उपेन्द्रले ताके उपराष्ट्रपति र सभामुख

उपेन्द्रले ताके उपराष्ट्रपति र सभामुख


माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेस नेतृत्वसँग अनौपचारिक भेटवार्ता गरेर ‘बार्गेनिङ’ गर्न थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो सुरक्षाका निम्ति ‘विकल्प’ तयार गर्नुभएको जानकारी प्राप्त भएको छ । सम्बद्ध सूत्रबाट प्राप्त सूचनाअनुसार ओली र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रारम्भिक तहको सहमति बनेको छ । कुनै कारणवश प्रचण्डले धोखा दिएमा वा माओवादीसँग पार्टी एकता हुन नसकेमा यादव नेतृत्वको फोरमसँग मिलेर सरकार गठन गर्ने विकल्प ओलीले तयार गर्नुभएको हो ।

यस सन्दर्भमा नेता यादवसँग विभिन्न स्तरमा पटक–पटक कुराकानी भएको र कुराकानीका क्रममा यादवले उपराष्ट्रपति, सभामुख र उपप्रधानमन्त्रीसहित गृहमन्त्री माग्नुभएको समाचार सूत्रहरूले जनाएका छन् । त्यसक्रममा एमाले नेतृत्व यादवलाई उपराष्ट्रपति र उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिन तयार भएको र सभामुखको बारेमा सकारात्मक भएको बताइएको छ । तर, एमालेले सभामुख आफैँसँग राखेर उपसभामुख उपेन्द्र यादवलाई सुम्पने सम्भावना ज्यादा छ ।

यादवसँग एमाले नेतृत्वले एक तहको समझदारी बनाएको भए पनि माओवादीसँगको कुराकानी नटुङ्गिईकन यादवसँगको समझदारी सम्झौतामा रूपान्तरित हुने स्थिति भने छैन । एमाले र माओवादी नेतृत्वले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउन अन्तिम कसरत गरेका छन् ।

यसरी यादवसँग एमाले नेतृत्वले एक तहको समझदारी बनाएको भए पनि माओवादीसँगको कुराकानी नटुङ्गिईकन यादवसँगको समझदारी सम्झौतामा रूपान्तरित हुने स्थिति भने छैन । एमाले र माओवादी नेतृत्वले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउन अन्तिम कसरत गरेका छन् । ‘प्रचण्डको प्राथमिकता पार्टी एकता (आफू अध्यक्ष बन्ने कुरा) र केपी ओलीको प्राथमिकता सरकार गठन’ भएपछि दुईपक्षबीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँगै अघि बढाउने सहमति बनेको छ । त्यसनिम्ति दुवै पक्षले कार्यदल गठन गरी अघि बढ्ने आवश्यक गृहकार्य पनि सुरु गरिसकेका छन् ।

प्रचण्डले राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद मागेका भए पनि एमाले नेतृत्व माओवादीलाई उपराष्ट्रपति र सभामुखसम्म दिने मानसिकतामा रहेको बुझिन्छ । यतिबेला सरकार गठन र पार्टी एकताका निम्ति कार्यदल बनाएरै गृहकार्य सुरु गरिएको भए पनि शतप्रतिशत विश्वासको स्थिति बनिसकेको छैन । एमालेसँग कुरा नमिलेमा काङ्ग्रेस र मधेसकेन्द्रित समूहहरूसँग गठबन्धन बनाउने भित्री योजनामा प्रचण्ड रहेजस्तै प्रचण्डले धोखाधडी गरेमा उपेन्द्र यादवसँग गठबन्धन गर्ने विकल्पमा जान केपी ओलीले आवश्यक वातावरण बनाउनुभएको छ ।

यादवसँग गठबन्धन बनाउँदा एमालेले धेरै गुमाउनु नपर्ने र यादवलाई पनि धेरै ठूलो उपलब्धि हासिल हुने भएकोले दुवै पक्ष एक–अर्कासँग सहकार्य गर्न इच्छुक र उत्सुक भएका छन् । यादवले एमाले नेतृत्वसँग मधेस समस्याको समाधान गर्ने विषयमा सकारात्मक बन्न गरेको आग्रहलाई गम्भीरतापूर्वक लिइएको बताइन्छ । केपी ओलीले मधेसमा उत्पन्न समस्यालाई सम्बोधन गरिने वचनसमेत यादवलाई दिनुभएको छ ।

तर दुवै वाम पार्टीको नेतृत्वमाथि एकता गर्न तीव्र दबाब परिरहेको हुनाले अन्ततः एमाले र माओवादीका नेताहरू एकीकृत पार्टी निर्माण गर्न बाध्य हुने स्थितिमा छन् । त्यसैले एमाले–फोरम सहकार्य अहिले नै सतहमा आउने सम्भावना देखिएको छैन ।