पाठक मञ्च

पाठक मञ्च


महिला बन्दीगृहमा यौनलीला
केन्द्रीय कारागारस्थित महिला बन्दीगृहमा यौन दुव्र्यवहार भएको भनी त्यहाँका कैदी/बन्दी महिलाले चर्कोसँग आवाज उठाइरहेका छन् । तर, प्रहरी प्रशासनले सुनुवाइ नगर्दा समस्या झन् थपिएको पीडित महिलाले बताएका छन् ।
प्रसङ्ग जगन्नाथदेवलस्थित केन्द्रीय काराकारअन्तर्गतको महिला बन्दीगृहको हो । पतिहत्याको अभियोगमा सजाय भुक्तान गर्न थुनिएकी महिलासँग जेल सुरक्षामा खटिएका इन्स्पेक्टरले नै सार्वजनिक रूपमा यौन क्रियाकलाप गर्दा सुरक्षामा खटिएका महिला प्रहरी नै मुख लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । कारागारमा डीएसपी बिदामा बसेका बसेको बेला निमित्त कारागार सुरक्षा प्रमुखको जिम्मेवारी बहन गरेका इन्स्पेक्टर रवि थपलियालले त्यस्तो क्रियाकलाप गरेका हुन् । पतिहत्याको अभियोगमा प्रहरीद्वारा पक्राउ गरी हाल सो कारागारमा रहेकी बन्दी रञ्जु ढकालसँग इन्स्पेक्टर थपलियाले सार्वजनिक स्थानमै चुम्बन गर्ने, शरीरका संवेदनशील अङ्गमा हात पुर्‍याउनेजस्ता क्रियाकलाप गर्दा ड्युटीमा खटिएका महिला प्रहरी समस्यामा पर्ने गरेका छन् । ती महिला प्रहरीले माथिल्लो युनिटमा इन्स्पेक्टरबारे उजुरी गर्दा जागिरमै समस्या पर्ला भनी केही भन्न सकेका छैनन् । तर, कारागारको आन्तरिक प्रशासनले भने पटक–पटक रञ्जुलाई त्यस्तो क्रियाकलाप नगर्न चेतावनी दिइसकेको कारागार स्रोतले जनाएको छ । तर, उनी भने प्रहरीका एआईजीहरूलाई आफ्ना ‘ब्वाइफ्रेन्ड’ भन्दै बन्दी महिलालाई धम्क्याउने गर्छिन् । प्रहरी महिलाहरूले उनीमाथि कडाइ गर्न खोज्दा हाकिमको नामै लिएर तिनीहरूसँग भएको यौन–व्यवहारका कुरा (बनावटी पनि हुन सक्छन्) सुनाउने गर्छिन् ।
इन्स्पेक्टरले रञ्जुसँग देखाउने व्यवहार काुननत: पनि वर्जित छ । मुलुकी ऐनको १९ नम्बर महल (अदल)को दफा ५ अनुसार, ‘कैद वा थुनामा रहेकी कुनै महिलालाई सरकारी कर्मचारीले करणी गरेमा वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिई करणी गराएमा…एक वर्षदेखि तीन वर्षसम्म कैद हुनेछ ।’ महिला बन्दीगृहमा भइरहेको यस्तो यौन व्यवहार नरोकिएमा बन्दी महिलाहरू राष्ट्रिय मानवअधिकार आयोगलाई गुहार्ने सोचमा पुगेका छन् । उनीहरूले त्यसरी राज्यलाई गुहार्नुपरेमा मुलुकी ऐनअनुसार इन्स्पेक्टरमात्र नभई उनको चर्तिकला हेर्न नसकेर दायाँबायाँ साइड लाग्ने महिला प्रहरी पनि कारबाहीको भागीदार हुनसक्ने स्थिति छ । एकजना महिला बन्दी भन्छिन्, ‘महिला प्रहरीले हामीलाई गर्ने व्यवहार राम्रो छ, तर उनीहरू इन्स्पेक्टरको चर्तिकलालाई टुलुटुलु हेरेर बस्छन् ।’
महिला बन्दीगृहभित्रै यसरी चल्दै आएको खुलेआम यौन क्रियाकलाप कहिलेसम्म जारी रहने हो र कहिलेसम्म महिला प्रहरी तथा अन्य बन्दीहरूले मुन्टो फर्काएर बस्नुपर्ने हो ? के यससम्बन्धी हेर्ने निकाय मुलुकमा छँदै छैन त ?
– एक महिला बन्दीको आफन्तजन, काठमाडौं

त्यो आरोप मात्र हो
सम्पादकज्यू
तपाईंको मिति ०६९ साल भदौ ६ गतेको पाठक प्रतिक्रिया स्तम्भमा मेरो चरित्रहत्या गर्ने नियतले छापिएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँ छापिएको समाचार कपोलकल्पित हो । मेरो स्कुल ज्ञानकुञ्जमा म जे गरौँ वा जसो गरौँ पत्रिकालाई चासो हुने विषय होइन । मेरो स्कुलको सेयरधनीलाई जमानत राखेर तपाईंको पत्रिकामा समाचार आउनु ज्यादै निन्दनीय छ ।
त्यो समाचार प्रकाशन गराउने कर्म त्रिविमा प्राध्यापक भइटोपलेको डाक्टर भनिने राजकुमार पोखरेल जसले केही दिनदेखि मेरो विरोधमा खैरो खन्दै आएको छ र अर्का एक आफ्नो पुरुषसँग पनि बस्न नसकेर एक्लै बस्दै आएकी महिला (महिला भएकैले नाम नखोलौँ) जो मेरो स्कुलकी सेयरधनी पनि हुन् उनीहरूको हर्कत हो भन्ने मैले ठानेको छु । जुन दिन उनीहरूको करङ सडकमा गन्ने दिन आउला त्यो दिन मेरो नाममा त्यस्ता प्रचारबाजी गर्नुहोला अन्यथा तपाईं पत्रकार मित्रहरूलाई यस्ता कुरा प्रकाशमा नल्याउन म आग्रह गर्दछु । तिनीहरूले मेरो स्कुलबाट सेयर फिर्ता लाने प्रयास नगरे हुन्छ भन्ने सार्वजनिक जानकारी छ ।
– ठक्करप्रसाद शर्मा, अध्यक्ष
ज्ञानकुञ्ज हाई स्कुल, ताल्छीखेल, ललितपुर