फुटबलमा आर्मीलाई पराजित गर्दै पुलिस राष्ट्रिय च्याम्पियन बन्यो

फुटबलमा आर्मीलाई पराजित गर्दै पुलिस राष्ट्रिय च्याम्पियन बन्यो


नेपाल प्रहरीले राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

दाङको घोराहीमा भएको फाइनलमा प्रहरीले नेपाल आर्मीलाई टाइब्रेकरमा ५–४ गोलले अन्तरले पराजित गरेको हो । निधारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा प्रहरीका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजवंशी र निरकुमार राईले गोल गरे । आर्मीका जर्ज प्रिन्स कार्की, हिरण्य मगर, विवेक बस्नेत र रुपेश केसीले गोल गरेका थिए । राजिव गुरुङ भने गोल गर्न चुकेका थिए ।

एपीएफ र सुदूरपश्चिमाञ्चलबीच तेश्रो स्थानका लागि भएको खेलको नतिजा पनि ट्राइब्रेकरमा भएको थियो । एपीएफले टाइब्रेकरमा ४–३ ले विजयी हासिल गर्दै तेश्रो स्थान हासिल गरेको थियो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

सुदूरपश्चिमाञ्चलका मणिराम चौधरीले ३३ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा एपीएफका महेश लामाले गोल गर्दै खेललाई १–१ को स्थितिमा पु¥यो । फेरि मणिरामले ६३ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमाञ्चललाई २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा एपीएफका आशिष लामाले बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धलेलिएको थियो ।

पेनाल्टीमा एपीएफका आशिष लामा, सन्तोष कटुवाल, मानबहादुर राणा र सुमित आलेले गोल गरे भने दीपक खड्का चुकेका थिए । सुदूरपश्चिमाञ्चलका प्रकाश हमाल, सुनील धामी र राजन ठगुन्नाको प्रहारले सहि दिशा लियो । कृष्ण कठायत र निर्धारित समयमा २ गोल गरेका मणिराम असफल भएका थिए ।

माघ २ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनलअघिका खेलहरु तुल्सीपुर र घोराहीमा भएका थिए ।