सुटिङमा कृष्ण र स्नेहालाई स्वर्ण

सुटिङमा कृष्ण र स्नेहालाई स्वर्ण


नेपाल आर्मीका कृष्ण घोरासैनी र पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगितामा स्वर्ण जितेका छन् ।

१० मिटर एयर राईफलको पुरुषमा कृष्ण र महिलामा स्नेहा पहिलो भए । कृष्णले र स्नेहाले समान २२६–२२६ अंक जोडेका थिए ।

पुरुषमा २२४ अंकसाथ आर्मीका सुशे चौधरी दोश्रो र २०४ अंकसाथ मध्यपश्चिमाञ्चलका पवन घिमिरे तेश्रो भए । महिलामा मध्यमाञ्चलकी सिन्धुजा बस्नेत (२२४ अंक) दोश्रो र प्रहरीकी कल्पना परियार (२०२ अंक) तेश्रो भए ।

पुरुष १० मिटर एयर पेस्तोलमा आर्मीका विष्णुकुमार विश्वा मगर (१५८ अंक) पहिलो, मध्यमाञ्चलका सुमन तुलाधर (१५७ अंक) दोश्रो र आर्मीका कुवेर केसी (१५५ अंक) तेश्रो भए ।

सो स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर, पश्चिमाञ्चलकी श्रेया केसी र आर्मीकी सरिता बस्नेतले शीर्ष तीन स्थान हात पारे । फाइनल २४० अंकमा प्रतिस्पर्धा भएको थियो । यसअघि ४ वटा टिम इभेन्टमा आर्मीले ३ तथा मध्यमाञ्चलले १ स्वर्ण जितेका थिए ।