्डलाई रक्षात्मक बन्न बाध्य पार्दा दिल्ली सत्ता नब मुल्लाहरूलाई खेलाउँन सोल्टी होटल आइपुगेको भनिरहनु परेन ।

जबज र माओवादको बारेमा कुनै बहस जरुरी नदेखिएको वाम एकतामा हाबी हुँदै गरेको मुल्ला नसरुद्दीन र सुष्मा स्वराजको भूतले कमरेड ओलीलाई अति प्रभाव पारेको वाम एकता नयाँ झमेलामा परेको अनुभव हुँदैछ । धोका, छलकपट र षडयन्त्रको बलमा कुर्सी प्राप्त गर्ने राजनीतिको चपेटामा फस्दै गरेको वाम एकता विभिन्न रणनीति वा दाउ हरूको सिकार कसरी बन्दैछ ? पार्टीभित्रका मुल्लाहरू आन्तरिक र बाहिरी खेलमा कसरी फस्दैछन् ? एक नजर फ्याँक्नु जरुरी भइसकेको छ ।

ओली दाउ :

दिल्ली सत्तासँग बिग्रेको सम्बन्ध सोल्टी होटलको वान टु वान बार्ता पछि सुमधुर हुन पुगेको मान्ने कमरेड ओली वाम एकतालाई लम्ब्याउन चाहान्छन् । दिल्ली दाहिना बनाउँदै सिंहदरबारको ढोका खोल्न सफल भएको महसुस हुनासाथ तत्काल आफ्नो सत्ता यात्रामा कुनै अबरोध नरहेको निचोडले कमरेड प्रचण्ड रक्षात्मक बन्नेछन भन्ने कमरेड ओलीको निष्कर्ष रही आएको छ । दिल्ली रिझाउँदै प्रधानमन्त्रीको कुर्सी मधेशी दलहरूको साथ र समर्थनबाट प्राप्त गर्ने ओली चाहनालाई तत्काल चाहेर पनि कमरेड प्रचण्डले भाँजो हाल्न नसक्ने संसदीय अंकगणित तयार गरिसकेको पुष्टि उनको ‘बडी ल्याङ्ग्वेज’ले गरिसकेको छ । प्रधानमन्त्रीको कुर्सीप्राप्ति पश्चात पार्टी एकतालाई अगाडी बढाउँदा माओवादी केन्द्रका विभिन्न ब्यक्तीलाई अनेक प्रभावमा पार्न सकिने हुँदा प्रचण्ड थकित हुँदै एकीकृत पार्टीमा सहअध्यक्ष पदमै राजी हुन्छन् भन्ने कमरेड ओलीको निचोड रहेको मान्न सकिन्छ ।

प्रचण्ड दाउ :

भर्खरै सम्पन्न भएको निर्वाचनको परिणामले दिएको जनादेशलाई चतुर प्रचण्डले ओलीको पक्षमा तत्काल जानबाट नरोक्ने नीति बनाएका छन् । दिल्ली सत्तासँग ओलीले बनाएको सुमधुर सम्बन्धलाई नजिकबाट नियाल्दै तत्काल एमालेबाट लिन सक्ने पदिय सुविधा लिने निचोडमा पुगेका छन् । राष्ट्रियसभा अध्यक्ष, उपराष्ट्रपति, सभामुख, गृहमन्त्री लगायत राम्रो मन्त्रालय पार्टीले लिने हरसम्भब कोशीस गर्ने छन । नाकाबन्दी पश्चात निर्मित कमरेड ओलीको राष्ट्रवादी छबीमा भारतीय सङ्गतबाट खिया लगाइदिने वाताबरण तयार गर्दैछन् । आम मानिसले देखेको ओली र यथार्थको ओली अलग हुन् भन्ने आफूले बुझे पनि सर्बसाधारण मानिसको मनमा बसेको ओली बेग्लै हुन् भन्ने बुझाउन पनि कमरेड ओलीलाई केही समय सिंहदरबारको कुर्सी दिनु बाध्यात्मक भइसकेको महसुस गर्दैछन् । निर्वाचन ताका झापा पुग्दै मदन भण्डारीको गुणगान गाउँदै एमाले कार्यकर्ताको मन जित्ने कोशीसमा लागेका कमरेड प्रचण्ड सुष्मा स्वराजको भ्रमण पछि तत्काल ओलीको बिरुद्ध नजाने रणनीति बुन्दैछ्न । बिगतमा आफू माथी लाग्दै आएको ढुलमुले, अस्थिर र धोखेबाज जस्ता आरोपहरू मिथ्या सावित गर्ने कोशिस गर्दैछन् । आमजनता, कार्यकर्ता र उत्तर–दक्षिणको छिमेकीले चिनेको, बुझेको, देखेको र भोगेको ओली सत्य होइनन् केवल एक भ्रम हुन् भन्ने देखाउँदै शक्ति आर्जन गर्न लाग्दैछन् ।

दिल्ली दाउ :

सन् १९५० पछि नेपाललाई आफ्नो मुट्ठीमा राख्ने नेहरू नीति संविधान जारी हुँदै गर्दा अकस्मात ठेस लाग्न पुगेको कारण भारतीय सत्ताले नाकाबन्दीमार्फत खास रूप देखाउन पुग्यो । विभिन्न कालखण्डमा उत्तरतिर बहुत राम्रो सम्बन्ध बनाउन पुगेको तात्कालिन दरबारले समेत गर्न नभ्याएको पारवहन सन्धी आफ्नै पुरानो मित्रबाट नाकाबन्दीको बहानामा गर्न पुगेको कारण दिल्ली सत्ता नराम्रोसँग झस्किन बाध्य भयो । चीनसँग पारबहन सन्धी गरेबापत ओलीलाई दिएको पुरस्कार उल्टो आफैतिर फर्काउँदै निर्माण गरेको वाम गठबन्धन पश्चात जनताले दिएको जनादेश डिजास्टर नै बन्ने महशुस गर्न बाध्य भयो । मोदी सत्ता र कमरेड ओलीको स्वार्थलाई वर्तमान जनादेशले एक ठाँउमा उभिन बाध्य पार्दा काठमाण्डौंमा बढदै गरेको चिनिया प्रभाब रोक्ने र वाम एकतामा बिघ्न बाधा पुर्याउने सुष्मा आगमनको चर्चा स्वाभिक मानिदै छ । ओलीको दोश्रो इनिङलाई भारततिर आकर्षित गर्ने दिल्ली दाउले नेपालमा बन्दै गरेको वाम एकतालाई सकेसम्म हुनै नदिने, नसके टाढा धकेल्ने, कथम कदाचित हुने नै भएमा वाम पार्टी भित्र आफ्ना सेवकहरू लाई उचित स्थान दिलाउने दिल्ली रणनीति रहेको पाइन्छ ।

दोश्रो घेराको दाउ :
कसैले माने पनि नमाने पनि एमालेभित्र गुट र उपगुटको राजनीति चलिरहेको र निरन्तर चलीरहने ठोकुवा गर्न सकिन्छ । मदन भण्डारीको अकस्मात मृत्युपछि स्थायी रुपमा गुटगत राजनीति मौलाउन सुरु गरेको एमाले नेताहरू मान्न राजी छन् । माधव नेपालको १५ वर्षे कार्यकालभरी खर्च गरेको दिमागले अन्ततः कमरेड ओली पार्टी अध्यक्ष बन्न सफल भए । वामदेव गौतमलाई प्रयोग गर्दै प्राप्त शक्तिको मजबुतीपश्चात ओली कमरेडको गुटभित्र अनेक उपगुटले जन्म लिन सफल भइसकेको तितोसत्य एमाले पार्टीले लुकाएर लुक्ने विषय रहेन । पार्टी अध्यक्ष र महासचिव बन्ने ओली कमरेडको दोश्रो घेराको कमरेडहरू इश्वर पोखरेल, सुभास नेम्बाङ, भिम रावल (ब्यक्तिगत रुपमा माधवको तर पदिय स्वार्थमा ओली गुट), विष्णु पौडेल, शंकर पोखरेल, प्रदिप ज्ञवालीहरूको स्वार्थले पार्टी एकता धकेलिँदै छ भन्ने आधार मिल्दैछन् । कमरेड ओली र प्रचण्डको पदीय व्यवस्थापन मात्रले पार्टी एकता सम्भव नरहेको दह्रो प्रमाण बुझ्न वर्तमानमा कमरेड ओलीबाट पेलिएका कमरेडहरू माधब नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, अपबादमा वामदेव कमरेड समेत प्रचण्ड कित्तामा खुलेर लाग्ने हुँदा भबिश्यमा पेलिने पालो ओली कमरेडको दोश्रो घेरा हुने आँकलन पार्टी एकताको निम्ति बाधक बन्ने खतरा दिन–प्रतिदिन बढेको बुझ्न सकिन्छ । आफ्नो राजनैतिक भविष्य नै खतरामा पर्ने देख्दादेख्दै केवल ओली र प्रचण्डको निम्ति त्याग गर्लान् भन्ने कल्पना कमरेड ओलीको दोश्रो घेराबाट गरिनु बालुवा पेलेर तेल निस्कन्छ भने समान मान्न सकिन्छ ।

अन्तमा,
तत्कालको फाइदा मात्र हेर्दै अगाडी बढ्ने कमरेड ओली र उनको गुटगत राजनीतिका खेलाडीहरूको आत्मामा प्रवेश गरेको मुल्ला नसरुद्दीन पवृत्तिले अकल्पनिय समस्या जन्मने संकेत मिल्दैछ । नेपाललाई भूतपुर्व देश बनाउने मिसनअनुरुप खडा गरिएको प्रचण्डलाई एमाले सुम्पँदा एमाले तत्काल सकिने, नसुम्पदा नाम मात्रको भए पनि वामपन्थी आन्दोलन धरासायी हुने इसाई रणनीति उत्सर्गमा पुगेको मानिदैछ । पुँजीवादी, दक्षिणपन्थी, लोकतान्त्रिक र भारतिय शक्तीलाई साथ दिँदै प्रचण्डलाई त्याग गर्न उत्प्रेरित गराउने दिल्ली दाउ सफल हुन पुगे बन्दै गरेको ओली सरकार अल्पायूमा शहीद बनाइने खेल सफल हुनेछ । ततपश्चात कमरेड ओलीको पदिय लिप्साको कारण बनीबनाउँ वाम गठबन्धन टुटाउँदै कमरेड प्रचण्डको नेतृत्वमा बन्ने एमाले इतरको दक्षिणपन्थी सरकारलाई फुटाउन टाउको काटेर किस्तीमा दिए पनि कमरेड प्रचण्ड ओलीको मुख हेर्न तयार हुने छैनन् । त्यस्तो अवस्था पश्चात हुने राजनैतिक ध्रुवीकरणमा कमरेड ओली, उनको दोश्रो घेरा र ओलीबाट पेलिएका एमाले जनहरूको स्थान जहाँ भए पनि मुल्ला नसरुद्दीन शैलीको वाम एकता कहिल्यै सुनिने छैन ।

292 Shares

प्रतिक्रिया