नयाँ नेपालको प्रश्न- ‘थर कसको ?’

निषेध

– बबिता बस्नेत

डा. बाबुराम भट्टराईसँग विवाह गरेकी हिसिला यमी जनजाति हुन् कि ब्राह्मण ? देव गुरुङसँग विवाह भएकी यशोदा सुवेदी बाहुन कि जनजाति ? लीलामणि पोखरेलकी पत्नी शशी श्रेष्ठलाई जनजाति मान्ने कि बाहुन ? जात, धर्म केही नमान्ने भनिएको कम्युनिष्ट पार्टीभित्रै समयक्रममा कसको जात के ? श्रीमानको थर मान्ने कि आफू जन्मिँदाको भन्ने गम्भीर प्रश्न उठेको छ । केही नेता पत्नीहरूलाई फरक–फरक ‘क्राइटेरिया’का आधारमा समानुपातिक सांसद बनाइएपछि जन्मँदाको थरलाई मान्ने कि विवाहपछिको ? भन्ने विषय गम्भीरतापूर्वक उठेको हो ।

पुरुषहरूमा पनि विवाहपछि थर फेर्ने चलन हुँदो हो त अहिलेको राजनीतिक व्यवस्थाले राधिका शाक्यसँग विवाह गरेका केपी ओली जनजाति कि ब्राह्मण ? निर्मला श्रेष्ठसँग विवाह गरेका विजय गच्छदार श्रेष्ठ कि थारू ? रविलक्ष्मी चित्रकारसँग विवाह गरेका झलनाथ खनाल, झुमा देवानसँग विवाह गरेका प्रदीप नेपाल, मीरा ध्वजूसँग विवाह गरेका ईश्वर पोखरेल, सुजिता शाक्यसँग विवाह गरेका शंकर पोखरेल, अष्टलक्ष्मीका पति अमृत बोहरा जनजाति कि ब्राह्मण ? भन्ने प्रश्न उठाउने ठाउँ दिने थियो । तर, महिलामा मात्रै यो लागू हुने हुँदा पुरुष राजनीतिकर्मीले यसप्रकारको जटिल अवस्थाबाट गुज्रनुपर्ने परिस्थितिको सिर्जना नहुने निश्चित छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँगै जातका आधारमा अवसर दिलाउने प्रणालीको विकास गरिएको हुनाले अहिलेको राजनीतिक व्यवस्थालाई यसमा जिम्मेवार मान्नुपरेको हो ।

जीवनसाथीका रूपमा गाँसिएको पति–पत्नीको सम्बन्धभित्र राजनीतिक अवसरले प्रवेश गरेपछि अब विवाहित महिलाको सवालमा ‘थर कसको ?’ भन्ने विषयमा निर्क्योल गर्नैपर्ने भएको छ । अहिलेको राजनीतिक प्रणालीले पुरुष र महिलाभित्रका विविधतालाई उनीहरूको ज्ञान–सीपले नभई जातको आधारमा छुट्याएर हेर्छ । प्रतिनिधिसभा र प्रादेशिक सभाका समानुपातिक प्रणालीबाट सांसद हुनका लागि आदिवासी जनजाति, खसआर्य, दलित, मधेसी, थारू र मुस्लिम हुनुपर्ने हुन्छ । यही समावेशी समूहभित्र पर्नुपर्ने हुँदा चेतनाको वृद्धिसँगै गौण हुनुपर्ने ‘थर’को प्रश्न थप महत्वपूर्ण बन्दै गएको हो ।

अन्तरजातीय होस् या सामान्य, विवाहपछि थर कसको ? भन्ने कुरा नितान्त व्यक्तिगत इच्छामा भर पर्दै आएको छ । कतिपय महिलाले धेरै वर्षअघि पनि आफ्नै नाम, पहिचानका लागि पतिको थर राखेनन् । साधना प्रधान, साहना प्रधानहरू त्यस्ता ऐतिहासिक पात्र हुन् जसले त्यतिबेलाको जमानामा विवाहपछि आफ्नो थर परिवर्तन गरेनन् । पति मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि साधना अधिकारी भनेर साधनाको नामका पछि पतिको थर मिडियाले जोडेका हुन् । सामान्यतया विवाहपछि महिलाले पतिको थर राख्नुको सम्बन्ध पैतृक सम्पत्तिसँग जोडिएको देखिन्छ । पतिको थर नराख्दा उसको सम्पत्तिको हकदार हुनका लागि कागजी झमेला हुने हुँदा महिलाले विवाहपछि थर परिवर्तन गरी पतिको नाममा नागरिकता बनाउँथे, बनाउने गरेका छन् । सोहीअनुरूप अन्य पारिवारिक कारोबारहरू अघि बढ्थे । तर, अब थरको विषय राज्यको अवसरसँग जोडिन पुगेको छ ।

को, कुन जातको हो भन्ने आधारमा अवसरको बाँडफाँड हुने भएका कारण राजनीतिक दलभित्र यो विषयले प्रमुखता पाएको हो । राज्य प्रणाली यसैगरी अघि बढ्दै जाने हो भने यो विषय राजनीतिक दलभित्र मात्र नभएर सबै वर्ग, तह र तप्काका विभिन्न समुदायका लागि सरोकारको विषय बन्ने निश्चित छ । अब नेपाल सम्भवतः त्यस्तो मुलुक बन्दै छ जहाँ विवाहजस्तो नितान्त व्यक्तिगत कुरा जोडघटाउ र हिसाबकिताबको विषय बनाइनेछ । जुन हिसाबकिताबमा पुरुषहरू जहाँको त्यहीँ हुनेछन्, उनीहरूसँग विवाह गरेका आधारमा महिलाहरूको मान र अपमान हुनेछ । जुन कुराको सुरुवात भइसकेको छ ।

उदाहरणका रूपमा एनेकपा माओवादीकी नेतृ एशोदा सुवेदीलाई लिन सकिन्छ । पार्टीमा उहाँको आफ्नै पृष्ठभूमि छ । नेता देव गुरुङसँग विवाह भयो । समानुपातिकतर्फको जनजाति कोटामा एशोदा सुवेदी गुरुङ भनेर नाम राखिएको छ । अहिले उहाँको नाममा पार्टीभित्र विवाद सिर्जना गरिएको छ, बाहुन भएर जनजातिको भाग खोस्न पाइन्छ ? उहाँ ब्राह्मण कि जनजाति ? राजनीति र अन्तरजातीय विवाह गरेकोमा वर्षौंसम्म आफन्तबाट अलगझैँ व्यवहार गरिएकी उहाँले यस्तो प्रश्नको सामना गर्नुपरेपछि जिन्दगीमा फर्किएर आफैँलाई प्रश्न गर्नुपर्ने समय आएको छ, साँच्चै म बाहुन कि जनजाति ? दलितसँग विवाह गरेर दलितको कोटामा परेका अन्य जातिका महिलामाथि पनि यस्तो प्रश्न गरिएको छ, गैरदलित भएर दलितको भाग लिन मिल्छ ? मधेसीको सवालमा पनि यही लागू हुन्छ ।

यो प्रसङ्गले अब नेपालमा अन्तरजातीय विवाहमाथि नै प्रश्न खडा गरिदिएको छ । गैरदलितले दलितसँग विवाह गर्दा या क्षेत्री–बाहुन महिलाले जनजातिसँग विवाह गर्दा समाजमा खप्नुपरेको अपहेलनाको पहाड कत्रो थियो होला भनेर सोचिएको छैन । त्यसप्रकारको अपहेलनाको मूल्य प्रायः महिलाले नै चुकाउनुपर्छ । तर, विवाहजस्तो व्यक्तिगत मामिलामा दुःख भयो भनेर राज्यको अवसर लिन कहाँ पाइन्छ र ? भन्ने प्रश्नलाई पनि नकार्न मिल्दैन ।

पुरुषहरूमा पनि विवाहपछि थर फेर्ने चलन हुँदो हो त अहिलेको राजनीतिक व्यवस्थाले राधिका शाक्यसँग विवाह गरेका केपी ओली जनजाति कि ब्राह्मण ? निर्मला श्रेष्ठसँग विवाह गरेका विजय गच्छदार श्रेष्ठ कि थारू ? रविलक्ष्मी चित्रकारसँग विवाह गरेका झलनाथ खनाल, झुमा देवानसँग विवाह गरेका प्रदीप नेपाल, मीरा ध्वजूसँग विवाह गरेका ईश्वर पोखरेल, सुजिता शाक्यसँग विवाह गरेका शंकर पोखरेल, अष्टलक्ष्मीका पति अमृत बोहरा जनजाति कि ब्राह्मण ? भन्ने प्रश्न उठाउने ठाउँ दिने थियो ।

पतिको थरबाट होइन महिलाले आफ्नै नामबाट चिनिनुपर्छ भनेर लुसी स्टोन नाम गरेकी अमेरिकी महिलाले सन् १८५० तिरै आवाज उठाएकी थिइन् । आफ्नो पहिचान नगुमाउनलाई महिलाले पतिको थर राख्नुहुन्न भन्दा त्यतिबेलाको अमेरिकी समाजमा उनले अनेक प्रश्नहरूको सामना गर्नुपरेको थियो । पतिपत्नीको सम्बन्ध प्रेमविहीन भएपछि सँगै बस्नुभन्दा छुट्टिनु नै उपयुक्त हुने उनको धारणा थियो । सयौँ वर्षअघिको उनको वकालतले अमेरिकी समाजमा अहिले पनि पूर्णता पाउन सकेको छैन । पतिको थर राख्ने कि आफ्नै ? भन्ने कुरा विश्वमै ऐच्छिक हो कसैले राख्छन्, कसैले राख्दैनन् । सार्वजनिक जीवनमा पतिको नाम भजाउनुपर्नेहरूले प्रायः यो सुविधा लिएको देखिन्छ । कतिले चाहिँ शुरुदेखि नै पतिको थर राखेकाले त्यसैलाई निरन्तरता दिएका छन् ।

कतिपय अवस्थामा यो परिस्थितिजन्य पनि भएको देखिन्छ । जवाहरलाल नेहरूकी छोरी इन्दिरा नेहरूका पति फिरोज खान कसरी गान्धी भए ? राजनीतिक निरन्तरताका लागि इन्दिरा गान्धी र उनका पति दुवैको थर एकैपटक परिवर्तन गरिएको थियो । इन्दिरा र फिरोजले विवाहपछि गान्धी लेख्न थालेका हुन् । सोनिया गान्धीलाई सोनिया माइनो लेखेर भारतको राजनीतिमा टिक्न सम्भव थिएन । यसलाई महिलाले पतिको थरलाई गर्दै आएको परिस्थितिजन्य प्रयोगका रूपमा लिन सकिन्छ ।

थर पतिको राख्ने कि आफ्नै ? अवसर आफ्नै नाम, पहिचानबाट लिने कि पतिको ? सम्पति लिनका लागि कागजी झन्झट कसरी मिलाउने ? यी सारा प्रश्नको जवाफ एउटै छ, महिला आत्मनिर्भर हुने । पेसा, व्यवसाय, नाम, पहिचान, घर, सम्पत्ति सबै आफ्नै भएपछि पतिको थर मात्र होइन धेरै कुरामा महिला पुरुष दुवैलाई सहज हुन्छ । आफैँले आफ्नो मान र आत्मसम्मान बढाउने अवस्थामा नपुगुञ्जेलसम्म महिलाले यस्ता अनेक प्रश्नको सामना गरि नै रहनुपर्नेछ ।

प्रतिक्रिया






2K Shares
Share2K
Tweet
+1
Share