सिमेन्ट र डण्डी कम्पनीले घटाए मुल्य

सिमेन्ट र डण्डी कम्पनीले घटाए मुल्य


निरन्तरको दवावपछि अन्ततः केही डण्डी र सिमेन्ट उद्योगले भाउ घटाएका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार दर्जनबढी उद्योगहरुले ५० पैसादेखि ५० रुपैयाँसम्म सिमेन्ट र डण्डीको मूल्य घटाएका हुन् ।

विभागले आइतबारसम्ममा १४ ओटा उद्योगले २० किसिमका सिमेन्ट र डण्डीको मूल्य घटाएको जानकारी दिएको छ । ‘हामीले उद्योगका संचालकहरुलाई बारम्बार सिमेन्ट र डण्डीमा बढाएको मुल्य घटाउन दवाव दिएका थियौं ।’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, ‘अझै धेरै कम्पनीहरु अटेर गरेर बसेका छन् । उनिहरुलाई कार्बाहीको दायरामा ल्याउने तयारी थालेका छौं ।’

विभागका महानिर्देशक दाहालले वृज सिमेन्ट ईण्डष्ट्रिजको ओपिसी, पिपिसी र पिएससी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँको दरले घटाएको र अर्घाखाँची सिमेन्टले बोराको ४५ रुपैयाँ घटाएको जानकारी दिनुभयो । उहाँका अनुसार भु–गर्व सिमेन्टको ओपिसी, पिपिसीमा बोराको ३० रुपैयाँको दरले भाउ घटाएको छ ।

‘हामीले निरन्तर गरिरहेको अनुगमन र दवावका कारण निर्माण सिमेन्टमा प्रतिबोरा १५ रुपैयाँ , अम्बे, दोभान, शुभ श्री जगदम्बा, मारुतीका विभिन्न ब्राण्डका सिमेन्टमा प्रतिबोरा २० रुपैयाँ, नरायणी, सर्वोत्तम, अग्नि, घोराही लगायतका विभिन्न किसिमका प्रतिबोरा सिमेन्टमा १० रुपैयाँ मुल्य घटेको छ ।’ महानिर्देशक दाहाल भन्छन्, ‘यो सरकरात्मक हो । उद्योगीले आफूले बढाएको भाउ आफैंले घटाएर ल्याउँदा खुसी लागे छ ।’
उनका अनुसार शिवम् सिमेन्टको मूल्य भने यसअघि नै २२ रुपैयाँ ६० पैसाको दरले घटाएको थियो भने जगदम्बा स्टिलले डण्डीमा प्रतिकिलो ५० पैसा घटाएको छ ।