दाउन्नेमा पाँच सवारी एकैपटक ठोक्किए, एकको मृत्यु, सात घाइते

दाउन्नेमा पाँच सवारी एकैपटक ठोक्किए, एकको मृत्यु, सात घाइते


नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्याक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार सातजना घाइते भएका हुन् ।

दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किवास प्रहरीले जनाएको छ । राससका अनुसार ट्रक र ट्याक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना ३ ख ५९३६ ट्रक, लु ३ च ५३२२ नम्बरको जिप र ना ६ ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएका थिए ।

दुर्घटनामा परी विनयी त्रिवेणी–२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाया, ४० वर्षीया मीना रोकाया, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीय जितकुमार पौडेल घाइते भएका छन् । घाँसदाउरा गरेर ट्र्याक्टरमा दुम्किवासतर्फ फर्कदै गरेका महिला तथा पुरुष दुर्घटनामा परेका हुन् ।