आर्मीले उचाल्यो खप्तड गोल्डकपको उपाधि

आर्मीले उचाल्यो खप्तड गोल्डकपको उपाधि


दोस्रो सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गरेको हो । जितसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेको छ । आर्मीका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका थिए । श्रेष्ठले १० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

फाइनल खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आर्मीले एपीएफलाई ५–४ पराजित गरेको हो । भाग्यमानी आर्मीले ५ वटै पेनाल्टी गोलमा परिणत गर्दा एपीएफ चार गोल मात्र गर्न सफल भएको थियो । एपीएफका सुदीप शिखाकार गोल गर्न चुकेका थिए । पेनाल्टीको निर्णायक गोल आर्मीका विवेक बस्नेतले गरेका थिए ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक भए पनि आर्मी क्लब भाग्यमानी साबित भएको थियो । दुवै विभागीय टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको नतिजा पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा आर्मीले बाजी मारेको थियो । खप्तड गोल्डकपको उपाधि उचालेसँगै यो सिजनमा आर्मीले चौथो उपाधि जितेको छ । उपाधि जितेसँगै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले यो खेलाडीको मिहिनेतको प्रतिफल भएको बताएका छन् ।

खप्तड गोल्डकप अवधिभर उत्कृष्ट प्रदर्शन गरेका आर्मीका नवयुग श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाइकल प्राप्त गरेका थिए । त्यस्तै एपीएफका अञ्जन विष्ट उत्कृष्ट फरवार्ड, सोही क्लबका टोप विष्ट उत्कृष्ट डिफेन्डर, आर्मीका सन्तोष तामाङ उत्कृष्ट डिफेन्डर र विवेक कुथु उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । यसैगरी सुदूरपश्चिमका अमानत सिंह उदीयमान खेलाडी घोषित भएका थिए । उनीहरू प्रत्येकले १५ हजार प्राप्त गरेका थिए ।

पुस २१ गतेदेखि सञ्चालन भएको खप्तड गोल्डकपको विजेता तथा उपविजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र आयोजक सुदूरपश्चिम स्पोर्टस् क्लबका अध्यक्ष सुदेश हमाललगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहेको थियो । उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको थियो ।

त्यस्तै समापन समारोहको विशेष कार्यक्रममा आयोजक क्लबका अध्यक्ष हमालले अर्को वर्ष खप्तड गोल्डकपको पुरस्कार राशि २१ लाख हुने जानकारी गराएका छन् । स्थानीय व्यक्तिहरूको हौसला र विश्वासका कारण पुरस्कार राशिमा वृद्धि गरिरहेको हमालले बताए । त्यस्तै तेस्रो संस्करणदेखि विजेताले २१ लाख र उपविजेताले १० लाख ५० हजार प्राप्त गर्नेछ ।