के बोल्ने, कति बोल्ने ?

के बोल्ने, कति बोल्ने ?


– बबिता बस्नेत

संस्कृतमा एउटा श्लोक छ,
मूर्खोऽपि शोभते तावत् सभायाँ वस्त्रवेष्टित ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ।

यसको अर्थ हुन्छ, ‘सुरुमा त राम्रा कपडा लगाएको मूर्ख पनि पण्डितहरूको सभामा शोभायमान हुन्छ । तर, त्यतिबेलासम्म मात्रै त्यो सुहाउँछ जबसम्म ऊ केही बोल्दैन ।’ हुन पनि झट्ट हेर्दा बाहिरी व्यक्तित्वले प्रभाव पारे पनि बोल्दै गएपछि मान्छेको गहिराइ थाहा भइहाल्छ । पहिला–पहिला मान्छेहरू महिलाको सौन्दर्य र पुरुषको ज्ञान भन्थे, तर अब यी दुवै कुरा दुवैसँग सम्बन्धित हुन थालेका छन् । पुरुषहरू पनि राम्रो बन्नका लागि पार्लर जान थाले, महिलाले ज्ञानसीपमै आफ्नो सौन्दर्य देख्न थालेको अवस्था छ ।

भनिन्छ, मानिसको व्यक्तित्व बोलीमा झल्किन्छ । मानिसले बोल्ने कुराले उसको समग्र प्रवृत्तिको प्रतिनिधित्व गर्छ । तर, हामीकहाँ बोझिला कुरा गरेर कानै टट्याउने गरी यसरी भाषण गरिन्छ कि सभा–समारोहभरि बोलीको ध्वनि प्रदूषण फैलिएझैँ हुन्छ । सबैमा प्रखर वक्ता हुने क्षमता हुन्छ भन्ने होइन, तर कुन कार्यक्रममा के बोल्ने, कति बोल्ने भन्ने विचार धेरै मानिसले गरेको पाइँदैन । ससाना कार्यक्रममा सामान्य तरिकाले बोले हुने ठाउँमा आमसभामा भाषण गरेझैँ गर्नेहरू पनि छन् ।

आफूले जानेको जति एकै ठाउँ बोलिसक्नुपर्छ जस्तो गर्नेहरू पनि छन्, जहाँ गए पनि एउटै भाषण दोहोऱ्याउनेहरू पनि छन् । राम्रो, छिटो–छरितो बोल्ने मानिस नभएका होइनन्, छन् तर लम्बेतान मन्तव्य दिनेहरूको सङ्ख्या ठूलो छ । कुनै पनि कार्यक्रममा तोकिएको समयभन्दा बढी बोल्नुलाई राम्रो मानिँदैन ।

केही दिनअघि एउटा कार्यक्रममा भाग लिँदै गर्दा किताब काखमा राखेर झन्डै आधाजति पढिसकेँ । घरिघरि अँ…हो …हो को शैलीमा वक्तातर्फ हेर्दै किताबका पानाहरू पल्टाएँ । वक्ताले सुनुसुनु लाग्ने छोटा कुरा गरेका हुँदा हुन् त त्यस्तो गर्नुपर्दैनथ्यो । कसैले ड्यासमा बोल्दै गर्दा मोबाइल फोन हेरेर बस्नेहरू त हिजोआज जति पनि देखिन्छन् । विभिन्न स्थान र अवसरमा गरिने सभा, समारोह तथा कार्यक्रमहरूमा जाँदा सुन्नलायक कुरा आउञ्जेल प्रायः ध्यान दिएर अरूको कुरा सुन्ने गरिन्छ । जब मन्तव्यका नाममा आवाज मात्रै सुनिन थाल्छ, कानलाई बडो असहज हुन्छ । कसैले बोल्दै गर्दा मोबाइल हेर्नु, पुस्तक पढ्नु या कुनै पनि काम गर्नु सभ्य कुरा होइन । तर, कतिपय अवस्थामा सभ्यता प्रदर्शन गर्न पनि वातावरण आवश्यक हुने रहेछ । कतिपय वक्ताहरूले त म के बोल्दै छु भन्ने थाहै नपाई बोलिरहेजस्तो लाग्छ । कतिले चाहिँ म कहाँ बोल्दै छ, किन बोल्दै छु या मेरो मन्तव्य यो ठाउँमा किन आवश्यक थियो र मलाई यहाँ बोलाइयो भनेर ख्यालै नगरी बोलेको देखिन्छ ।

कुनै पनि कार्यक्रममा कसैलाई वक्ताको रूपमा बोलाउनुको अर्थ सम्बन्धित विषयमा ऊ महत्वपूर्ण व्यक्ति हो, उसले बोलेको कुराले अर्थ राख्छ भन्ने हो । तर, कतिपय अवस्थामा सभा–समारोहमा मानिसले बोलेको सुन्नु सजायझैँ हुने गरेको छ । बिनाअर्थका लामालामा भाषणले समय लिइदिँदा मानिसलाई सार्वजनिक सभा–समारोहबाटै वितृष्णा पैदा हुन थालेको छ । उद्घोषण गर्नेले नै लामो बोलिदिने, कुनै वक्ताको कुरा सुन्दासुन्दा वाक्क भएका सहभागीलाई फेरि उद्घोषकको सारांश सुन्नुपर्ने बाध्यता पनि आइलाग्छ । सबैले सुनिसकेको कुरालाई उद्घोषकले ‘उहाँले यसो भनेर जानुभयो’ भन्नैपर्दैन । वक्तालाई पोडियममा बोलाइसकेपछि हामीकहाँ ब्यानर हेरी हेरी कार्यक्रमको नामसहित ड्यासमा बसेकाहरूलाई गर्ने सम्बोधनले नै लामो समय लिन्छ, जुन जरुरी नै छैन ।

खासमा कुशल वक्ताले बोल्ने क्रममा ब्यानर नहेर्नु भनिन्छ । ब्यानर हेर्नुको अर्थ आफू कुन कार्यक्रममा बोल्न आएको छु भन्ने थाहा नहुनु हो र आफूले बोल्दै गरेको कार्यक्रमकै बारेमा थाहा छैन भने उसले के सन्देशमूलक कुरा गर्ला र ? भन्ने अन्य सहभागीको मनमा पर्छ भनेर ब्यानर हेर्नुलाई राम्रो नमानिएको हो । हामीकहाँ भने मन्तव्य राख्ने क्रममा अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरूले पटकपटक ब्यानर हेर्ने गरेको देखिन्छ ।

अतिथि या प्रस्तोताका रूपमा बोल्ने मान्छेले विचार गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा सुन्ने मानिसको ‘मुड’ हो । आफ्नो कुरालाई मानिसले कतिको चासो दिइरहेका छन् भनेर मुड विचार गर्ने र वास्तै गरेका छैनन् भने मेरो कुरामा उनीहरूको रुचि छैन भन्ने कुरा छोट्याउने काम वक्ताकै हो । आफू बोलिरहँदा मानिसले पटकपटक घडी हेर्ने र छट्पटिएको हाउभाउ देखिन थाल्यो भने त्यस्तो समारोहमा बोलिरहनुको कुनै अर्थ हुँदैन । त्यसप्रकारको माहौल प्रायः छोटो मीठो मन्तव्य दिनेहरूको सवालमा बन्दैन । जब वक्ताले लामा–लामा भाषण गर्न थाल्छन्, मानिसको सुन्ने धैर्य टुट्छ । कतिपय मानिसले त पौने एक घन्टाजति बोलिसकेर ‘मैले भन्न खोजेको के हो भने’ भनेको पनि सुनिन्छ । कतिचाहिँ धेरै लामो बोलिसकेपछि अब म विषय प्रवेश गर्छु भन्दै अघि बढ्छन् । त्यस्ता समारोहहरूमा अन्तिम वक्ता बोल्दासम्म आधाभन्दा बढी मानिस हिँडिसकेका हुन्छन् ।

जब वक्ताले लामा–लामा भाषण गर्न थाल्छन्, मानिसको सुन्ने धैर्य टुट्छ । कतिपय मानिसले त पौने एक घन्टाजति बोलिसकेर ‘मैले भन्न खोजेको के हो भने’ भनेको पनि सुनिन्छ । कतिचाहिँ धेरै लामो बोलिसकेपछि अब म विषय प्रवेश गर्छु भन्दै अघि बढ्छन् । त्यस्ता समारोहहरूमा अन्तिम वक्ता बोल्दासम्म आधाभन्दा बढी मानिस हिँडिसकेका हुन्छन् ।

प्रायः सभा–समारोहहरूमा दुई थरी मानिसलाई बोल्न बोलाइएको हुन्छ, एकथरी पदका हैसियतले र अर्कोथरी विषयगत ज्ञानका हिसाबले । लामो बोल्ने समस्या यी दुवै थरीमा देखिन्छ । आफूले जानेको जति एकै ठाउँ बोलिसक्नुपर्छ जस्तो गर्नेहरू पनि छन्, जहाँ गए पनि एउटै भाषण दोहोऱ्याउनेहरू पनि छन् । राम्रो, छिटो–छरितो बोल्ने मानिस नभएका होइनन्, छन् तर लम्बेतान मन्तव्य दिनेहरूको सङ्ख्या ठूलो छ । कुनै पनि कार्यक्रममा तोकिएको समयभन्दा बढी बोल्नुलाई राम्रो मानिँदैन । तर, हामीकहाँ बोल्दाखेरि मानिसले समयको ख्याल गरेको पाइँदैन । कोही बोलिरहँदा आयोजकले ‘तपाईंको समय सकियो’ भनेर चिट दिनुपर्ने परिस्थितिको सिर्जना नभएको राम्रो । कसैले बोल्दै गर्दा ए… हो त नि… को हाउभाउ गरुञ्जेल बोल्नु एउटा कुरा हो, सुन्नेको कानै झ्याउँझ्याउँ हुनेगरी बोल्नुको के अर्थ ?

कुनै पनि सभा–समारोहमा कसले कति बोल्यो भन्दा बढी कसले के बोल्यो भन्ने कुराले अर्थ राख्छ । संयुक्त राष्ट्रसङ्घमा विभिन्न मुलुकका राष्ट्र प्रमुख या प्रतिनिधिहरूले बोल्न पाउने समय जम्मा तीन मिनेट हो । तीन मिनेटभित्र आफ्नो देशको कुरा बोलिसक्नुपर्ने हुन्छ । विश्वका चर्चित कलेजहरूमा विभिन्न विषयमा बोल्ने प्रतिस्पर्धा हुन्छ, त्यहाँ तीन मिनेटकै समय छुट्याइएको हुन्छ । विद्यार्थीजीवनदेखि नै अभ्यास गर्ने हुँदा विश्वका धेरै नेता एवम् व्यावसायिक तथा पेसागत व्यक्तित्वहरूलाई हामीकहाँ जस्तो समस्या पर्दैन । हामीकहाँ जस्तो सहभागी उँघ्ने गरी विकसित मुलुकमा कमै भाषणहरू हुन्छन् । सन् २०१५ मा पेरिसमा आयोजित जलवायु परिवर्तनसम्बन्धी समारोहलाई सम्बोधन गर्दा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले तोकिएको तीन मिनेटभन्दा बढी समय बोलेको भनी निकै आलोचना भएको थियो । राष्ट्रपतिले समयको ख्याल नगरिदिँदा ‘टाइम्स अप मिस्टर प्रेसिडेन्ट’ भन्नुपरेको र ठूला मान्छेहरूलाई त्यसो भन्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भनी चर्चा भएको थियो । उनले त्यतिबेला एघार मिनेट बोलेका रहेछन् ।

सभा–समारोहहरूमा अतिथिहरूले आफू पुग्ने समयको पनि हामीकहाँ ख्याल गरेको पाइँदैन । सहभागीहरू लामो समय अतिथिलाई कुरेर बस्नुपर्ने अवस्था पनि सही होइन । संसद्मा आफूले जवाफ दिने दिन (फेब्रुअरी १, २०१८) आफू पाँच मिनेट ढिलो पुगेकोमा ब्रिटिस मन्त्री माइकल बेट्सले आफ्नो कारणले संसद्को कारबाही पाँच मिनेट ढिलो हुन गएकोमा नैतिकताका आधारमा राजीनामाको घोषणा गरेका थिए । त्यतिबेला उनले आफू ढिलो पुगेर अरूको समय र उपस्थितिको सम्मान गर्न नसकेकोमा ग्लानि भएको बताएका थिए । हामीकहाँ यस्तो समय कहिले आउला ?