रहेनन् सङ्गीतकार विजयसिंह मुनाल

रहेनन् सङ्गीतकार विजयसिंह मुनाल


प्रतिष्ठित एवम् जानेमानेका सङ्गीतकार विजयसिंह मुनालको निधन भएको छ । उहाँ ६७ वर्षका हुनुहुन्थ्यो । घुमघामको शिलशिलामा आफ्ना सहकर्मीहरूका साथ धनगडी गएका बेला गत आइतबार राती सुतेकै अवस्थामा सङ्गीतकार मुनालको निधन भएको उहाँका निकटजनबाट जानकारी मिलेको छ ।

बताइएअनुसार आइतबार बेलुका ९ बजे मुनालले काठमाडौंमा फोन गरी आफ्नी छोरी गायिका वृन्दासँग टीकापुर घुमघामको दिनभरिको रमाइलो अनुभूति सुनाएका थिए । रमाइलो घुमघाम गरी परिवारसँग कुराकानी गरेर सामान्य अवस्थामै सुतेका मुनाल बिहान अचानक मृत अवस्थामा भेटिनुभएको हो ।

स्वर्गीय विजयसिंह मुनालका ५ दर्जन भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भएका छन् भने रेडियो नेपालबाहिर पनि उत्तिकै गीतहरू रेकर्ड भएको बुझिन्छ । उहाँ सुप्रसिद्ध गायक उदितनारायण झाको अति निकट साथी मानिनुहुन्थ्यो । उदितनारायण, मधु क्षेत्री र विजयसिंह मुनालको सहयात्रा कुनै बेला नेपाली संगीतमा निकै जमेको थियो । उदितनारायणलाई मुम्बैमा स्थापित गराउन समेत स्वर्गीय विजयसिंहले महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

सङगीतकार मुनालको संगीतमामा तारादेवी, प्रेमध्वज प्रधान, उदित नारायण झा, मिरा राणा, मुरलीधर, स्वयम्भूराज शाक्य, ज्ञानु राणा, कुन्ती मोक्तान, प्रदीपराज पाण्डे, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, रचना जिसी, गोपाल श्रेष्ठदेखि लिएर युवा पुस्ताका समेत थुप्रै कलाकारहरुले गीत गाएका छन् ।

उदितनारायण झाले गाएका तिम्रो अधरले, ए दिल कसको यादमा, तिम्रो बाटो हेर्दा, पर पर सरेको, किन किन तिम्रो यादमा बोलका गीत सर्वप्रिय छन् भने प्रेमध्वज प्रधानले गाएको उकालीको एक्लो, तारादेवीले गाएको झरी गए पात, मिरा राणाले गाएको उजाड भयो जिन्दगी, बिर्सुन कसरी, मिरा राणा र रविन शर्माले गाएको तिम्रो माया, मुरलीधरले गाएको हाल दिलको आदि गीत सांगीतिक क्षेत्रका अमुल्य सिर्जना हुन् स्वर्गीय मुनालका ।

कुनैबेला रेडियो नेपालका गीत रेकर्डमा कङ्गो बादन गर्ने, स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रुपमा उहाँ देखापर्ने गर्नुहुन्थ्यो । रेडियो नेपालको गीत रेकर्डको यात्रामा उहाँ २०३५–२०३६ सालदेखि कंगोबादकका रुपमा टेक बेसीस सेवामा रहहनुभएको रेडियो नेपालनिकट सुत्र बताउँछ ।

नयाँपुस्तामा पनि निकै भिजेर रहनुभएका मुनालले पछिल्लो चरणमा बानेश्वरस्थित आफ्नै निवासमा नवोदित प्रतिभाहरुलाई संगीत प्रशिक्षण दिँदै आउनुभएको थियो ।

बिजय सिंह मुनालको जन्म २००७ सालमा विराटनगरमा भएको हो । विराटनगरका उत्साही युवाहरु वासुदेव मुनाल, विजयसिंह मुनाल आदि मिलेर विराटनगरमै मुनाल क्लबको स्थापना गरेका थिए । जसको माध्यमबाट पुर्वान्चलमा सांगीतिक गतिविधि अघि बढाइएको थियो । मुनालपथ आज पनि बिराटनगरमा चर्चित छ, जो उहाँहरूले नै नामाकरण गर्नुभएको हो ।