चावहिलस्थित कवाडी पसलमा म्याद गुज्रिएको तेल खुलेआम विक्रि

चावहिलस्थित कवाडी पसलमा म्याद गुज्रिएको तेल खुलेआम विक्रि


छविलाल बगाले
राजधानी काठमाडौंमा अखाद्यबस्तुको विगविगि नै छ । मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने खाने तेलदेखि अन्य खाद्य पदार्थ म्याद गुज्रेका मात्र हुँदैनन्, खानै नहुने खालका पनि भेटिन्छन् ।

यस्तै पछिल्लो पटक काठमाडौंको चावहिल नजिकै धोवीखोला किनारमा म्याद गुज्रिएका तेल जम्मा गरेर खुल्ला रुपमा बेच्ने गरेको खुलेको छ ।

दृश्यमा देखिएको यो तेल दैनिक उपभोग्य सामाग्रीमा प्रयोग हुँदा मानव स्वास्थ्यको अवस्था के होला ? काठमाडौंको चावहिल नजिकै धोवीखोला किनारमा रहेको एक कवाडी पसलमा म्याद गुज्रिएका खाने तेल विक्रि वितरण हुन्छ ।

कवाडी संचालक भारतीय नागरिक राजेश चौरासियाले कवाडीको बहाना बनाएर बजारमा म्याद सकिएका र बर्षौ पूराना तेलका प्याकेट जम्मा पारेर बिक्रि गर्ने गरेका रहेछन् । भारतको मोतियारी जिल्ला घर भएका चौरासियाले धोवीखोलास्थित भत्किएको पुल नजिकै कवाडी संकलन केन्द्रसँगै खाने तेलको अबैध कारोबार संचालन गरेका छन् ।

चौरासियाले बजारमा म्याद सकिएका र पूराना तेलका प्याकेट संकलन गरी प्रति ग्यालिन ३ सय ५० देखि ४ सय रुपैंयाँसम्म बिक्रि गर्ने गरेका छन् । चौरासियाले म्याद सकिएका यस्ता तेल चावहिल, भाटभटेनी चोक, भृकुटीमण्डप, गौशाला लगायतका क्षेत्रमा पानीपुरी, पकौडा, समोसा पकाएर बिक्रि गर्ने ठेला ब्यापारीलाई बिक्रि गर्ने गरेको प्रहरीले जनाएको छ ।

ग्यालिनसहितको तेललाई साइकलमा राखेर चावहिल लैजाने क्रममा प्रहरीले चेकजाँच गर्दा चौरासियाले लुकिछीपि अखाद्य तेल ब्यापार गर्ने गरेको पुष्टी भएको हो । यस्तो अखाद्य तेलले मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्छ ।

चौरासियाले म्याद सकिएका विगुल, उत्तम, गंगा, धारा लगायत आधा दर्जन कम्पनीका तेललाई एकै ठाउँमा खन्याएर बेच्ने गरेका छन् । आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत दीपकराज पोखरेलले कानून बमोजिम कारवाही गर्ने बताए ।

अनुगमनका क्रममा चौरासियको कवाडी पसलबाट ८० लिटर अखाद्य तेल भेटिएको थियो । प्रहरीले तेल बेच्ने र किन्ने बालेश्वर शाह, रामसाहुरत शाह लगायतलाई पक्राउ गरेको छ ।

कवाडीसँगै मोविलको समेत कारोबार भएकोले तेलमा मोविल पनि मिसाइएको हुन सक्ने अनुमान गरिएको छ । यसरी खुलेआम म्याद सकिएका र बर्षो पुराना खाने तेल बिक्रिले आम उपभोक्ताहरुको मानव स्वास्थ्यमा गम्भिर असर गरेको छ । यसमा सम्बन्धित निकायले ध्यान पु¥याउन आवश्यक छ ।