सिड्नीमा एक्कासी भेटिए लव शर्मा

सिड्नीमा एक्कासी भेटिए लव शर्मा


– राजन घिमिरे, सिड्नी

विगत चार दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय एउटा नाम हो लव शर्मा । विशेष गरेर पर्दामा चारित्रिक भूमिकाहरूमा जमिरहेको यो नामसँग सबै परिचित त छन् तर, यतिबेला यी अग्रज कलाकार कहाँ छन् ? के गर्दै छन् ? उनका प्रशंसकहरूका लागि यो चासोको विषय भने अवश्य हो ।

यिनै अग्रज कलाकारलाई एक्कासी सिड्नीको रगडेलमा उनका सुपुत्र निश शर्माका साथ आइतबार विहान भेट्ने अवसर पाइयो– ‘दाई नमस्कार, कताबाट ?’ मेरो प्रश्न थियो । ‘म त यतै छु भाइ आजकल । छोरा, बुहारी, छोरी, ज्वाइँ यतै हुनुहुन्छ । आउने जाने क्रम जारी छ ।’ शर्मा पर्दाहरूमा जति भद्र, शालिन र शभ्य भूमिकामा देखिनुहुन्छ, भेटघाटमा पनि त्यसैगरी प्रस्तुत हुने उहाँको गजबको शैली छ ।

लव शर्माका सुपुत्र निश शर्माको उपस्थिति पनि सिड्नीमा जमेकै रहेछ । प्रोफेशनल भिजा एण्ड एजुकेशन सर्भिसेसका सञ्चालक निशले भेटघाटकै क्रममा भने– ‘नेपालमा बुबा–ममी मात्र हुनुहुन्छ । उता न्यास्रो लागेको समयमा यता आउनुहुन्छ । केही समय बस्नुहुन्छ, जानुहुन्छ । हामी सबैलाई सबैको साथ मिलेको छ ।’ निशले बसाईको क्रममा कफीको सुर्कोसँगै पारिवारिक कुरा गरे ।

२०३३ सालबाट कला यात्रा शुरू गरेका हुन् लव शर्माले । ‘अब यो क्षेत्रमा लाग्दा लाग्दै मर्ने इच्छा छ । जीवनका अरू पेशा, विधा वा क्षेत्र रोजिएन । नेपाल रहँदा पनि आएका अफरहरू छाडेको छैन’, शर्माले भने ।

नेपाल टेलिभिजनको स्थापनाकालदेखि नै सक्रिय रहँदै आए शर्मा । दुई यस हाराहारीमा टेलिफिल्म र तीन दर्जन ठूलो पर्दाका चलचित्रहरू मार्फत दर्शकहरूमा अमिट छाप छोडेका शर्मा सन्तोष पन्तसँग हिजोआजका कुरासँग शुरूवातदेखि नै सँगै भए । ‘आज पनि हिजोआजका कुराको नाम र शान छ’, शर्माले विगत सम्झिए– ‘अहिले रिटायर्ड लाइफ बिताइरहेको छु । नेपालमा म र बुढी मात्र छौँ । मुड चल्यो भने आउँछौ परिवार भेट्न ।’

अष्ट्रेलियाको सिड्नी राम्रै लागिरहेको छ लव शर्मालाई । भन्छन्, ‘विशेष गरेर सिड्नीमा नेपालीहरूको बाक्लो उपस्थितिले पनि समय काट्न सजिलो भैरहेको छ । आखिर जीवन एउटा यात्रा न हो, हामी यात्री न हौँ ।’ अब फेब्रुअरीमा नेपाल फर्कने जानकारी दिँदै उनले भने– ‘नेपालमा केही काम सकाउन बाँकी छ । काम सकाएपछि मुड चल्यो भने फेरि अष्टेलिया आइन्छ ।’