पृथ्वीनारायण शाह र कीर्तिपुर

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

– स्वयम्भूनाथ कार्की

नेपालको एकीकरणलाई अवमूल्यन गर्ने जमातकाले सबैभन्दा चर्को रूपमा उनलाई आततायी साबित गर्न प्रयोग गर्ने गरेको कुरा कीर्तिपुरेमाथि गरिएको भनेको कथित अन्याय हो । कीर्तिपुरको विजयपछि रिसले चुर भएर उनले कीर्तिपुरेहरूको नाककान काटेको कुरा अगाडि सार्ने गर्दछन् । तर, नेपालको एकीकरणको अभियानमा उनले कीर्तिपुर मात्र सर गरेका थिएनन् न कीर्तिपुर पहिलो थियो न अन्तिम नै । यत्रा लडाइँहरूमा अन्य ठाउँको विजयपछि त्यहाँको धार्मिक, आर्थिक तथा सामाजिक प्रणालीमा कुनै उल्लेख्य परिवर्तन गरेका थिएनन, बरु विद्यमान शासन व्यवस्थालाई चुस्तदुरुस्त मात्र बनाएर त्यस स्थानका जनतालाई सकारात्मक परिवर्तनको स्वाद चखाएका थिए ।

त्यसै पनि सानो र सीमित स्रोत भएको गोरखाले विजय उन्माद देखाउँदै गएको भए विजय स्थायी हुने थिएन । विभिन्न राज्यले अर्काको राज्य जित्ने र केही समयपछि त्यो राज्य गुमाउने गरेको घटना त्यस कालखण्डमा आमघटना थिए । सन् १७५७ मा गोर्खालीले पहिलोपल्ट कीर्तिपुरमा चडाई गरे । त्यसबेला काठमाडौं खाल्टोका तीनै राज्य र नगरकोटी सैनिकहरूसमेत गोर्खालीमाथि खनिए । कान्तिपुरे राजा जयप्रकाश मल्लको नेतृत्वमा गोर्खाली हारेपछि सीधा लडाइँबाट मात्र काठमाडौं उपत्यका सर नहुने देखेर वरिपरिका राज्य अधीन गरेर नाकाबन्दी गर्ने काम १७५९ देखि पृथ्वीनारायण शाहले शुरु गरे ।

तर, त्यो काम अधकल्चो हुँदै भाइ शूरप्रतापको जिद्दीले १७६४ मा उनैको नेतृत्वमा कीर्तिपुर हान्न अनुमति दिन कर लाग्यो । यसपटक कीर्तिपुरले अरू मल्ल राजाको सहयोग पाएन तैपनि कीर्तिपुरेको शूरता र शूरप्रतापको अकुशलताले गोर्खाली फौजभित्रै मच्चिएको कलहले गोर्खालीले अर्कोपल्ट हार खाए । फेरि बाहिरी घेराबन्दी पूरा भएपछि काजी वंशराज पाण्डेको नेतृत्वमा कीर्तिपुरमा घेरा हालियो । मल्ल राजाहरूलगायत कलकत्ता कौन्सिलका गभर्नरसँग पनि सहयताको याचना पठाउँदा पनि कीर्तिपुरले सहायता पाउन सकेन ।

करिब ६ महिनाको घेराबन्दीले कीर्तिपुरको मनोबल तोडिइसकेको थियो । काजी वंशराज पाण्डेले उचित अवसर देखेर नुवाकोट मुकाम गरेका पृथ्वीनारायण शाहको अनुमतिले समर्पण गरेमा अभयदान दिने सन्देश पठाए । यसलाई तत्कालीन कीर्तिपुरे जिम्मेवारले १७६६ मा बिनालडाइँ आत्मसर्मपण गरे । यसरी दुईपटक क्षति व्यहोर्नुपरेको गोर्खालीले बिनालडाइ कीर्तिपुरमाथि अधिकार गरे । यो दखलको सात महिनापछि मात्र पृथ्वीनारायण शाहले कीर्तिपुरमा प्रवेश गरे अनि त्यहाँको रीतिरिवाज पुनस्र्थापना गरे । यस्तो परिस्थितिमा कीर्तिपुरेको नाककान काट्ने आदेश दिने आवश्यकता नै किन प¥यो र ? के यो घटना साँच्चै भएको थियो ? यस्ता प्रश्नको उत्तर खोज्न यो कुरा कसले उठायो त्यो खोज्न जरुरी छ ।

पहिलोपल्ट यो नाककान काटिएकोे उल्लेख कीर्तिपुर दखल भएको पच्चीस वर्षजति पछि पादरी जोसेप्पीले लन्डनमा प्रकाशित ‘एसियाटिक रिसर्सेज’मा गरेका छन् । उनले कीर्तिपुर विजयपछि कीर्तिपुरेको नाकओठ काट्न लगाएको र बस्तीको नाम बदलेर नकटापुर राखेको कुरा लेखेका छन् । (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी, दोस्रो संस्करण पृ. ५२९) कीर्तिपुरमा गोर्खालीको सर भएको घटनाको तेइस वर्षपछि नेपाल आएको कप्तान कर्क पेट्रिकले नेपाल आएको अठार वर्षपछि ‘नेपाल वर्णन’ लेखेका छन् । त्यसमा पृथ्वीनारायण शाहले लडाइँमा समातिएका सबै पुरुषको नाक काट्न लगाएको कुरा आफ्नो भरियाले भनेको भनेर लेखेका छन् ।

कीर्तिपुर लडाइँबाट नभई चातुर्यले दखल गरेकोले लडाइँमा कोही समातिन सम्भव नै छैन । जब कोही समातिनुपर्ने परिस्थिति नै थिएन भने नाक–कान काट्नुपर्ने आवश्यकता किन भयो ? तर, कप्तान कर्कपेट्रिकको कुरालाई आधार बनाउँदै करिब एक शताब्दीपछि खरिदार बुद्धिमान सिंहले नाक काटेको र त्यसको तौल सत्र धार्नी एक सेर भएको कुरा लेखेका छन् । कर्क पेट्रिकले फादर जोसेप्पीले लेखेको कुराको आधारमा आफ्नो भरियासँग सोधे भने त्यो स्वाभाविक नै थियो । पादरी जोसेप्पीले उक्त कुरा किन लेखे त यो सहज बुभ्mन सकिने कुरा छ ।

मल्ल राजाको समयमा पादरीहरूलाई सुविधा दिएर इसाई धर्म प्रचारको निमित्त काठमाडौं उपत्यका भित्र्याइएको थियो । काठमाडौं उपत्यका सर गरिसकेपछि पृथ्वीनारायण शाहले त्यहाँ रहेका पादरीलाई जसमा जोसेप्पी र माइकल एन्जिलो प्रमुख थिए आफ्नो राज्यबाट निकाले । यो काम युवराज प्रतापसिंह शाहबाट गराइयो । माइकेल एन्जिलो ओखती गर्न निपुण थिए र युवराजलाई आफ्नो यो गुणको कायल पनि गराएका थिए । नेपालमा पादरीहरूको उपस्थिति धर्मप्रचारको निमित्त मात्र नभएर बेलाइती साम्राज्य फैलाउने पनि थियो । यो कुरा कलकत्ता कौन्सिलसँग मद्दत माग्ने प्रकरणमा उनीहरूको हस्तक्षेपकारीसम्मको भूमिकाले प्रस्ट भइसकेको थियो । यसैले बाबुको आज्ञा मान्न प्रतापसिंहलाई गाह्रो भएन । राम्रो मुखले उनले इसाई बनेका ६२ जना र धनमालसमेत लैजान उनले अनुमति दिए । नेपालबाट गएका इसाईहरू बेतियाको चुरी भन्ने स्थानमा बसे ।

अब नेपालबाट निर्वासित हुनुपरेको पीडाले पादरी जोसेप्पीलाई पृथ्वीनारायण शाहप्रति पूर्वाग्रही बनाएको भए त्यो स्वाभाविक प्रतिक्रिया हुने थियो । कीर्तिपुरको नाम नकटापुर कहिल्यै नभएको कुरा प्रमाणित गर्न स्वयम् पृथ्वीनारायण शाहले कीर्तिपुर मुकाम गरेर लेखेका आदेश, रुक्काहरूमा नकटापुर नलेखी कीर्तिपुर नै लेखेका छन् । विजय गरेको कुनै स्थानमा गोर्खालीको रीतिरिवाज र नाम थोपर्नुको साटो त्यहीँको परम्परागत रीतिरिवाज कायम राखेको पाइन्छ । कीर्तिपुरसँग मात्र रिस उठ्नुको कुनै कारण भेटिँदैन, बरु आफूलाई निकालेको रिसले चुर भएर जोसेप्पीले पृथ्वीनारायण शाहको बदनाम गर्ने उद्देश्य प्रस्ट देखिन्छ ।

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया






284 Shares
Share284
Tweet
+1
Share