आकाशेपुल नहुँदा ज्यान जोखिममा

आकाशेपुल नहुँदा ज्यान जोखिममा


केही दशक अघिसम्म यत्रो रिङरोड किन बनाएको होलाजस्तो लाग्थ्यो । तर, अहिले चक्रपथ पनि साँघुरो भएकोजस्तो लाग्छ । चक्रपथको सडकमा मानिस र मोटरगाडीको भीड देख्दा रिँगटा लागेर आउँछ । जताततै ट्राफिक जाम, हुइँकिएर गुड्ने गाडीहरू, मोटरबाइकको ताँती देखेर बाटो काट्न पनि डराइडराई काट्नुपर्ने अवस्था छ । ठाउँठाउँमा जेब्रा क्रसिङ नहुँदा र जथाभावी बाटो काट्नुपर्ने समस्याले गर्दा चक्रपथमा दुर्घटना नभएको दिन नै हुँदैन । सडकभन्दा बढी गाडीको लावालस्कर भएकोले कहिलेकहीँ बाटो काटेर पारि पुग्न पनि घन्टौँ लाग्ने गरेको छ । स्पिड कन्ट्रोलका संकेतहरू नराखिनाले पनि दुर्घटना बढेको बढेकै छन् । जहाँ आवश्यक छ त्यही नै ट्राफिक प्रहरीको अभाव देखिन्छ ।
विशेषगरी कोटेश्वर, बालकुमारी, ग्वार्को र चाबहिलजस्ता व्यस्त चक्रपथका सडकहरूमा आकाशेपुल बनाउन अनिवार्य भइसकेको छ । तर, सरकारको आँखा छ, देख्दैन । कान छ, सुन्दैन । भोग्छ, बिर्सिन्छ । अब यस्तो हविगत भएको देशमा समस्या देखाउनु पनि समयको बर्बादीजस्तो लाग्न थालिसक्यो । लाखौँ मानिसले प्रयोग गर्ने चक्रपथको यो दुर्दशा भुक्तभोगीका लागि हिँड्दाहिँड्दैको काउसो बनेको छ । कतिपटक त जाम भएर बटुवाले नै ट्राफिक बन्नुपर्ने अवस्था पनि पर्छ । कोटेश्वर, बालकुमारी र ग्वार्कोमा भीआईपीको स्वागतमा बाहेक, अरू बेला ट्राफिक प्रहरी देखिँदैनन् । न ट्राफिक प्रहरी छन् न सबै ठाउँमा सडकबत्ती छन् न राता–हरिया बत्तीहरू छन् न त आकाशेपुल नै । बाध्य भएर बटुवाले हातको इसारा गर्दै दौडने र बाटो काट्ने गर्नु परिरहेको छ । चक्रपथ साँघुरो हुनु र ट्राफिक नियमको कुनै गुन्जायस नहुनाले जसको शक्ति उसको भक्ति भनेझैं लाचारी भोग्न हामीहरू बाध्य छौँ । त्यसकारण मित्रराष्ट्रले निर्माण गरिदिएको चक्रपथको हामीले इज्जत पनि गर्न सकेका छैनौँ । हामी चाहन्छौँ तत्काल सम्बन्धि निकायको यसमा ध्यान जाओस् र चक्रपथका मुख्य चोकहरूमा आकाशेपुलको निर्माण गर्ने प्रक्रिया सुरु होस् । कोटेश्वर, मुख्यतया ललितपुरको बालकुमारी र ग्वार्कोमा यथाशीघ्र आकाशेपुल निर्माण गरियोस् ।
– लक्ष्मी अधिकारी सिलवाल
र स्थानीय बासिन्दा, बालकुमारी–९, ललितपुर